बदलिदो परिवेशमा ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवालाई थप प्रभावकारी बनायो: अध्यक्ष पाठक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बदलिदो परिवेशमा ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवालाई थप प्रभावकारी बनायो: अध्यक्ष पाठक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी बनाएको बताएका छन् । बैंकको १७औं वार्षिक साधारणसभा बोल्दैं उनले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताएका हुन ।

उनले सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए ।

बैंकको आज बसेको सभाले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७।५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष डा. पाठकले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि शेयरधनीहरु डमरु वल्ल्भ घिमिरे, दामोदर प्रसाद घिमिरे, रामगोपाल श्रैष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राख्नुभएको थियो । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले जवाफ दिनुभएको थियो ।

सो साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरु श्री शम्भुप्रसाद मरासिनी, प्रा.डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती, दिलिपकुमार ढुङ्गाना, सुशिल घिमिरे, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गा कँडेल छत्कुलीको उपस्थिति रहेको थियो ।

साधारण सभामा कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार महेश वराल, महालेखापरीक्षकको कार्यालयका निर्देशक कमल सिलवाल, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्षहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव हेमराज खरेलले सहजिकरण गर्नु भएको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्