६९३ प्रतिशतले बढ्यो इलेक्ट्रिक गाडीको आयात : एक महिना थप ३९६ वटा गाडी नेपाल भित्रियो « Arthapath.com
१० माघ २०७९, मंगलवार

६९३ प्रतिशतले बढ्यो इलेक्ट्रिक गाडीको आयात : एक महिना थप ३९६ वटा गाडी नेपाल भित्रियो



काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रति मानिसको आकर्षण ह्वात्तै बढेको छ । पछिल्लो समयम नेपाली बजारमा विद्युतीय सवारीको माग बढ्न थालेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामै इलेक्ट्रिक कार, जीप र भ्यान आयात ६९२.८७ प्रतिशतले वृद्धि भएको छ । गत साउन महिनामा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको थियो । तर, चालु आवको पुस मसान्तसम्म आईपुग्दा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक सवारी नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा १ हजार ७४९ वटा विभिन्न तौला क्षमताका विजुली गाडी नेपाल भित्रएको छ । विद्युतय सवारी आयातबाट सरकारले १ अर्ब ३९ करोड ४६ लाख ७५ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो एक महिनामै थप ३९६ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका हुन् । गत मंसिरमा भने ३ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ बराबरको १ हजार ३५३ वटा विद्युतीय सवारी आयात भएको थियो । सो महिनाको तुलनामा भने २८.८४ प्रतिशतले वृद्धि भएको हो ।

पुस महिनामा सबैभन्दा धेरै विद्युतीय कार, जीप र भ्यान भारतबाट आयात भएको छ । सो अवधिमा भारतबाट १ हजार २८० वटा विद्युतीय सवारी आयात भएको हो । विभागका अनुसार सो देशबाट ३ अर्ब ४६ करोड ८३ लाख ३४ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको छ । भारतबाट १०० किलोवाट तौला क्षमताका गाडी आयात भएका हुन् ।

यस्तै, कोरियाबाट ८५ करोड ४८ लाख ४३ हजार रुपैयाँ बराबरको २२१ वटा इलेक्ट्रिक गाडी आयात भएको छ । सो देशको गत मंसिरको तुलनामा थप १९ वटा विद्युतीय गाडी नेपाल भित्रिएको हो ।

चालु आवको ६ महिनामा चीनबाट भने ५७ करोड ६७ लाख ८५ हजार रुपैयाँ बराबरको २२७ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ । चीनबाट १०० किलोवाट तोल क्षमता २२३ वटा र २००–३०० किलोवाट तौल क्षमताका ४ वटा विद्युतीय सवारी आयात भएको हो ।

त्यसैगरि अमेरिकाबाट २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको ४ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । अमेरिकबाट २०० किलोवाट तौला क्षमताका २ वटा र ३०० किलोवाटसम्मका २ वटा विद्युतीय सवारी आयात भएको हो । यता, इन्डोनेसियाबाट ६४ लाख ६ हजार रुपैयाँ बराबरको ३ वटा विद्युतीय गाडी आयात भएको छ । पछिल्लो एक महिनामा सो देशबाट गाडी आयात नभएको देखिएको छ ।

औषतमा महिनामा १९१ वटा विद्युतीय सवारी नेपाल भित्रियो

विभागको तथ्याङ्कअनुसार औषतमा मासिक १९१ वटा विद्युतीय सवारी नेपाल भित्रिएको देखिएको छ । चालु आवको ६ महिनासम्ममा कुल १ हजार ७४९ वटा गाडी आयात भएको छ ।

गत साउन महिनामा २११ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको थियो । भदौमा थप २०३ बढेर ४१४ वटा आयात भएको छ । असोज महिनामा भने ७०५ वटा विद्युतीय सवारी आयात भएको छ । भदौको तुलनामा असोज मसान्तसम्ममा भने थप २९१ वटा गाडी आयात भएको देखिएको छ ।

यस्तै, कात्तिक महिनासम्ममा १ हजार १८ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ । कात्तिक महिनामा मात्रै थप ३१३ वटा गाडी आयात भएको विभागले जनाएको छ ।

चालु आवको ५ महिनासम्ममा भने कुल १ हजार ३५३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । मंसिर महिनामा मात्रै थप ३३५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो । पछिल्लो पुस महिनामा भने थप ३९६ वटा विजुली गाडी आयात भएको छ । जुन हालसम्मकै उच्च हो ।

कुन महिनामा कति राजश्व ?

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा विद्युतीय सवारी (कार, जीप र भ्यान) आयातबाट सरकारले कुल १ अर्ब ३९ करोड ४६ लाख ७५ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

पुस महिनामा मात्रै २९ करोड ४४ लाख २८ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । जुन हालसम्मै उच्च हो ।
विभागका अनुसार गत मंसिर महिनासम्ममा १ अर्ब १० करोड २ लाख ४७ हजार रुपैयाँ, कात्तिक मसान्तसम्ममा ८५ करोड ६२ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

यस्तै, असोज महिनासम्ममा कुल ६२ करोड २२ लाख ६ हजार रुपैयाँ, भदौमा ४० करोड ७७ लाख २५ हजार रुपैयाँ राजश्व सरकारले प्राप्त गरेको थियो । चालु आवको पहिलो महिना अर्थात साउन भने विद्युतीय सवारी आयातबाट सरकारले १ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्