वाणिज्य बैंकहरुको खराब कर्जा शतप्रतिशत बढ्यो: ठुलो रकम प्रोभिजनीङ गर्नुपर्दा नाफा प्रभावित « Arthapath.com
२३ असार २०८२, सोमबार

वाणिज्य बैंकहरुको खराब कर्जा शतप्रतिशत बढ्यो: ठुलो रकम प्रोभिजनीङ गर्नुपर्दा नाफा प्रभावित



काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा शतप्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म बाणिज्य बैंकहरुको खराब कर्जा ११६ प्रतिशतले बढेको हो ।

बाणिज्य बैंकहरुले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २२ बाणिज्य बैंक छन् । त्यसमा २१ बाणिज्य बैंकको खराव कर्जा ११६ प्रतिशतले बढेको हो ।

वाणिज्य बैंकहरुको खराब कर्जा वृद्धिदर राम्रो नभएको बताइएको छ । हालसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने अझै दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छैन । गत वर्षको मसान्तसम्म वाणिज्य बैंकहरुको खराव कर्जा १.०६ प्रतिशत मात्रै थियो । तर, यस वर्षको सोही अवधिमा भने बढेर २.२९ प्रतिशित पुगेको छ ।

सबैभन्दा बढी खराव कर्जा कृषि विकास बैंकको देखिएको छ । पुस मसान्तसम्म उक्त बैंकको खराब कर्जा ४.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंकसंग २.०८ प्रतिशत खराब कर्जा रहेको थियो ।

यस्तै, दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ । समिक्षा अवधीमा हिमालयन बैंकको खराब कर्जा ३.७७ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकको यस्तो कर्जा ०.७२ प्रतिशत मात्रै रहेको थियो । तेस्रो स्थानमा रहेको सनराइज बैंक देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा १.४१ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ३.३६ प्रतिशत पुगेको हो । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ३.०६ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा यस वर्षको सोही अवधिमा भने २.७९ प्रतिशतमा झारेको छ ।

बिशेषगरि पछिल्लो समय बैंकहरुको कर्जा असुल हुन सकेको छैन । कर्जाको किस्ता तथा व्याज असुल हुन नसक्दा खराव कर्जा बढेको बैंकरहरु बताउछन् ।

चालु आवको पुस मसान्तसम्ममा नेपाल बैंकको खराब कर्जा ३.११ प्रतिशत, सिटिजन बैंकको २.९९ प्रतिशत, सिद्धार्थ बैंकको २.८७ प्रतिशत, सिभिल बैंकको २.४१ प्रतिशत, , नबिल बैंकको २.९८ ग्लोबल आइएमईको २.९२, प्राइम कमर्सियलको २.८१, एनएमबिको २.२४ प्रतिशत खराब कर्जा रहेको छ ।

यस्तै, प्रभु बैंकको १.९८ प्रतिशत, लक्ष्मी बैंकको १.५६ प्रतिशत, माछापुच्छ«ेको १.४१, सानिमाको ०.७७, स्टाण्डर्ड चार्टर्डको ०.७२, एनआईसी एशियाको ०.६१, एभरेष्ट बैंकको ०.५५, नेपाल एसबिआई ०.४७ प्रतिशत रहेको छ ।

खराब कर्जा बढ्दा नाफा प्रभावित

बैंकहरुको खराव कर्जा बढ्दा नाफा पनि प्रभावित भएको छ । खराव कर्जा बापत ठुलो रकम प्रोभिजनीङ गर्नुपर्दा नाफा प्रभावित भएको बैंकहरुकै भनाइ छ ।

चालु आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले बैंकहरुले ३० अर्ब १३ करोड ३७ लाख रुपैयाँ नाफा गरेका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा भने ११.८७ प्रतिशतले बढी हो । गत वर्षको सो अवधिमा बैंकहरुले २६ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ नाफा गरेका थिए । हालसम्म २० वटा वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

प्रकाशित विवरण अनुसार सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । चालु आवको ६ महिनामा नबिलले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५६.६७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा गरेको छ ।

दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले भने सो अवधिमा ३६.२७ प्रतिशतले वृद्धि भई ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४० करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा भने लगभग बराबरी देखिएको छ । सो अवधिमा ग्लोबल आइएमईले २ अर्ब ७८ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ४.४२ प्रतिशतले मात्रै बढी हो । राष्ट्रिय वाणिज्य बैंकको नाफा भने ५२.८८ प्रतिशतले बढेर २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंक भने नोक्सानीमा देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड २५ लाख रुपैयाँ नाफा गरेको बैंकले यस वर्षको सोही अवधिमा भने १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा देखिएको हो । चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा कम नाफा सिभिल बैंकले गरेको छ । बैंकले सो अवधिमा ६३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको हो ।

चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै नाफा बढाउनेमा एभरेष्ट बैंक देखिएको छ । बैंकले सो अवधिमा १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ८९.२९ प्रतिशतले बढी हो ।
सो अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा ६१.३६ प्रतिशतले वृद्धि भई १ अर्ब ७५ करोड ३६ लाख, नेपाल एसबिआई बैंकको ५०.३९ प्रतिशतले बढेर १ अर्ब १७ करोड ७१ लाख, लक्ष्मी बैंकले ३१.७७ प्रतिशतले बढाएर १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ नाफा गरेको छ ।

सो अवधिमा हिमालयन बैंकको नाफा २८.४२ प्रतिशत, सानिमा बैंकको १९.२३ प्रतिशत, एनएमबि बैंकको ११.०८ प्रतिशत, माछापुच्छ«े बैंकको १.४३ प्रतिशतले नाफा बढेको छ । यी बैंकहरुले क्रमशः ९५ करोड ४७ लाख, १ अर्ब २८ करोड ५३ लाख, १ अर्ब ९० करोड ११ लाख र १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा गरेका छन् ।

सो अवधिमा आधा दर्जन बैंकहरुको नाफा भने घटेको छ । चालु आवको पुस मसान्तसम्ममा सबैभन्दा धेरै नाफा सिटिजन बैंकको घटको छ । बैंकको नाफा ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख रुपैयाँ कायम भएको छ । यस्तै सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले गिरावट आई १ अर्ब १६ करोड ११ लाख, नेपाल बैंकको १७.३९ प्रतिशतले घटेर १ अर्ब १७ करोड ६ लाख, सनराइज बैंकको १२.२८ प्रतिशतले घटेर ६५ करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।

त्यसैगरि सो अवधिमा प्रभु बैंकको नाफा ४.२९ प्रतिशतले घटेर १ अर्ब १९ करोड ९ लाख प्राइम कमर्सियल बैंकको १.५८ प्रतिशतले कमी आई १ अर्ब ६५ करोड २० लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्