मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय प्रगति: नाफा २८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।मेगा बैकसंग मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विवरण अनुसार सो अवधिमा २ अर्ब बढी खुद नाफा गरेको छ ।
सो अवधिमा बैंकले २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा २८.४४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ७३.९३ प्रतिशतले वृद्धि भई ४ अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैयाँ पुगेको छ। गत वर्षको दोस्रो त्रैमासमा बैंकको यो आम्दानी २ अर्ब ४० करोड ६९ लाख २५ हजार रुपैयाँ मात्र थियो ।
सो अवधिमा बैंकको खुद संचालन आम्दानी ५ अर्ब २० करोड ४० लाख ६६ हजार, संचालन मुनाफा २ अर्ब ९८ करोड २४ लाख ४८ हजार रुपैयाँ रहेको छ । बैंकको संचालन मुनाफा गत वर्षको तुलनामा भने २३.८९ प्रतिशतले वृद्धि भएको हो । बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब ६० करोड ४२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।
मर्जपछि बैंकको चुक्ता पुँजी ८६.४२ प्रतिशतले वृद्धि भई ३४ अर्ब १३ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । बैंकले जगेठा तथा कोषमा भने २३ अर्ब ५५ करोड १ लाख रुपैयाँ राखेको छ । सो अवधिमा बैंकको जगेडा कोष ६७.१० प्रतिशतले वृद्धि भएको हो ।
सो अवधिमा बैंकले कुल ३ खर्ब ५५ अर्ब २३ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः १०४.५४ प्रतिशत र ९२.४७ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको ६ महिनामा बैंकको खराब कर्जा १.६५ प्रतिशतले वृद्धि भई ३.७१ प्रतिशत पुगेको छ । बैंकको आधार दर १०.४२ प्रतिशत कायम भएको छ ।
सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा रहेको छ । गत वर्षको तलनामा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १३ पैसा र नेटवर्थ १३ रुपैयाँ ४७ प्रतिशतले घटेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा गएपछि पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु भएको छ । यी दुबै बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
यी दुबैं बैंक १००ः९० को अनुपातमा मर्जरमा गएका हुन् । यी दुवै बैंकलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । मेगा बैंक गाभिने अन्तिमदिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्योहोर्ने सकार्ने गरि कम्पनीले रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो । यी दुवै बैंक मर्जरमा जानका लागि गत जेठ २७ गते प्रारम्भिक सम्झौता भएको थियो ।