वाणिज्य बैंकहरुमा समस्या र चुनौतिका चाङ: व्यवसायिक प्रतिस्पर्धाका लागि कुनको बैंकको रणनीति कस्तो ?

काठमाडौं । संचालनमा रहेका वाणिज्य बैंकहरुमा समस्या र चुनौतिका चाङ देखिएको छ । बैंकहरुमा संचालन खर्च वृद्धि, तरलता अभावका कारण निक्षेप संकलन र व्यवयसाय विस्तार लगायतको समस्या रहेको छन् ।
बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय रिपोर्टमा यस्ता समस्या तथा चुनौतिहरु उल्लेख गरेका हुन् । बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, निक्षेपको कमी, दक्ष जनशक्तिको अभाव, बढ्दो सञ्चालन लागत, जोखिम र व्यवस्थापन खर्चमा भएको बृद्धि, विकास खर्च नहुनु जस्ता समस्या तथा चुनौती रहेको रिपोर्टमा उल्लेख गरेका छन् ।
बैकिङ्ग क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा, निक्षेपको कमिले लगानी विस्तारमा संकुचन, बढ्दो मुद्रास्फीति दर तथा अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक परिदृश्यमा हुने अनपेक्षीत उतार चढावलाई बैंकले समस्या तथा चुनौतिका रुपमा लिएका छन् ।
बैंकहरुले आन्तरिक तथा बाह्य समस्या तथा चुनौतिहरुलाई पार गर्नका लागि आगामी रणनीतिसमेत तयार गरेका छन् । आज हामी बैंकहरुले चालु आवको दोस्रो त्रैमासिक रिपोर्टमा उल्लेख गरेका बैंकिङ्ग समस्या र चुनौतिहरु र अगामी दिनका लागि कस्तो रणनीति बनाएका छन्, जानकारी गराएका छौं ।
सिभिल बैंक
सिभिल बैंकले चालु आवको दोस्रो त्रैमासमा उच्च मुल्य वृद्धिका कारण संचालन खर्च बढ्न गएको र तरलता अभावका कारण निक्षेप संकलन गर्न र व्यवसाय विस्तार गर्न चुनौतीको रुपमा रहेको उल्लेख गरेको छ ।
देशको समग्र अर्थतन्त्रको पुनरावलोकन गर्दा निर्यात भन्दा आयात उच्च मात्रामा वृद्धि भएको र विश्व भूराजनीतिमा देखिएको असहजताले निम्त्याएको संकटका कारण अत्याधिक मात्रामा मूल्यवृद्धि भएको बैंकले जनाएको छ । जसले गर्दा आयातको लागतमा समेत उच्च वृद्धि भएकोले देशको विदेशी मुद्रा संचितिमा प्रतिकुल असर पर्न गएको बैंकले जनाएको छ ।
आयातलाई नियन्त्रणमा राख्न आवश्यक रहेकोले हाल प्रतितपत्र कारोबारमा कमी आएको छ र यसले बैंकको मुनाफामा समेत प्रतिकुल असर पार्ने बैंकले जनाएको छ । प्रविधिको माध्यमबाट बैंकलाई हुनसक्ने सम्भावित हानी नोक्सानीलाई नियन्त्रण गर्ने कार्य चुनौतीको रुपमा रहेको बैंकले जनाएको छ । बैंकले यस्ता घटना हुन नदिनको लागि समग्र बैंकिङ्ग प्रणालीमा विशेष सावधानी अपनाउँदै जोखिम नियन्त्रण गर्दै आएको जनाएको छ।
बजारको तरलता स्थिति असहज रहेको अवस्थामा संयमित भई व्यापार विस्तार गर्ने नीति लिएको छ । बैंकले खर्च व्यवस्थापन गरि मुनाफालाई बढाउने रणनीति लिएको छ । अत्यावश्यक बाहेकका खर्चहरुमा समेत थप मितव्ययीता अपनाउँदै आएको र प्रविधिको अधिकतम प्रयोग गरि बैंकको कार्यहरु स्वचालित बनाई संचालन खर्च घटाउँदै जाने बैंकले जनाएको छ । कर्मचारीको दक्षता अभिवृद्धि गर्न आवश्यक तालिमको व्यवस्था, कम ब्याजदरका साना तथा दिगो निक्षेपहरुलाई प्रोत्साहित गर्ने, निक्षेपको लागतलाई घटाउने तथा संस्थागत निक्षेपको अनुपात समेत घटाउँदै लैजाने नीति लिएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैकिङ्ग