२० प्रतिशतले बढ्यो रेमिट्यान्स, चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२० प्रतिशतले बढ्यो रेमिट्यान्स, चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धि भएको छ । चालु आवको कात्तिक मसान्तसम्ममा रेमिट्यान्स २०.४ प्रतिशत बढको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ४२८ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्