तीन चौथाई नेपालीको हातमा स्मार्टफोन, ‘भ्वाइस’बाट ‘डेटा’को ब्यापारमा यसरी केन्द्रित हुँदैछ बजार « Arthapath.com
२७ मंसिर २०७९, मंगलवार

तीन चौथाई नेपालीको हातमा स्मार्टफोन, ‘भ्वाइस’बाट ‘डेटा’को ब्यापारमा यसरी केन्द्रित हुँदैछ बजार



काठमाडौं । देशको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ७३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गरिरहेको बताएको छ । मंगलबार आयोजित एक कार्यक्रममा एनसेलका अधिकारीहरुले ७० प्रतिशत ग्राहकले ‘फोर जी’ र ३ प्रतिशतले ‘थ्री जी’ सेवा उपयोग गरिरहेको बताएको हो । यी सेवाहरु स्मार्टफोनमा मात्र उपयोग हुन्छन् ।

२७ प्रतिशतले भने अहिले पनि ‘टु जी’ सेवा नै उपयोग गरिरहेका छन् । दोस्रो पुस्ता भनिने यस्तो सेवा ‘बार फोन’ अर्थात् ‘की प्याड’वाला मोबाइल सेटमा उपयोग हुन्छ । पछिल्ला वर्षमा स्मार्टफोनको उपयोग गर्ने ग्राहकको हिस्सा बढ्दै गएको एनसेलले भनेको छ । गत वर्ष ‘फोर जी’ चलने मोबाइल सेटहरु चलाउनेको अनुपात ६३ प्रतिशत थियो । ५ प्रतिशतले ‘थ्री जी’ र ३२ प्रतिशतले ‘टु जी’ लाग्ने मोबाइल सेट चलाउने गरेका थिए ।

स्मार्टफोन उपयोग गर्नेको संख्या बढेसँगै एनसेलले ‘डेटा’ अर्थात् इण्टरनेटको ब्यापारलाई बढावा दिन थालेको छ । ‘भ्वाइस सेवा’को बजार पछिल्ला ५ वर्षयता लगातार घटिरहेको भन्दै एनसेलले विभिन्न प्याकेज र व्यावसायिक योजनाहरुमार्फत् इण्टरनेटको बजार बढाउन सक्दो प्रयास गरिरहेको हो । मानिसहरु अब म्यासेञ्जर, ह्वाट्सएप, भाइबरजस्ता इण्टरनेटमा आधिरित सञ्जालबाटै जोडिन खोज्ने प्रबृत्ती बढेपछि टेलफोनको बजार खुम्चिएको हो । संँगसँगै इण्टरनेटको बजार भने बढ्दै गएको छ ।

पछिल्लो समय युट्युबले नेपालमा इण्टरनेटको उच्च खपत गरिरहेको छ । एनसेल नेटवर्कमा सर्वाधिक ३६ प्रतिशत डेटाको खपत युट्युब भिडियो हेर्नका लागि भइरहेको छ । त्यसपछि फेसबूक चलाउनेहरुले इण्टरनेटमा बढी पैसा खर्चिरहेका छन् । स्मार्टफोनले बार फोनको तुलनामा २४ प्रतिशत बढी इण्टरनेट खपत गर्छ । स्मार्टफोनमा युट्युब भिडियो हेर्नेहरुले बढी इण्टरनेट खपत गर्नुको कारण यो पनि हो ।

भारत वा केही दक्षिण एसियाली मुलुकमा इण्टरनेटको खपत बढी हुने भए पनि नेपालमा अझै त्यो स्तरमा बढ्न सकेको छैन । यसमा नेपालको इण्टरनेटको लागत पनि मुख्य कारण भएको एनसेलका अधिकारीहरु बताउँछन् । उनीहरुले हाल नेपालमा भारत र चीनबाट इण्टरनेट आयात भइरहेको र यसलाई सिंगापुरबाट सिधै ल्याउन सके अहिलेभन्दा साढे २ गुणासम्म इण्टरनेटको लागत घटाउन सकिने बताए । तर यसका लागि सरकारले नै विशेष योजना अघि सार्नु पर्ने विज्ञले बताएका छन् ।

सन् २०२३ बाट ‘फाइभ जी’ सुरु गर्ने योजनामा रहेको एनसेलले ‘एनसेल फर विजनेश’ भन्ने नयाँ प्रडक्टमा काम गरिरहेको छ । व्यावसायिक प्रतिष्ठानहरुलाई आवस्यक पर्ने इण्टरनेट र यससँग सम्बन्धित सेवा तथा प्लेटफर्महरु उपलब्ध गराउने यो योजनाले एनसेलको बजार विस्तारमा नयाँ संभावनाको ढोका उघारिरहेको कम्पनीको बजार निर्देश सुशील विष्टले बताए । एनसेलले छिट्टै नै नेपालभित्रै क्लाउड सेवा पनि दिने भनेको छ । नेपालमा इण्टरनेटमा आधारित व्यवसाय बढ्दै गएको भन्दै उनले अव एनसेलले पनि सेवाको विविधिकरण थालेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्