क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा, निक्षेपको कमिले लगानी विस्तारमा संकुचन लगायतलाई समस्या तथा चुनौतिको रुपमा उल्लेख गरेको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय रिर्पोटमा बढ्दो मुद्रास्फीति दर तथा अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक परिदृश्यमा हुने अनपेक्षीत उतार चढावलाई बैंकले बाह्य समस्या तथा चुनौतिको रुपमा समावेश गरेको हो । यसका साथै बैंकले मानव संशाधनमा हुने परिवर्तनलाई आन्तरिक समस्या तथा चुनौतिको रुपमा लिएको छ ।
साथै काबुभन्दा बाहिरका परिस्थिति बाहेकका चुनौति समाधान गर्न बैंकले विशेष रणनीति तय गरेको जनाएको छ । बैंकका अनुसार व्यवसाय विविधीकरण, ग्राहकमुखी गुणस्तरीय सेवा प्रदानलाई मुख्य प्राथमिकताका साथ योजना बनाएको छ । यसका साथै खर्चमा मितव्ययीता, मानव संशाधन विकास आदि क्षेत्रमा लगानी गर्ने रणनीति लिएको बैंकले जनाएको छ ।
सिटिजन बैंक
सिटिजन बैंकले संचालन खर्च वृद्धि हुँदै जानु, निक्षेप कर्जाको व्याजदरमा भएको उतारचढाव, बजारमा देखिएको तरलताको समस्या, आय विविधिकरण, निष्कृय कर्जाको व्यवस्थापन, उपयुक्त लगानीका क्षेत्र पहिचान तथा शाखाहरुको वृद्धि सँगसँगै संचालन जोखिम व्यवस्थापन जस्ता आन्तरिक समस्या तथा चुनौति रहेको जनाएको छ ।
बैंकका अनुसार विद्यमान परिप्रेक्ष्यमा दीर्घकालिन रुपमा बैंकका समग्र सूचकहरुलाई सुधार गर्दै जाने कार्य चुनौतीपूर्ण रहेको छ । यसका साथै कर्जाको किस्ता तथा पाकेको व्याज असुलिमा देखिएको समस्या र त्यसबाट कर्जा नोक्सानी व्यवस्था बढ्न जाने हुँदा आगामी दिनमा कर्जा व्यवस्थापन चुनौतीपूर्ण रहेको छ ।
यस्ता चुनौतीहरु रहेको अवस्थामा बैंकिङ्ग क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुनु, बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको कमी हुनु, स्रोत परिचालनमा कमी हुनु, सूचना प्रविधिका क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरु, लगानीकर्ताको मनोबलमा कमी आउनु, सरकारी विकास खर्च कम हुनु लगायत प्रमुख बाह्य समस्या रहेको बैंकले जनाएको छ । यस्ता समस्या विद्यमान रहेको अवस्थामा बैंकको कारोवार दिगो रुपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखि लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहेको छ ।
बैंकले ग्रामीण तथा दुर्गम क्षेत्र र बैंकिङ्ग सेवाबाट वञ्चित व्यक्ति तथा संघ संस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउनुका साथै बैंकका अन्य सेवाहरुको आक्रामक रुपमा बजारीकरण गर्दै व्यवसाय विस्तारमा लाग्ने रणनीति बनाएको छ ।
आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रुपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैंकिङ्ग सुविधा प्रदान गर्ने, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरुको विकास गर्ने, छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरु उपलब्ध गराउने, समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरुलाई मजबुत बनाई उल्लिखित चुनौतिको समाधान गर्ने रणनीति बैंकको छ ।
