भोलि एकैदिन ६ बैंकसहित ११ कम्पनीको एजीएम : लाभांश पारितको मुख्य एजेण्डा, कुनको बोनस कति ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

भोलि एकैदिन ६ बैंकसहित ११ कम्पनीको एजीएम : लाभांश पारितको मुख्य एजेण्डा, कुनको बोनस कति ?



काठमाडौं । बिहीबार ६ वटा बैंकसहित एक दर्जन कम्पनीहरुले साधारण सभा गर्दैछन् । भोलि अर्थात पुस २८ गते ६ वटा बैंकसहित ११ कम्पनीको साधारण सभा हुँदैछ ।

नेपाल दूरसञ्चार कम्पनी, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक, राधी विद्युत, इमर्जिङ नेपाल, र सोल्टी होटलले साधारण सभा बोलाएका हुन् । सभामा अधिकांश कम्पनीहरुले लाभांश पारित गर्ने मुख्य एजेण्डा बनाएका छन् ।

नेपाल दूरसञ्चार कम्पनीले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्ने छ । साथै सभाले कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुष १७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकले भोलि भोलि साधारण सभा गर्दैछ । सेयरधनीको हात रित्तो बनाएको बैंकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने भएको हो ।

बैंकले यस वर्ष शेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । तर, सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभामा गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुष १५ गते बुक क्लोज गरेको छ ।

प्राइम कमर्सियल बैंकले पनि लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डासहित बिहीबार साधारण सभा बोलाएको छ । बैंकको सभा बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ ।

गत आवसम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेतका लागि ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँगै मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गरेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले भोलि साधारण सभा गर्ने भएको छ । सभा दरबारमार्ग स्थित बैंकको सभा हलमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

बैंकले गत आवको संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने कार्य सूची समेत सभाको रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुष १८ गते बुक क्लोज गरेको छ ।

त्यसैगरि हिमालयन बैंकले बिहीबार होटल सोल्टी सोल्टीमोडमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ ।

यता, सिभिल बैंकले भोलि नै अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।

सभाले सेयरधनीहरुले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनको लागि कम्पनीले पुष १९ गते बुक क्लोज गरेको छ ।

सिद्धार्थ बैंकले पनि बिहीबार साधारण सभा बोलाएको छ। सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा बैंकले गत आवको मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने , अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गरेको छ ।

त्यसैगरि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि बिहीबार लिसरा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहानको १० बजे बस्ने गरी बोलाएको छ ।

सभाले गत आवको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गरेको छ ।

राधी विद्युत कम्पनीले बिहीबार त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ । सभाले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

यस्तै, इमर्जिङ नेपालले पनि बिहीबार थापागाँउ, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको छ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरेको छ ।

यता, सोल्टी होटलले पनि भोलि नेपाल प्रज्ञा भवन , काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

लाभांश वितरणका लागि कम्पनीले पुष ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोजको गरेको छ । जसका आधारमा पुस गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्