तिहारमा साढे ३४ करोडको माला खपतः १५६% ले बढ्यो कारोबार, ४५ लाखको मखमली निर्यात « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

तिहारमा साढे ३४ करोडको माला खपतः १५६% ले बढ्यो कारोबार, ४५ लाखको मखमली निर्यात



काठमाडौं । यस वर्षको तिहारमा साढे ३४ करोड बढीको फूलको कारोबार भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहार अवधिभर ३४ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको फूलको कारोबार भएको हो ।

तिहारको पाँचको अवधिमा ३५ लाख ४५ हजार वटा बराबरको माला खपत भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनका कार्यक्रम संयोजक गंगा बहादुर तामाङले बताए । तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको बढी माग हुने गरेको छ ।

फूलको सबैभन्दा बढी माग लक्ष्मी पूजाको दिनदेखि भाइटीकासम्म माग हुने गरेको हो । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा करिब १३ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरेको थियो । यस वर्ष अनुमानित भन्दा १५६.५३ प्रतिशतले बढी खपत भएको हो ।

संयोजक तामाङका अनुसार सबैभन्दा बढी सयपत्री फूलको माला खपत भएको छ । तिहारमा सयपत्री फूल मात्रै ३१ करोड ६२ लाख २ सय रुपैयाँ बराबरको ३१ लाख माला खपत भएको बताइएको छ । सयपत्री फूल माला प्रति थोक मूल्य १०२ रुपैयाँमा खपत भएको हो।

यस्तै, उक्त अवधिमा मखमली फुलको माला १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको ३ लाख २५ हजार खपत भएको छ । मखमली फूलको माला प्रति थोक मूल्य ४५ रुपैयाँमा खपत भएको हो ।

त्यसैगरि गोदावारी फूलको माला भने १ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तिहारमा गोदावारी फूलको माला २० हजार खपत भएको हो । गोदावारी फूलको माला महंगो पर्दछ । यो प्रति थोक मूल्य ५५० रुपैयाँमा कारोबार भएको हो ।

४५ लाखको मखमली फूलको माला निर्यात

तिहार अवधिमा नेपालबाट ४५ लाख रुपैयाँ बराबरको मखमली फूलको माला बाहिरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका कार्यक्रम संयोजक गंगा बहादुर तामाङका अनुसार १ लाख थान मखमली फूलको माला निर्यात भएको हो । विदेशी मुलुकमा बसोबास गर्ने ठाउँबाट मखमली फूलको माग हुने गरेको छ ।

नेपालमा सातै प्रदेशका विभिन्न क्षेत्रमा सयपत्री फूलको व्यवसायिक उत्पादन भईरहेको छ । हाल काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ्ग, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ्ग, धनुषा, सर्लाही, सप्तरीमा सयपत्री फूलको व्यवसायिक रुपमा खेती भईरहेको छ ।

यस्तै, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली लगायतका जिल्लामा सयपत्री फूलको व्यवसायिक उत्पादन भईरहेको छ ।

त्यसैगरि मखमली फूल भने काठमाडौंको ईचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ्ग र इलाम लगायतका क्षेत्रहरुमा व्यवसायिक खेती भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्