बैंकको आन्तरिक कार्य प्रणाली स्वचालित तथा कागज रहित बनाई खर्च मितव्ययिता मार्फत निर्धारित लक्ष्य प्राप्त गर्ने तथा ग्राहक सेवा सुविधा चुस्त दुरुस्त बनाउने रणनीति अवलम्बन गरेको छ । साथै बैंकले निष्कृय कर्जा तथा पाकेको व्याज तथा कर्जाको भाका नाघेका ऋणीहरुको उचित व्यवस्थापन गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति पनि लिएको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले हालै सम्पन्न बैकको बिग मर्जरका कारण जनशक्ति व्यवसाय तथा संजालमा भएको आकस्मिक वृद्धि संगसगै सञ्चालन जोखिम र व्यवस्थापन खर्चमा मितव्ययीता अपनाउर्ने समस्या रहेको जनाएको छ ।
बैंकका अनुसार कर्जाको गुणस्तर अभिवृद्धिगरी कर्जा असुलीको माध्यमबाट निष्क्रिय कर्जाको मात्रा न्युनस्तरमा कायम गर्नु, तरलता अभावबाट बैंकको व्यवसाय विकास तथा विस्तारमा परेको असर कम गर्नुलाई बैंकले चुनौतिको रुपमा उल्लेख गरेको छ ।
बैंकको सञ्चालन तथा व्यवस्थापनसंग सम्बन्धित खर्चहरुमा थप मितव्ययिता अपनाई पूँजीमा अपेक्षित प्रतिफल दिनु, बैंकमा कार्यरत दक्ष जनशक्तिमा भएको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग गर्नु र जनशक्तिको छोड्नेदर कम गर्नु, देशको अर्थतन्त्रमा उत्पन्न प्रतिकुलतासँगै सिजींत तरलता अभावबाट व्यवसायमा आएको असर र यसले बैंकको कर्जाका साँवा तथा व्याज भुक्तानीमा पारेको समस्या, विद्यमान अवस्थामा दिगो बैंकिङ कारोवारको विस्तार तथा लगानीकर्ताको अपेक्षित प्रतिफल, निक्षेप संकलनमा बैंकहरुबीच देखिएको अस्वस्थ प्रतिस्पर्धा, कायम तरलताको अभाव र बढ्दो व्याजदर लगायतका समस्या रहेको बैंकले जनाएको छ ।
बैंकिङ्ग क्षेत्रमा रहेको निष्क्रिय कर्जा तथा त्यसको असुली, प्रविधिको विकास संगै यसले निम्त्याएको अन्तरनिहित जोखिमहरु, नियमनकारी निकायबाट जारी हुने नीति तथा निर्देशनहरुबाट हुने सञ्चालन खर्चको वृद्धि तथा आम्दानीमा आउन सक्ने संकुचनका कारण अपेक्षित नाफामा हुने कमी र हाल बैंकिङ्ग क्षेत्रमा भएका ठुला मर्जरका कारण बैंकिङ्ग व्यवसायमा आउने विभिन्न चुनौतीहरु रहेको बैंकले जनाएको छ ।
बैंकले त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले सम्पत्ति तथा दायित्वको व्यवस्थापन र पोर्टफोलियोको जोखिम अनुरूप विविधता कायम गर्ने, अर्थतन्त्रमा आएको सिथिलताले गर्दा असर परेका व्यवसायिक संस्था तथा व्यक्तिगत ग्राहकहरुसँग थप सहकार्य, कर्जाको पुनरतालिकीकरण तथा पुर्नसंरचना जस्ता उपायहरुको अवलम्बन गर्ने रणनीति बनाएको छ । यस्तै, बैंकले निष्कृय कर्जा असुली तथा व्यवस्थापनमा उच्च प्राथमिकता दिने, पूँजीकोष वृद्धि र अनुपालन तथा जोखिम व्यवस्थापन विभागको थप सवलीकरण गर्ने, समय सापेक्ष हुने गरि प्रविधिमा आधरित नयाँ नयाँ बैंकिङ्ग सेवा तथा सुविधाहरुको विकास र विस्तार गर्ने र कर्मचारी तालिम सम्बन्धमा योजनावद्ध कार्यतालिकाको प्रभावकारीता अभिवृद्दि गर्ने रणनीति अघि सारेको छ ।
माछापुच्छ«े बैंक
माछापुच्छ«े बैंकले शाखा विस्तार तथा मुद्रास्फितिको कारणले संचालन लागतमा हुने बृद्धिको असर आन्तरिक समस्या तथा चुनौतीका रुपमा लिएको छ ।
