सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्न नेपाल राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्न सरकारलाई सुझाव दिएको छ । मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुग्न लागेको चेतावनी दिँदै राष्ट्र बैंकले काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्नुपर्ने सुझाव दिएको हो ।
त्यस्तै, राष्ट्र बैंकले आगामी असार मसान्तसम्म निजी सवारी साधान आयातमा पूर्णरूपमा रोक लगाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।
विदेशी मुद्रा सञ्चिति ६ महिनाका लागि पनि अपुग हुने भन्दै राष्ट्र बैंकले उच्च मूल्यका टेलिभिजन, मोबाइल सेट, मदिरालगायतका विलासिताका सामानको आयातलाई पनि भन्सार तथा करको माध्यमबाट नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ ।
पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन राष्ट्र बैंकले सरकारलाई सुझाव दिएको छ । राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउन सझुाव दिएको हो ।