साढे दुई गुणाले बढ्यो विद्युतीय गाडी आयात: एक महिनामै ६५२ वटा नेपाल भित्रिए, कस्ता इभिमा बढी आर्कषण ? « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

साढे दुई गुणाले बढ्यो विद्युतीय गाडी आयात: एक महिनामै ६५२ वटा नेपाल भित्रिए, कस्ता इभिमा बढी आर्कषण ?



काठमाडौं । नेपालीको विद्युतीय सवारी (कार,जिप र भ्यान) प्रतिको आकर्षण उत्तिकै बढ्दो क्रममा देखिएको छ । विद्युतीय सवारी आयात साढे २ गुणाले बढेको हो । 

भन्सार विभागका अनुसार नेपाल भित्रने विद्युतीय सवारी २.७३ गुणाले बढेको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ हजार ७८७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । यो गत आवको सोही अवधिको तुलनामा भने १७३.७७ प्रतिशतले बढी हो । 

विभागका अनुसार चालु आवको चार महिनामा ६ अर्ब ८३ करोड २७ लाख रुपैयाँ बराबरको विभिन्न तौल क्षमताका विद्युतीय सवारी आयात भएको छ । तर, गत आवको सोही अवधिमा भने २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ बराबरका १ हजार १८ वटा गाडी मात्रै आयात भएको थियो । 

चीन, भारत, जर्मनी, कोरिया र इन्डोनेसियाबाट इभि गाडी नेपाल आएका हुन् ।  ती मुलुकहरूबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात भएको हो । 

गत असोज महिनाकै तुलनामा भने कात्तिक थप ६५२ वटा इभि नेपाल आएका छन् । नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि बिस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । असोजमा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको २ हजार १३५ वटा विद्युतीय गाडी आयात भएको थियो । 

विद्युतीय सवारी साधनका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । सरकारले चालु आव २०८०/८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको सङ्ख्या वृद्धिमा थप योगदान गरेको छ । 

गत भाद्रमा पनि २ अर्ब ४३ करोड १५ लाख रुपैयाँ बराबरको ८९८ वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । त्यसभन्दा अघिल्लो महिनामा अर्थात् साउनमा ३४ करोड ६१ लाख रुपैयाँ बराबरकोको मात्रै ११० वटा इभि नेपाल भित्रिएका थिए । विद्युतीय सवारी आयात बढेसँगै त्यसबापत सरकारले प्राप्त गर्ने राजश्वमा पनि बढ्दै गएको छ । चालु आवको पहिलो चार महिनामा २ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ राजश्व सरकारले प्राप्त गरेको छ । 

१०० किलोवाट तौल क्षमताको धेरै आयात,  इभिमा चिनिया गाडीको राज

विशेषगरि नेपालमा ५० किलोवाटदेखि १०० किलोवाट तौल क्षमतका विद्युतीय गाडीमा बढी आर्कषण देखिएको छ ।कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै १०० किलोवाट तौल क्षमताका विद्युतीय सवारी नेपाल भित्रिएको देखिन्छ ।

समीक्षा अवधिमा ५० किलोवाटदेखि १०० किलोवाटसम्मका १ हजार ४८१ वटा इभि गाडी आयात भएको छ । यस्तै, ५० किलोवाटसम्मका १ हजार २७९ वटा इभि नेपाल भित्रिएका छन् । विभागका अनुसार चार महिनामा ३०० किलोवाटसम्मका भने २७ वटा इभि आयात भएको हो । 

विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुण्डाइ, बिवाइडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन् । नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।

नेपालमा सबैभन्दा धेरै विद्युतीय सवारी चीनबाट आउने गरेको छ । चालु आवको कात्तिक मसान्तसम्ममा चीनबाट १ हजार ५७४ वटा इभि नेपाली बजारमा प्रवेश गरेका छन् । चीनबाट चार महिनामा ४ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको इभि आयात गरिएको हो । सो बराबरको आयातबाट सरकारले २ अर्ब १६ करोड ४९ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ।  

दोस्रो धेरै हिस्सा भने छिमेकी मुलुक भारतको रहेको छ । चार महिनामा भित्रिएका कुल सवारीमध्ये भारतबाट १ हजार १९३ वटा आएका छन् । भारतबाट चार महिनामा २ अर्ब ३० करोड १३ लाख रुपैयाँ बराबरको इभि आयात गरिएको विभागले जनाएको छ । 

यस्तै, इन्डोनेसियाबाट झन्डै २ करोडको १२ वटा, कोरियाबाट डेढ करोड बराबरको ३ वटा, अमेरिकाबाट १ करोड ६६ लाख बराबरको ३ वटा र जर्मनीबाट १ करोड १२ लाख रुपैयाँ बराबरको २ वटा इभि आयात भएका छन् । 


प्रतिक्रिया दिनुहोस्