बैकबाट प्रदान गरिने दीर्घकालिन, मध्यकालिन, चालु पूँजी जस्ता कोषमा आधारित कर्जा तथा प्रतितपत्र, जमानतपत्र जारी गर्ने जस्ता गैह्रकोषीय सेवाहरू उपलब्ध गराउँदा हुन सक्ने सम्भावित जोखिमहरू, बैंकको आधारभूत संरचना एवं प्राविधिक विकासमा हुन सक्ने खर्च र त्यसको व्यवस्थापनमा हुन सक्ने जोखिम लाई समस्याका रुपमा लिएको छ ।
यस्तै बैंकले समस्याका रुपमा सम्पत्ति शुद्धीकरण निवारणसँग गाँसिने बैकका आन्तरिक नियम र नियन्त्रण प्रक्रियामा निहित जोखिम, निक्षेप तथा कर्जा लगानी व्याज दरमा हुने परिवर्तनबाट असर पर्ने समस्या तथा चुनौतिका रुपमा उल्लेख गरेको छ ।
सिमित लगानी क्षेत्र र बैंक तथा वित्तीय संस्था बीच भएको तीव्र प्रतिस्पर्धा, विदेशी प्रविधिको परिवर्तन अनुरूप बैंकको गतिशिल परिवर्तन हुन नसक्ने सम्भावना, तरलता अभावले बैंकिङ्ग प्रणालीमा पर्न सक्ने सिस्टमेटि जोखिमलाई समस्या तथा चुनौतिका रुपमा लिएको छ । मुद्रा बजारमा ऐतिहासिक रूपमा डलरको मूल्यमा आएको वृद्धिका कारण आयात महंगो भई वैदेशिक मुद्रास्फीतीको दवाबबाट उत्पन्न हुन सक्ने जोखिम र बिदेशी विनिमय कारोवार गर्दा विनिमय दरमा हुने परिवर्तनको चुनौतीका रुपमा लिएको छ ।
बैंकले ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्न भिन्न एवं विविध प्रकारका उत्कृष्ट एवं गुणस्तरीय सेवा उपलब्ध गराउने रणनीति तय गरेको छ । बैंकले डिजिटल बैकिङ्गका विभिन्न सेवा सुविधाहरू वृद्धि तथा सेवालाई थप गुणस्तरीय बनाउने, लागत कटौती तथा लागत नियन्त्रणका उपायहरू अवलम्बन गरिएको जनाएको छ ।
बैंकका अनुसार कर्जा तथा सापट र लगानी खराब भई हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक जोखिम कोषको व्यवस्था, बैंकको नीति नियम तथा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राखिएको छ । यस्तै, भविष्यमा हुन सक्ने जोखिमबाट बच्न कर्मचारीहरूलाई आवश्यक तालिम, बैंकको संगठनात्मक संरचनामा परिवर्तन गरी बढी प्रभावकारी बनाइएको तथा केहि मुख्य कर्मचारीले छोड्दा पनि बैंक नियमित रूपमा सेवा प्रदान गर्न सक्षम रहने रणनीति बैंक सहित अघि बढेको छ ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले बढ्दो निक्षेप लागत र बढ्दो संचालन लागतलाई प्रमुख चुनौतीकोको रुपमा उल्लेख गरेको छ ।
दोस्रो त्रैमासिक वित्तीय रपोर्टमा बैंकले पूर्वी युरोपमा देखा परेको द्वन्दका कारण विश्व अर्थतन्त्रमा मन्दिको खतरा, अमेरिकी डलरमा भइरहेको ऐतिहासिक वृद्धि, कमजोर बृहत अर्थतन्त्रको स्थितिलाई समस्या तथा चुनौतिका रुपमा उल्लेख गरेको छ ।
बैंकले नविनतम् प्रविधिको प्रयोग गरी उत्कृष्ट सेवा प्रदान गर्ने, नयाँ क्षेत्रहरुमा लगानी एवं अवसरहरुको निरन्तर खोजी, कर्मचारीहरुको निरन्तर वृत्ति विकासमा जोड दिने रणनीति अघि सारेको छ । यसका साथै प्रतिस्पर्धी क्षमताको विकास गर्दै जाने, विवेकशील जोखिम व्यवस्थापनको नीतिलाई अंगिकार गर्दै जाने, उत्पादनशील क्षेत्र कर्जा लगानी वृद्धिको लागि सम्भाव्य अवसरहरुको खोजी, उपभोक्ता कर्जा र साना तथा मझौला कर्जा प्रवाहमा जोड दिने बैंकको रणनीति छ ।
