चार कम्पनीको साधारण सभा भोलि बस्दैं, यस्ता छन् एजेण्डा

काठमाडौं । चार कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २६ गते) बस्दैं छ । कम्पनीहरुले विभिन्न एजेण्डा सहित मंगलबार साधारण सभा गर्दै छन् ।
लुम्बिनी विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा अमृतभोग कालिस्थान काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरु हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशत बोनस र ९ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गर्नेछ । सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी ६ जना संचालकहरू निर्वाचन समेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ति अनुमोदनसमेत सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गरेको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना वार्षिक साधारण सभा अर्पण ब्यांक्वेट थापागाउँ नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि पुष १४ गते एक बुक क्लोज गरेको हुदाँ पुष १३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले ११औं वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट भाटभटेनीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साथै, सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ मा व्यवस्था भएबमोजिम जारी पूँजी २ अर्ब ४७ करोड मध्येबाट समूह ‘ख’ मा रहने सर्वसाधारण समूहको लागि छुट्याइएको शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
मैलुङ्ग खोला जलविद्युत कम्पनीले वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै कम्पनीको ठेगाना परिवर्तन भएको हुँदा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ ।