कृषिमन्त्री र एफएओ प्रतिनिधिको भेट : खाद्य र पोषण सुरक्षामा थप सहकार्यको प्रतिवद्धता

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको मन्त्री अधिकारीले बताए ।
नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा संचालित परियोजनाहरु मार्फत खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक श्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण , आपलकालीन अवस्थाको तयारी एंव ग्रामीण महिलाहरुको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रम मार्फत कृषकसम्म सुरक्षित ,पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुरयाउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए । उनले नेपालका कृषि उत्पादनहरु विभिन्न देशहरुमा निर्यातका लागि क्वारेन्टाईन क्षेत्र लगायत विषादी व्यवस्थापनका क्षेत्रहरुमा र कृषि वस्तुहरुको भौगोलिक संकेतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे ।
भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशहरुलाई समस्या पारेको उल्ल्ेख गरे । जलवायु अनुकुलनका कार्यक्रमहरु मार्फत यस्ता चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताए । नेपालले कृषि क्षेत्रमा गरेको प्रगतिले सम्भावाना देखाएको र आगामी दिनमा कृषिका नविन आयामहरुलाई अबलम्वन गर्दे जानुपर्नेमा जोड दिए ।
भेटवार्तामा एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु, मन्त्रालयका सहसचिव हरिवहादुर के.सी लगायतको सहभागीता थियो ।