बैंकले चल्ती तथा बचत निक्षेपमा जोड, मितव्ययी खर्चमा जोड, डिजिटल बैंकिङ्ग गतिविधिहरु तिव्र रुपमा अगाडि बढाउने रणनीतिसहित अघि बढेको उल्लेख गरेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पनि बैंक तथा वित्तिय संस्थाहरूको तरलतामा आउने उतारचढावको कारणले ब्याजदरमा भइरहेको परिवर्तनले हुन सक्ने जोखिमलाई समस्या तथा चुनौतिको रुपमा उल्लेख गरेको छ ।
बैंकले देशको अर्थतन्त्र कमजोर हुनाले पूर्वाधारमा आधारित परियोजना लगायतका अन्य लगानीका अवसरहरूमा कमी आउने र बैंकको निष्कृय कर्जा समेत बढ्दै जाने जोखिम
कोरोनाको महामारीले थलिएको विश्व अर्थतन्त्र माथि उठ्न नपाउँदै रूस युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा मुद्रास्फीति बढ्नाले आयात महङ्गीएको कारण वैदेशिक मुद्रा सञ्चितीमा ह्रास आए संगै समग्र अर्थतन्त्र नै सुस्ताएको बैंकले जनाएको छ ।
कोभीड महामारीको प्रभावबाट अन्य व्यवसायहरू समेत सामान्य ढंगले संचालन हुन नसकेको कारणले ब्याज तथा ऋण असुली अत्यन्त चुनौतिपूर्ण रहेको बैंकले जनाएको छ ।
मुलुकको अर्थतन्त्र एवं व्यवसायीहरूमा परेको असर न्यूनीकरण गर्नका लागि ऋणीको व्यवसाय निरन्तरताका लागि आवश्यक चालु पूँजी परिपूर्ती एवं वित्तीय व्यवस्थापनको लागि निरन्तर अन्तरक्रिया गर्दै उचित बैकिङ सुविधा उपलब्ध गराउने रणनीति बैंकले लिएको छ ।
कोरोना महामारी एवं आर्थिक मन्दीका कारण अधिकांश उद्योग व्यवसायहरू पूर्ण रूपमा संचालनमा आउन नसकेको अवस्था रहेको र केही व्यवसायहरूमा दीर्घकालिन असर परेको देखिएको छ । बैंकले विभिन्न क्षेत्रका व्यवसायहरूमा परेका असरबारे विस्तृत अध्ययन गरी ऋणीहरूलाई राष्ट्र बैंकको जारी गरेको मौद्रिक नीति र निर्देशनको समेत अधिनमा रही आवश्यक सुविधा प्रदान गरी समस्या सम्बोधन गर्ने रणनीति तर्जुमा गरी सोहि अनुरूप कार्यान्वयन भइरहेको बैंकले जनाएको छ ।
सानिमा बैंक
सानिमा बैंकले वित्तीय स्रोतको लागतमा वृद्धि र बढ्दो संचालन खर्चलाई आन्तरिक समस्या तथा चुनौतीको रुपमा लिएको छ ।
बैंक तथा वित्तीय संस्था बीच तीव्र प्रतिष्पर्धा, कर्जाको माग तथा निक्षेप वृद्धिमा सन्तुलन नहुनु र सूचना प्रविधिको क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरू रहेको बैंकले उल्लेख गरेको छ । यस्तै, मुद्रास्फिर्ती तथा ब्याजदर वृद्धिको कारण सम्भावित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको संकुचन तथा असुलीमा चापलाई बैंकले समस्या तथा चुनौतिका रुपमा उल्लेख गरेको छ ।
बैंकले निक्षेप तथा कर्जाको विविधिकरण, आयआर्जन गर्ने नयाँ क्षेत्रहरू विस्तार तथा निक्षेप परिचालनमा जोड दिन रणनीति बनाएको छ । यसका साथै समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास, पुँजीकोष वृद्धि, समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरूलाई मजबुत बनाउने रणनीति बनाएको जनाएको छ ।
सनराइज बैंक
सनराइज बैंकले बढदो प्रतिस्पर्धाका कारण दक्ष जनशक्तिको अभाव आन्तरिक समस्या र चुनौतीका रुपमा उल्लेख गरेको छ । बैंकले संचालन खर्चमा वृद्धि, खुद ब्याजदर अन्तर सन्तुलन गर्ने चुनौती रहेको बताएको छ ।
रुस र युक्रेनका बीच विगत करीब १ वर्ष देखि भइरहेको युद्ध लगायतका अन्य विभिन्न कारणहरुले गर्दा विश्वव्यापी रूपमा बढेको मुद्रास्फीति, घरजग्गाको मूल्यमा भएको अस्वभाविक बृद्धिका कारण स्वीकारयोग्य धितोको मूल्याङ्कनमा हुने उतार चढावलाई बाह्यक समस्या र चुनौतिका रुपमा बैंकले उल्लेख गरेको छ ।
