नेपाली अटो बजार विस्तारै ‘इभि युग’तर्फ मोडिँदै, बढ्दै आम मानिसको विश्वास र क्रेज

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण र माग वृद्धि भएको छ । विस्तारै नेपालीहरु अटो बजार विद्युतीय सवारी तर्फ मोडिदै छन् । नेपालमा विद्युतीय सवारीको हिस्सा पनि बढ्ने क्रममै छ । यद्यपि, हाल १५ प्रतिशत रहेको छ ।
सरकारको नीति नै विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्नेमा नै केन्द्रित रहेको छ । जसका लागि नेपाल विद्युत् प्राधिकरणले हाल ५० वटा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । क्षेत्रका विद्युतीय सवारी साधन बिक्रेताले पनि आफ्नै लगानीमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् ।
अब विस्तारै थप चार्जिङ स्टेशन, मेकानिकल सर्भीसेज तथा सडक पनि विद्युतीय सवारीका लागि उपयुक्त बन्दै जाने र आम नेपालीको विश्वास पनि बढेकाले यसप्रति बढ्दो आकर्षण देखिएको व्यवसायीहरु बताउछन् । व्यवसायीका अनुसार नेपाली अटो बजार अब विस्तारै इभि युग तर्फ मोडिन थालेको बताउछन् । एक व्यापारीले भने,–‘विद्युतीय सवारीमा सरकारले दिएको प्रोत्साहनसंगै इलेक्ट्रिक कार, जीप, भ्यानको ब्याट्री चार्ज गर्न मिल्ने चार्जिङ स्टेशनको सुविधा पनि वृद्धि हुँदै गएको छ, यसमा आम मानिसको विश्वास पनि बढ्दो छ ।’
‘पछिल्लो समय इलेक्ट्रिक सवारीप्रति नै मान्छे आकर्षित हुन थालेका छन् । विद्युतीय सवारीप्रति उपभोक्ताको धारणामा धेरै परिवर्तन हुँदै गएको छ ’ उनले भने । ‘नेपालीहरुको विद्युतीय गाडीहरुमा आकर्षण बढ्दोक्रममा छ । पछिल्लो समय माग अनुसार उपलब्ध गराउन पनि मुस्किल जस्तै छ । ग्राहकको विद्युतीय चारपाँग्रे निजी सवारी खरिदमा पनि उत्तिकै क्रेज छ ।’ नाडाका एक अधिकारीले भने ।
भन्सार विभागको पछिल्ला तथ्याङ्कअनुसार पनि नेपालमा विद्युतीय सवारीको माग बढेको पाइएको छ । चालु आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्तसम्ममा ३ अर्ब ८२ करोड ५७ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ । सो अवधिमा १ हजार ३५३ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएको विभागले जनाएको छ । यस्ता सवारी आयातबाट सरकारले १ अर्ब १० करोड २ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको विभागले जनाएको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।
विभागका अनुसार विद्युतीय सवारी आयात एक महिनामै ३३.६० प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा थप ३३५ वटा विद्युगतीय गाडी नेपाल भित्रिएको हो । कात्तिक मसान्तसम्ममा २ अर्ब ८६ करोड ३५ लाख बढीको विद्युीय कार, जीप र भ्यान नेपाल भित्रिएको छ । कात्तिक मसान्तसम्म यस्ता सवारी १ हजार १८ वटा आयात भएको थियो ।
विभागका अनुसार चालु आवको पाँच महिनामा सबैभन्दा धेरै भारबाट आयात भएको छ । भारतबाट १०० किलोवाट तौल क्षमताका ९४६ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको हो । सो अवधिमा भारतबाट २ अर्ब ५५करोड ८ लाख बढीको विद्युतीय सवारी नेपाल भित्रिएको छ ।
यस्तै चालु आवको मंसिर मसान्तसम्ममा दक्षिण कोरियाबाट ७८ करोड ७ लाख बढीको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । कोरियाबाट १०० देखि २०० किलोवाट तौल क्षमताका विद्युतीय गाडी आयात भएको हो । सो अवधिमा छिमेकी मुलुक चिनबाट भने ४६ करोड ४९ लाख रुपैयाँ, अमेरिकाबाट २ करोड २७ लाख र इन्डोनेशियाबाट ६४ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।
विभागको तथ्याङ्क अनुसार गत असोजमा २ अर्ब ५० लाख रुपैयाँ बराबरको ७०५ वटा, भदौमा १ अर्ब १९ करोड ४३ लाख बढीको ४१४ वटा विद्युतीय सवारी नेपाल भित्रिएको थियो । यस्तै, चालु आवको पहिलो महिनामा भने ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरका २११ वटा मात्रै विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ ।