नेपालमा बीवाईडीको ‘फेलियर’ रणनीतिः राजस्व छलेर बजार कब्जा गर्न खोज्दा भयो ‘ब्याक-फायर’ « Arthapath.com
११ मंसिर २०८०, सोमबार

नेपालमा बीवाईडीको ‘फेलियर’ रणनीतिः राजस्व छलेर बजार कब्जा गर्न खोज्दा भयो ‘ब्याक-फायर’



काठमाडौं । यदी तपाइँले नागढुंगाको उकालोमा कुनै नयाँ विद्युतीय गाडीलाई ज्यादै सुस्त गतिमा गुडिरहेको देख्नु भयो भने त्यो पक्कै बीवाईडीको कार हुनुपर्छ । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक टेस्लालाई जितेर नम्बर वान बन्ने दौडमा होमिएको बीवाईडी नेपालमा भने कमसल कार बेचेर पछि पर्दै गएको छ ।

राजस्व छल्न मोटरको क्षमता घटाएर गाडी भित्र्याइरहेको बीवाईडीले अहिले खराब ‘परफरमेन्स’ गरिरहेको छ । नेपालमा बीवाईडीका गाडीको आधिकारिक वितरक साइमेक्स इंक हो । यमुना श्रेष्ठको यो कम्पनीले सन् २०१७ तिरबाट बीवाईडीको गाडी नेपाल भित्र्याउन थालेको थियो ।

तर २०७९ असोजतिरबाट नेपाली बजारमा आएको ‘एटो थ्रि’ मोडेलको गाडीले यो कम्पनीलाई ठूलै लाभ दियो । १५० किलोवाट पीक पावर मोटरमा उपलब्ध यो गाडी ६ महिनाको बीचमा ४० युनिट विक्री भयो । एउटा गाडीको मूल्य ८९ लाख ९० हजार हुँदा समेत त्यति धेरै गाडि बिक्री भएपछि बिक्रेतामा ‘बजार कब्जा गर्ने’ लोभ पालायो । त्यसपछि श्रेष्ठ र उनको कम्पनीले राजस्व छलेर ‘सस्तो भाऊमा उस्तै गाडी’ ल्याउने रणनीति अघि सार्यो ।

गत आर्थिक वर्षसम्म १०१ देखि २०० किलोवाट पीक पावर (अधिकतम क्षमता)का गाडीमा सरकारले ३० प्रतिशत भन्सार महशुल र ३० प्रतिशत अन्तःशुल्क लगाएको थियो । यसरी ६० प्रतिशत राजस्व तिर्नु परिरहेका बेला १०० किलोवाटसम्मको गाडी ल्याउँदा जम्मा १० प्रतिशत भन्सारमात्रै तिरे पुग्ने अवस्था भयो । ५० प्रतिशत राजस्व बचाएर दुरुस्तै गाडी बेचेपछि त मध्येम खालको बजारलाई सहजै आफ्नो नियन्त्रणमा लिन सकिने हिसाब साइमेक्सको थियो ।

यही कारण उसले इञ्जिन क्षमता एक तिहाईले कटौति गर्दै १५० किलोवाटको मोटरलाई १०० किलोवाटको मोटरले प्रतिस्थापन गर्यो । बाँकी फिचर र ब्याट्री लगायतको क्षमता जस्ताको त्यस्तै राख्यो । कम क्षमताको मोटर राखेपछि पुरानै ब्याट्रीले बढी रेञ्ज दिनु स्वाभाविक भयो । तर राजस्वमा भारी कमी आउने र मोटरको लागत पनि घट्ने भएपछि कम्पनीले पहिलेभन्दा २५ लाख रुपैयाँ मूल्य एकैपटक घटाएर नयाँ भेरियण्टमा गाडी सार्वजनिक गरिदियो ।