यसका साथै संकुचित बजार, जोखिमयुक्त वातावरण, वित्तीय संस्थाहरु बीच देखिएको तिव्र प्रतिस्प्रर्धा र देशमा विद्यमान तरलता अभाव पनि समस्या र चुनौति रहेको जनाएको छ । बैंकले भन्यो,–‘आन्तरिक तथा बाह्य समस्या र चुनौतिहरुको सामना तथा व्यस्थापन गर्न बैंक सक्षम रहेको छ । आफ्नो कार्यक्षमता बृद्धि गरी स्तरीय सेवा प्रदान गर्नको लागि कर्मचारीलाई आवश्यक तालीम दिने तथा निजहरुलाई बैंक प्रति आवद्ध राख्नको लागि यथोचित नीति अवलम्बन गरेको छ ।’
बैंकलाई प्रविधिमैत्री बनाउदै लैजाने, संचालन खर्चलाई न्यूनीकरण, आयआर्जन गर्ने नयाँ क्षेत्रहरुको पहिचान तथा शाखा संजालको विस्तार गर्दै निक्षेप तथा कर्जालाई विविधिकरण गर्दै लैजाने तर्फ बैंक प्रतिवद्ध छ । बैंककले ग्राहकमुखी आधुनिक बैंकिङ्ग तथा वित्तीय सेवा तथा सुविधाहरु प्रदान गर्ने नीति बैंकले लिएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले पनि संचालन खर्चमा वृद्धि, खुद ब्याजदर अन्तर सन्तुलन गर्ने चुनौती रहेको बताएको छ ।
देशको कुल गार्हस्थ्य उत्पदानमा रेमिट्यान्स आप्रवाहले ठुलो योगदन दिएको, पछिल्लो महिनामा वृद्धि भएता पनि देशको गैर उत्पादक क्षेत्रमा खपत भईरहेको समस्या भएको बताएको छ । बैंकले निक्षेप/कोषको लगातको तुलनात्मक रुपमा बैंकिङ्ग उद्योगमा उच्च, ऋणको समयै असुलीमा चुनौति रहेको बैंकले जनाएको छ ।
बैंकले आगामी दिनमा सम्पत्ति र दायित्वहरूको राम्रो व्यवस्थापन, गैर–कोष व्यवसायमा फोकस र लगानी विविधीकरणका लागि नयाँ अवसरहरू खोज्ने रणनीति बनाएको छ ।
ग्राहकहरूलाई सेवाको गुणस्तरमा निरन्तर वृद्धि गरी विद्यमान सेवाहरूको पूँजीकरण, आन्तरिक र बाह्य वातावरणीय परिवर्तनहरूको नजिकबाट अनुगमन गर्ने र सक्रिय दृष्टिकोण अपनाउने, मार्केटिङ, डिजिटल बैंकिङ विशेष प्राथमिकता दिने रणनीति बनाएको छ । यसका साथै बलियो जोखिम व्यवस्थापन ढाँचा र लचिलो एएमएल/सीएफटी फ्रेमवर्क, अनलाइन तालिमहरू मार्फत मानव संसाधनको विकास गर्ने र उनीहरूलाई वृद्धिको लागि उत्प्रेरित गर्ने रणनीति अघि सारेको छ ।
कुमारी बैंक
कुमारी बैंकले पनि संचालन लागत वृद्धि, दक्ष र प्रशिक्षित जनशक्तिको अभावलाई आन्तरिक समस्याको रुपमा उल्लेख गरेको छ ।
ओभरहेठ दक्षता सुधार, बढ्दो पुँजी र त्यसको व्यवसायिक क्षमताका साथ बैंक तथा वित्तीय संस्थाहरुबीच तीव्र प्रतिस्पर्धालाई चुनौतिका रुपमा उल्लेख गरेको छ । लागत वृद्धिलाई राजस्व प्रवाहमा पास गर्न चुनौती, कोरोना महामारी पछिको अवस्थाले विश्वभरका उपभोक्ताहरू, व्यवसायहरू र समुदायहरूका लागि चिन्ता र आर्थिक कठिनाइहरू निम्त्याइरहेको छ र यसले बैंकिङको समग्र व्यवसायलाई असर गरिरहेको बैंकले जनाएको छ ।
ग्राहकहरूको परिवर्तनशील आवश्यकता पूरा गर्न उत्पादन र सेवाहरूलाई निरन्तर नवीकरण र विविधीकरण गर्दै उच्च उपज र कम जोखिममा लगानी गर्ने क्षेत्रमा सम्पत्तिको उपयोग गर्ने रणनीति बनाएको छ । कर्मचारीहरूको सीप र ज्ञानको वृद्धिको लागि गहन प्रशिक्षण प्रदान, बजारको तरलता स्थिति अनुसार यसको ब्याज संवेदनशील सम्पत्ति र दायित्वहरूको पुनः मूल्य निर्धारण लगायतको रणनीति तय गरेको छ ।
