अटो क्षेत्रको अपेक्षा अनुसार नभएपनि हायर पर्चेज कर्जामा मध्यम खालको नीति आयो: नाडा अध्यक्ष थापा « Arthapath.com
७ श्रावण २०८०, आईतवार

अटो क्षेत्रको अपेक्षा अनुसार नभएपनि हायर पर्चेज कर्जामा मध्यम खालको नीति आयो: नाडा अध्यक्ष थापा



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा केही मात्रै माग सम्वोधन भएको बताए । आइतबार राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रतिक्रिया दिँदै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

मौद्रिक नीतिमा अटोमोइबाल क्षेत्रको केही माग मात्रै सम्वोधन भएको तर, पुरै स्वागत नै गर्ने खालको नभएको उनले बताए ।
उनले भने,–‘राष्ट्र बैंकले वर्तमान देशको अवस्था अनुसार मौद्रिक नीति अवलम्वन गरेको देखिन्छ । केही सकरात्मकमा पनि छन् । तर, समग्रमा अपेक्षा अनुसार अटोमोबाइल क्षेत्रलाई समेट्ने नीति आएन् ।’

मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख छ । यसमा २५ लाख रुपैयाँसम्मको अटोकर्जामा शतप्रतिशत जोखिम भार व्यवस्था तोकिने भएको छ । यसले साना अटो व्यवसायीहरुलाई केही राहत हुने नाडाका अध्यक्ष थापाले बताए ।

उनले भने,–‘मौद्रिक नीतिमा हायर पर्चेज कर्जाको विद्यमान जोखिम भार सम्वन्धी व्यवस्थामा पुनरावलोकन भनेर उल्लेख छ । सो व्यवस्था मार्फत २५ लाख रुपैयाँसम्मको अटोकर्जामा १०० प्रतिशत जोखिम भार गरिने उल्लेख छ । यो सकरात्मक छ ।’ तर, समग्रमा अपेक्षा अनुसार मौद्रिक नीति नआएको उनले बताए । ‘हायर पर्चेजमा कुनै सीमा हुँदैन भन्ने अपेक्षा थियो । तर, जुन २५ लाखको सीमा तोकिएको छ । केही नहुनुभन्दा केही भएको छ । यसले बजारलाई थप गतिशिल बनाउन सकरात्मक भुमिका खेल्न सक्छ’–थापाले भने ।

नाडाले मौद्रिक नीतिमा नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमा बढाएर ८० प्रतिशत पु¥याउने व्यवस्थाका लागि माग गरेको थियो । तर, यसमा केही सम्वोधन नभएको अध्यक्ष थापाले बताए । ‘लोनको भ्यालु रेसियोमा पनि पनि हाम्रो अपेक्षा राखेका थियौं, त्यसमा केही सम्वोधन भएको छैन’– अध्यक्ष थापाले भने ।

यस्तै, चालुपुँजी कर्जा सम्वन्धी मार्गदर्शनलाई पुनरावलोकन गर्ने कुरा सकरात्मक रहेको थापाले बताए । राष्ट्र बैंकले जारी गरेको नीतिमा बैंक तथा वित्तीय संस्थाको सुझावको आधारमा चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने उल्लेख गरेको छ । उनले भने,–‘चालुपुँजी कर्जासम्वनी मार्गदर्शन पनि पुनरावलोकन गर्ने भनिएको छ । यो पनि एउटा सकरात्मक छ । हायर पर्चेज कर्जा पनि मध्यम खालको नीति आएको छ ।’

मौद्रिक नीतिमा चालु पुँजी कर्जा निर्देशिकामा रहेको व्यवस्थाअनुसार चैत मसान्तसम्म साँवा र ब्याज बुझाएका व्यवसायीलाई ब्याज र किस्ता बुझाउने समय थपका लागि नीतिमा कुरा आएको हुँदा उक्त समयभित्र अर्थात् चैतभन्दा अगाडि नै साँवा र ब्याज तिर्न नसकेका व्यवसायीलाई समेत समय थप गरिदिने व्यवस्थाका लागि नाडाले आग्रह गरेको थियो ।

दुई करोडभन्दा माथिको व्यवसायमा कुल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पुनरावलोकन गर्न, व्यवसायीले डीओ पाएर नामसारी र सवारी साधनहरुको डेलिबरी गरेपछि बैंकहरुले भुक्तानी गर्ने समयावधि तोकिदिन र हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्था मौद्रिक नीतिमा समेट्न नाडाले सुझाव दिएको थियो ।

‘मौद्रिक नीतिमा आएका केही कुराहरु सकरात्मक छ, जसले बजार गतिशिल बनाउन भुमिका खेल्ने छ । अब राष्ट्र बैंकले कस्तो सर्कुलर जारी गर्छ भन्ने पनि हो । त्यो हेर्न बाँकी छ’–अध्यक्ष थापाले भने ।


प्रतिक्रिया दिनुहोस्