हिजोसम्म ९० लाखमा किनेको गाडी अब ६४ लाख ९० हजारमै पाइने भएपछि मानिसहरु लालायित भए । विश्व बजारमा तहल्का पिटिरहेको चिनियाँ ब्राण्डको गाडी यति सस्तो पाएपछि बुकिङ नहुने कुरै भएन । दुई महिना प्रिबुकिङ गराएर साइमेक्सले १०० किलोवाटवाटा गाडी बजारमा ल्यायो । गत वैशाख मध्येतिरबाट डेलिभरी दिन थालेको यो गाडी क्रेताको हातमा पुगेपछि मात्रै थाहा भो, यो त बेकार रहेछ ।

‘अर्को गाडीको बुकिङ क्यान्सिल गरेर सस्तोमा बीवाईडी किनियो, अहिले कस्तो नराम्रोसँग फसिएछ भन्ने पछुतो भएको छ’ बीवाइडीका एक ग्राहकले अर्थपथसँग भने । ‘ओरालो र समथर ठाउँमा त ठीकै परफरमेन्स गर्छ । तर जब थोरै उकालो आउँछ, त्यसपछि गाडीलाई छेउ–कुना खोजेर चलाउनु पर्छ’ ती उपभोक्ताको गुनासो छ ।

५ सिटे गाडीले ५ जनालाई नै तान्न मुस्किल पर्ने गरेको उपभोक्ताले गुनासो गरिरहेका छन् । १०० किलोवाट क्षेमताका अरु गाडी सरर चढ्दा बीवाईडीका गाडि भने अरुलाई ‘साइड’ दिएर पछि पर्नुपर्ने अवस्था छ । यसो हुनुमा ‘राजस्व छलेर बजार कब्जा गर्नखोज्ने’ विक्रेताको बदनीयत नै कारण रहेको प्रतिस्पर्धी कम्पनीका अधिकारीहरु बताउँछन् ।

मोटरको क्षमता घटाउँदा के हुन्छ ?

विद्युतीय गाडीमा मोटरको क्षमता घटाउँदा त्यस्तो गाडीको भार वहन गर्ने सामर्थ्य कम हुन जान्छ । कम्पनीको ‘इञ्जिनियरिङ स्ट्याण्डर्ड’ अनुसार ‘एटो थ्री’को खुद तौल १७५० किलोग्राम छ । ३१० न्युटन मिटर टर्क भएको यो गाडीमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसो हुँदा हरेक १ टन वजन उठाउन मोटरले ८६ किलोवाटको सामर्थ्य प्रयोग गर्न सक्छ ।

तर खुद तौल र अन्य उपकरण तथा फिचरहरु समान राखेर मोटरको क्षमतामात्रै घटाउँदा यसको भार वहन सामर्थ्य कम हुन पुग्यो । १०० किलोवाटको मोटर जडान गरिदिँदा अव ५७ किलोवाट पीक वापरले गाडीको मात्रै १ टन वजन उठाउनु पर्ने भयो । त्यसमाथि मान्छे र सामान राखेर गाडी चलाउँदा मोटरको क्षमताले गाडी चल्नै मुस्किल पर्ने अवस्था देखिएको हो ।

बीवाईडीले यस्तै कम क्षमतामा एटो थ्री कै अर्को भेरियन्ट पनि बेचिरहेको छ । यहाँ उल्लेख भएको एटो थ्री सुपेरियरका अलवा एटो थ्री एडभान्स भनेर अर्को भेरियण्टमा पनि १०० किलोवाटकै मोटर भएको गाडी बेचिरहेको छ । तर यसमा ब्याट्री पनि कम क्षमताको प्रयोग गरिएको छ भने खुद तौल पनि कम गरिएको छ । १६८० किलोग्रामको यो गाडीको प्रतिटन मोटर क्षमता ५९.५ किलोवाट हुन आउँछ ।

कम्पनीले अन्तरराष्ट्रिय स्ट्याण्डर्डको एटो थ्रीको मूल्य ८२ लाख तोकेको छ । पहिलो ९० लाखमा बेचेको गाडी यही हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले यो सालको बजेटबाट १०० किलोवाटभन्दा बढी क्षमताका गाडीमा लाग्ने राजस्व घटाइदिएपछि कम्पनीले करीब ८ लाख मूल्य घटाएको हो ।