बैंकिङ प्रणालीको डिजिटलाइजेशन, अनलाइन प्लेटफर्महरूमा काम गर्ने कर्मचारीहरूलाई उत्तेजित र शिक्षित गर्दै हरेक बैंकिङ सेवाहरू अनलाइन उपलब्ध गराउने रणनीतिसहित अघि बढी रहेको छ ।
नेपाल बैंक
नेपाल बैंकले पनि मुद्रास्फीतिको कारण संचालन लागत वृद्धि, निक्षेप र ऋणको ब्याजदरमा परिवर्तनलाई आन्तरिक समस्याका रुपमा लिएको छ ।
कोरोना महामारीले व्यापार सुस्त बनाएकाले क्रेडिट पोर्टफोलियामा पूर्वनिर्धारित र खराब कर्जा बढाउँने, विश्व आर्थिक मन्दीको कारण व्यापारमा प्रतिकुल असर लगायतलाई समस्याको रुपमा उल्लेख गरेको छ । यस्तै, देशको आर्थिक क्षेत्रमा अस्थिरताका कारण आर्थिक जोखिम, राजस्व वृद्धि ्लगायतलाई चुनौतिका रुपमा लिएको छ ।
बैंकले व्यापार वृद्धि र नाफा व्यवस्थापनमा फोकस, संचालन दक्षता अभिवृद्धि गर्ने रणनीति लिएको छ । यसका साथै नयाँ नयाँ उत्पादनसहित बैंकिङ् सेवालाई डिजिटलाइज गर्ने र बैंकको सम्पत्ति र दायित्व व्यवस्थापनमा फोकस हुने गरि रणनीति बनाएको बैंकले जनाएको छ । बैंकले गैह्र ब्याज आम्दानीका लागि नयाँ क्षेत्रको पहिचान र लगानी गर्ने रणनीति बनाएको छ ।
नबिल बैंक
नबिल बैंकले महामारी र आर्थिक अवस्थाको प्रभावमा एनपीए वृद्धिको सम्भावना, कम आर्थिक वृद्धि र सम्पत्ति वृद्धिको चुनौति रहेको उल्लेख गरेको छ ।
गैर ब्याज राजश्व सुधार, तरलता र ब्याज जोखिम व्यवस्थापनको चुनौति रहने बताएको छ । बजारमा पर्याप्त तरलताको अभाव, कम विदेशी मुद्रा सञ्चिति र कम पुँजीगत खर्च, निक्षेपको लागतमा वृद्धि र बैंक तथा वित्तीय संस्थाबीचमा प्रतिस्पर्धा लगायतलाई समस्या र चुनौतिको रुपमा बैंकले उल्लेख गरेको छ ।
यस्तै, मार्जिनमा गिरावट, ब्याजदरमा तीव्र उतार–चढावलाई पनि समस्या रहेको जनाएको छ । समस्या र चुनौतीहरू न्यूनीकरण गर्न बैंकको रणनीतिः सम्पत्ति र दायित्वहरूको विवेकपूर्ण व्यवस्थापन, सुधारिएको उत्पादकता र दक्षता मार्फत लागतको प्रभावकारी व्यवस्थापनको रणनीति बनाएको छ ।
बैंकले गैर–ब्याज आम्दानीबाट योगदान कायम राख्नको लागि वैकल्पिक व्यापार मार्गहरू र च्यानलहरूको अन्वेषण, उत्पादन प्रस्तावहरू र सेवा वितरणमा उल्लेखनीय सुधारको लागि डिजिटलाइजेशनलाई अँगालेको जनाएको छ । यसका साथै हाम्रो सेवा मानव स्तरवृद्धि गर्न कर्मचारीहरूको सीप सेटहरू बढाउँदै अघि बढ्ने योजाना बनाएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले पनि गुणस्तरीय जनशक्ति अभाव, संचालन लागत वृद्धि लगायतलाई समस्याको रुपमा उल्लेख गरेको छ।
बैंकले बाह्य समस्या तथा चुनौतिका रुपमा भने लगानीको अवसरको अभाव, निक्षेप परिचालनको सीमित स्रोत, प्राकृतिक/सम्प्रादायिक प्रकोपहरुमा स्थानीय तथा विश्वव्यापी अर्थतन्त्रको संवेदशीलता लगायतलाई उल्लेख गरेका छ ।
आगामी दिनमा भने बैंकले बजार अवस्था अनुसार सम्पत्ति÷दायित्वहरुको पुनः मूल्य निर्धारण, नयाँ उत्पादन र सेवाहरु गुणस्तरीय वृद्धि, जोखिम व्यवस्थापन र पोर्टफोलियो व्यवस्थापन र लगानीका लागि नयाँ क्षेत्रहरुको पहिचना गरि अघि बढ्ने रणनीति लिएको छ । बैंकिङ सुदृढीकणका लागि मर्जर लगायतको रणनीति बनाएको जनाएको छ ।
एनएमबि बैंक
