ट्राउट माछाले पर्यटन प्रवद्र्धन « Arthapath.com
२७ कार्तिक २०७६, बुधबार

ट्राउट माछाले पर्यटन प्रवद्र्धन



फुर्पा तामाङ
रसुवा जिल्ला ट्राउट माछाको लागि पनि प्रख्यात हुँदै छ । बोकेझुण्डा, सोले, धुन्चे, ठूलो भार्खु र सानो भार्खुमा ट्राउटा माछा पाल्दै आएका छन् । खोलाको असला माछा मीठो र सस्तो भए तापनि अचेल कम्ती पाउने गरेको र ताजा पाउन मुस्किल छ । पाइहाले पनि काँडाहड्डी हुने भएकोले सबैले सजिलै खान सक्दैनन् । यसकारण केही बढी तिरेर भए पनि काँडाहड्डीरहित ट्राउट माछा खानेको सङ्ख्यामा बर्सेनि बढिरहेका छन् ।
सानो भार्खुको १२ घुम्तीमुनि छोकल भन्ने ठाउँ छ । फराकिलोसम्म परेको जग्गामा सुन्तलाको बगैँचा पनि छ । सोही सुन्तला बगैँचामा ट्राउट माछा पालेका छन् । व्यवस्थापन विषयमा स्नातक गरेका सोही गाउँकी माया लामा र उनका श्रीमान् सुशीलले ०७१ सालदेखि १३ वटा पोखरीमा ट्राउट पालेर माछाका परिकार बेच्दै आएका छन् । पढेर केही समय बैंकमा जागिर खाएका यी दम्पतीले आफ्नै व्यवसाय शुरु गरेका हुन् । नेपाल सरकार कृषि विकास शाखा रसुवामार्फत हिमाली आयोजनाले समेत अनुदान सहयोग गरेको यी दम्पती सुनाउँछन् ।
यी दम्पतिी भन्छन्, ‘हामीले अठोट गरेरै यो व्यवसाय सुरु गरेका हौँ । पढ्ने सबैले जागिर पाउँदैन । जागिरै खाने सोचेर आगामी पुस्ताले नपढुन् । पढेका जति सबैलाई जागिर दिन पनि सकिन्न । बरु पढाइबाट सिकेका ज्ञान व्यवसायमा लगाउन सकिन्छ भन्ने हाम्रो बुझाइ हो ।’ यी दम्पतीले ग्रिनहाउस रिसोर्ट नाम राखेर ट्राउट र अर्गानिक तरकारी फलाउँदै ग्राहकलाई रैथाने स्वाद चखाउँदै आएका छन् ।
रिसोर्टमा तीनटा डबल बेड भएको काठको कटेज हाउस बनाएको छ । सानो परिवार, नवजोडी र पाका उमेरलाई १–२ रात बिताउन असाध्यै रमाइलो र शान्तमय ठाउँ छ । कौसीमा बसेर वरिपरि हेरेर खान मिल्नेछ । भोटेकोसी केरुङ खोला सुसाएको र पारि भीरमा भीरमौरीको चाका देख्न सकिन्छ । कटेजको भुइँतल्लामा रेस्टुरेन्टसँगै बार र एउटा हल छ । ७०/८० जनासम्मको लागि गाउन र नाच्न ठाउँ पुग्छ । प्रोजेक्टर र साउन्ड सिस्टम पनि राखिएकोले बर्थडे पार्टी र नयाँ वर्षको दिन हल र बाहिर खुला मैदानमा रमाइलो गर्न मानिसहरू आउने गर्छन् । बाहिर बसेर खाने स–साना कटेज पनि छन् ।
यी दम्पती आफैँ खटेर काम गर्छन् । भान्सामा पकाउने, रेस्टुरेन्टमा सर्भिस गर्ने, हाउस किपिङ र डिस वासिङमा समेत ग्राहकको सन्तुष्टिका लागि निकै ध्यान दिन्छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । व्यवसायीलाई बेलैमा सहयोग गरेर पर्यटकका लागि गुणस्तरीय सेवा दिनमा कन्जुस्याइँ गर्नुहुँदैन । चीन सरकारले पर्यटन व्यवसायलाई गुणस्तरीय बनाउन ५०/८० प्रतिशतसम्म लगानीमा अनुदान सहयोग उपलब्ध गर्छन् ।
कसरी पुग्ने काठमाडौंबाट त्रिशूली–बेत्रावती–मैलुङ हुँदै छोकल पुग्न सकिन्छ । छोकलबाट डेढ किलोमिटर दूरीमा स्याफ्रुबेंसी बजार पर्छ । अर्काे बाटो हो, रसुवाको सदरमुकाम धुन्चेबाट ठूलोभार्खु हुँदै सानोभार्खुको १२ घुम्तीमुनि पर्छ । धुन्चेबाट १२ किलोमिटर टाढा रहेको छ ।
असोज महिनादेखि जेठ महिनासम्म ट्राउट माछा खाने उपयुक्त समय हो । के तपाईं ट्राउट माछा नखाने ?
रिसोर्टका के–के छन् सुविधा १. माछा फ्राई, ग्रेभी, सेकुवा, सुप, मःम ।
२. लोकल कुखुरा, टर्की, गिरिराज र ब्रोइलर कुखुराको सुप, चिल्ली, रोस्ट, ग्रेभी, मःम, सेकुवा, तिते आदि ।
३. मटन र राँगाको मासुको परिकार ।
४. अर्गानिक तरकारी ।
५. ढिँडो, सिस्नु र आलुको परिकार ।
६. रुचिअनुसारको पेयपदार्थ ।


प्रतिक्रिया दिनुहोस्