गत वैशाखतिर ६४ लाख ९० हजारमा बेचेको एटो थ्री सुपेरियर (१०० किलोवाट)को मूल्य अहिले ६५ लाख ८८ हजार पुर्याइएको छ । योभन्दा पनि क्षमता घटाएर भित्र्याइएको एटो थ्री एड्भान्स भने ५६ लाखमै बेच्न राखेको छ । यस बाहेक साइमेक्सले करीब ४० लाख मूल्यको डल्फिन र ५९ लाख पर्ने ‘ई–सिक्स’ गाडी पनि नेपाली बजारमा भित्र्याएको छ ।

करमा कसरी भएको थियो परिवर्तन ?

आर्थिक वर्ष २०७८/७९ मा १०० किलोवाटसम्मका मोटर पीक पावर भएका गाडीमा १० प्रतिशत भन्सार लगाएको थियो । १०१ देखि २०० किलोवाटसम्मलाई १५ प्रतिशत र २०१ देखि ३०० किलोवाटसम्मलाई ३० प्रतिशत भन्साल लगाइएको थियो । ३०० किलोवाटभन्दा उच्च क्षमताका मोटर प्रयोग भएका कारमा भने ४० प्रतिशत भन्सार लगाइएको थियो । तर त्यस वर्ष कुनै पनि विद्युतीय गाडीमा अन्तःशुल्क लगाइएन ।

आर्थिक वर्ष २०७९/८० मा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले केही सेगमेण्टमा अन्तःशुल्क पनि लगाइदिए र भन्सार पनि बढाइदिए । उनले १५ प्रतिशतको भन्सारलाई ३० प्रतिशत बनाइदिए । ३० प्रतिशतको दरलाई ४५ प्रतिशत र ४० प्रतिशत भन्सार तोकिएको वर्गलाई ६० प्रतिशत पुर्याइदिए ।

१०० किलोवाटसम्मका गाडीमा अन्तःशुल्क नलगाए पनि १०१ देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत अन्तःशुल्क लगाए । यो सेगमेन्टमा ‘अन–एसेम्बल’ अर्थात् नेपालमै ल्याएर जडान गर्नुपर्ने गाडीको हकमा भने अन्तःशुल्क छुट दिए । तर २०० किलोवाटभन्दा बढी क्षमताका एसेम्बल्ड र अनएसेम्बल्ड दुबै खाले गाडीमा अन्तःशुल्क लाग्ने व्यवस्था भयो ।

२०० देखि ३०० किलोवाटका लागि ४५ प्रतिशत र ३०० किलोवाटभन्दा बढी क्षमताका लागि ६० प्रतिशत अन्तशुल्क लाग्ने अवस्था आयो । यही कारण व्यवसायीले सरकारको खरो विरोध गरे ।

फेरि यो आर्थिक वर्ष अर्थमन्त्री डा प्रकाशशरण महतले उच्च क्षमताका गाडीमा लाग्दै आएको राजस्व कटौति गरिदिए । उनले ५० किलोवाटसम्मका विद्युतीय गाडीका लागि भनेर आर्थिक ऐनमा नयाँ तह (स्ल्याब) थपे । यस्ता साना क्षमताको गाडीमा १० प्रतिशत भन्सार शुल्कमात्रै लाग्ने व्यवस्था भयो ।

५० देखि १०० किलोवाटका गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइयो । १०० देखि २०० किलोवाट क्षमताको गाडीमा भन्सार र अन्तःशुल्क दुबै २०–२० प्रतिशत कायम गरे । २०० देखि ३०० किलोवाट क्षमताको गाडीका लागि ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लगाइयो । ३०० किलोवाटभन्दा बढी क्षमताका गाडीमा ६० देखि ८० प्रतिशतसम्म भन्सार र ६० प्रतिशत अन्तःशुल्क कायम गरेको छ ।

विद्युतीय गाडी आयातका लागि पछिल्ला ३ वर्षमा तय गरिएको भन्सार तथा अन्तःशुल्क दर (प्रतिशतमा)

यसबाहेक सरकारले भन्सार विन्दुमा ५ प्रतिशत सडक सुधार दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर लिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्