टाटाले भित्र्यायो ३४ लाख पर्ने नयाँ गाडी, टेस्ट ड्राइभिङका लागि देशभर उपलब्ध

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ गाडी ‘एनआरजी’ भित्र्याएको छ । १२०० सिसिको इन्जिन क्षमताको यो गाडी नेपाल भित्र्याउने वित्तिकै टेस्ट ड्राइभका लागि सिप्रदीका नेपालभर रहेका शोरुममा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
गाडीका बाहिरी बनावट बलियो र ग्राउण्ड क्लियरेन्स उच्च रहेको कम्पनीले जनाएको छ । यसको सुरुवाति मूल्य ३३ लाख ७५ हजार रुपैयाँ छ । सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो ह्वाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै टाटाका प्यासेन्जर भेइकल इन्टरनेसनल विजनेश हेड मायङ्क बाल्डीले ह्याचब्याक मोडेलमा पनि एसयूभीजस्तै विशेषताहरु प्राप्त गर्न चाहनेका लागि यो गाडी अत्यन्त उपयोगी हुने बताए । उनले भने, ‘स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।’
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी भएको भन्दै नेपाली ग्राहक माझ उत्कृष्टभन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिवद्ध रहेको जानकारी दिए ।
पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएमजस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको विज्ञप्तिमा उल्लेख छ । बलियो बाहिरी बनावट र स्पोर्टी भित्री बनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्ने कम्पनीले जनाएको छ ।