स्टार्टअपलाई १० लाखसम्म अनुदान दिदै नास्ट, माग्यो प्रस्ताव « Arthapath.com
२६ माघ २०७८, बुधबार

स्टार्टअपलाई १० लाखसम्म अनुदान दिदै नास्ट, माग्यो प्रस्ताव



काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नविनतम प्रविधिको विकास र विद्यमान प्रविधिहरूमा नविनतासहित सुधार गर्ने स्टार्टअपलाई अनुदान दिने भएको छ ।

यसका लागि नास्टले एक सूचना प्रकाशित गर्दै प्रस्ताव आह्वान गरेको छ । इच्छुक नागरिकले आगामी ३५ दिनभित्रमा परियोजनाको प्रस्ताव प्रतिष्ठानको कार्यालयमा दर्ता गराउन सक्नेछन् ।

प्रस्ताव अधिकतम १० पेजसम्मको हुनुपर्नेछ । उक्त प्रस्ताव आम नेपालीको समस्यालाई सम्बोधन गरी समाधान दिने खालको हुनुपर्ने नास्टले जनाएको छ । नास्टका अनुसार बढीमा १२ महिनाभित्र कार्य सम्पन्न हुने र कार्यविधिले निर्दिष्ट गरे बमोजिम उपयुक्त आर्थिक प्रस्तावलाई छनोट गरिने छ ।

कृषि प्रविधि तथा यान्त्रिकीकरण, खाद्य प्रबिधि, सूचना तथा प्रविधि, उर्जा तथा यातायात, शहरी विकास, उदयमान प्रविधि, प्राकृतिक श्रोत साधनको उपयोग, वातावरण एवं जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणको क्षेत्रमा विद्यमान समस्याहरुको समाधानको लागि आवश्यक पर्ने प्रविधिहरुको विकास गर्न प्रस्ताव पेश गर्न सकिने छ ।
छनोट भएका प्रस्तावहरूलाई बढीमा १० लाख रूपैयाँसम्म नवप्रवर्तन अनुदान दिइने छ । उक्त अनुदान ३ किस्तामा प्रदान गरिने छ ।

पहिलोकिस्ता स्वीकृत रकमको ३० प्रतिशत प्रतिष्ठान र अनुसन्धानकर्ता बीच सम्झौता भए पछि दिइने छ । दोस्रो किस्ता (५० प्रतिशत) कार्य प्रगतिकोआधार सहित मूल्याङ्कन समितिको सिफारिस पछि मात्र प्रदान गरिने छ । कार्य प्रगति प्रतिवेदन पेस नगर्ने व्यक्तिहरुलाई अन्य बाँकी किस्ता प्रदान गरिनेछैन र भबिष्यको लागि समेत अयोग्य ठहरिने गरि तथ्यांक अद्यावधि गरिनेछ ।

अन्तिम किस्ताको लागि यस प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा सम्बन्धित व्यक्तिले गरेको अनुसन्धान, आविष्कार तथा खोजको प्रदर्शनको साथै अन्तिम प्रतिवेदनको मूल्याङ्कनका आधारमा मात्र प्रदान गरिने निर्देशिकामा उल्लेख छ । यसरी प्राप्त भएका नवप्रवर्तनका उत्पादनहरुलाई मुल्यांकन समिति मार्फत छनौट गरी उत्कृष्ट ३ प्रविधिका नवप्रवर्तकहरुलाई पचास हजार रुपैयाँका दरले पुरष्कृत गर्न सकिनेछ ।

अनुदान रकम प्राप्त गरेका प्रस्तावकहरूको कार्य प्रगति बारे जानकारी लिन नियमित रूपले अनुगमन तथा सुपरिवेक्षण गरिने छ । यसमा सहभागी हुँदा एक व्यक्ति वा संस्थाले एउटा मात्रै प्रस्ताव पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्