तीन महिनामा व्यापार घाटा साढे ३ खर्ब नाघ्यो, आयात-निर्यातको अवस्था कस्तो ?
काठमाडौं । नेपालको कुल व्यापार घाटा साढे ३ अर्ब बढी पुगेको छ । भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागका अनुसार देशको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा देशको कुल व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
चालु आवको तीन महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड ९ हजार रुपैयाँ बराबरको व्यापार भएको विभागले जनाएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १८.५४ प्रतिशतले घटेको हो । गत आवको असोज मसान्तसम्ममा भने ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार रुपैयाँ बराबरको व्यापार भएको थियो ।
विभागका अनुसार उक्त अवधिमा माल वस्तुको आयात भने १६.२० प्रतिशतले कमी आई ४ खर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने ४ खर्ब ७८ अर्ब ५२ करोड बराबरको माल वस्तु आयात भएको थियो ।
यस्तै, चालु आवको तीन महिनामा माल वस्तुको निर्यात पनि ३५.७१ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड ८४ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । गत आवको असोज मसान्तसम्ममा भने ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
















