अन्ततः समान हैसियतमा मर्जरमा जाने भए लक्ष्मी र सनराइज बैंक, सांगठनिक संरचना कस्तो हुँदै ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरमा जाने भएका छन् । यी दुवै बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको हो ।
सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
लक्ष्मी र सनराइज समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब बढी हुनेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
मर्जर पश्चात् बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सहमति भएको छ । मर्जपछि लक्ष्मी बैंकले अध्यक्ष पाउने भएको छ । मर्जर पश्चात् बैंकको अध्यक्षमा लक्ष्मी बैंकका रमण नेपाल बन्नेछन् ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्ने जिम्मेवारी भने सम्वन्धित बैंकका सीईओलाई दिइएको बताइएको छ । यी दुवै बैंक मर्जभएपछिको सांगठनिक संचरना लगायतका विषयमा भने टुंगो लगाउन बाँकी नै छ ।
यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समिति समेत गठन समेत गरिएको बैंकले जनाएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।
दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिनेछ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ । मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने अपेक्षा छ ।