एनएमबि बैंकको अन्य बैकहरुको जस्तै नै समस्या तथा चुनौति रहेका छन् । बैंकले आय विरुद्ध संचालन लागत वृद्धि, बढ्दो बजार प्रतिस्पर्धा लगायतलाई समस्या र चुनौतीहरूको रुपमा उल्लेख गरेको छ ।
बैंकले तरलता अभाव, लगानीको लागि चुनौतीपूर्ण व्यापार वातावरण, सीमित अवसरहरूको साथ प्रतिस्पर्धात्मक वातावरण, एफएक्स रिजर्भ कायम राख्नु र यसको दर वृद्धि बढ्दै जानु, बैंकको विभिन्न फ्रन्ट र ब्याक एन्ड प्रक्रियाको डिजिटाइजेशन, डिजिटल च्यानल खुला राख्ने र दीर्घकालीन डिजिटल ग्रहण्,कोषको वैकल्पिक स्रोतहरूमा फोकसका लागि रणनीति बनाएको छ ।
लागत व्यवस्थापन रणनीति लागू गर्ने बैंकले जनाएको छ । एसएमई, ऊर्जा र कृषि र अन्य उत्पादनशील क्षेत्रहरूमा लगानीले जारी राख्ने, परिचालन क्षमता बढाउने र विभिन्न मानव संसाधन विकास योजनाहरू प्रस्तुत गर्नमा ध्यान केन्द्रित रहने बैकले जनाएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि संचालन लागतको वृद्धि, शुल्कमा आधारित राजस्व वृद्धि र सम्पत्तिको गुणस्तर कायम राख्नमा आन्तरिक चुनौतीहरू रहेको जनाएको छ ।
बैंकले नीति÷नियममा भएको परिवर्तनका कारण बैंकलाई हुने जोखिम, बैंक तथा वित्तीय संस्थाहरुबीच प्रतिस्पर्धा, अस्थिर र अप्रत्याशित बजार अवस्था, बैंकिङ्ग अपराधमा वृद्धि लगायतको समस्या तथा चुनौीत रहेको उल्लेख गरेको छ ।
यस्ता प्रकारका चुनौतीहरू पार गर्ने रणनीतिहरू तय गरेको छ । बैंकले स्वचालन मार्फत व्यापारमा अर्थ व्यवस्था, डिजिटल लेनदेनको सुरक्षाका लागि आइटीका पूर्वाधारहरूलाई थप सुदृढ गरिने रणनीति बनाएको छ ।
यसका साथै बैंकले स्रोतहरूको अधिकतम उपयोगको लागि सम्पत्ति र दायित्वहरूको विवेकपूर्ण व्यवस्थापन, सम्पत्ति पोर्टफोलियो मिश्रणमा सुधार, जोखिममा आधारित मूल्य निर्धारण मोडेललाई सुदृढ गर्ने र न्यून पुँजी आवश्यक पर्ने व्यवसायमा ध्यान केन्द्रित रहने बैंकको रणनीति छ । यस्तै, नयाँ उत्पादन र सेवाहरूमा अनुसन्धान, डिजिटल च्यानलहरू मार्फत व्यापार स्रोतहरू वृद्धि, कार्यसम्पादन संस्कृतिको निर्माण र कर्मचारी अभिवृद्धिमा जोड दिने बैंकले जनाएको छ ।
प्रभु बैंक
प्रभु बैंकले पनि संचालन खर्च, व्यापार वृद्धिसंग परिचालन जोखिम व्यवस्थापन, कर्मचारीहरूको व्यवस्थापन लगायतलाई समस्या तथा चुनौतिको रुपमा उल्लेख गरेको छ ।
बैंकिङ उद्योगमा प्रतिस्पर्धा, विशेष गरी मूल्य निर्धारण, महामारीका कारण समग्र व्यापार र नाफामा प्रभाव परेको जनाएको छ ।
बैंकले यस्ता समस्या तथा चुनौतिलाई पार लगाउन आन्तरिक र बाह्य वातावरणमा भएका परिवर्तनहरूलाई सावधानीपूर्वक अवलोकन गर्दै व्यावसायिक गतिविधिहरू विस्तार गर्ने रणनीति तय गरेको छ ।
बैंकले कर्मचारीहरूलाई सीप र क्षमता अभिवृद्धि गर्न तालिमहरू प्रदान गर्दै, ग्राहकको चासोलाई ध्यानमा राख्दै नयाँ उत्पादन र सेवाहरू प्रस्तुत गर्ने योजना बनाएको छ ।
परिचालन जोखिम, बजार जोखिम र ऋण जोखिमको प्रभावकारी जोखिम व्यवस्थापन, अनुगमन र नियन्त्रणका लागि आवश्यक रणनीति तय गरेको बैंकको भनाई छ । बैकले सुरक्षित बैंकिंग अभ्यासहरू जारी राख्दै र नाफामा ठूलो प्रतिकूल प्रभाव व्यवस्थापन गर्न सञ्चालन लागत घटाउने मुख्य योजना बनाएको छ ।