३ गुणा बढ्यो विद्युतीय सवारी आयात, एक महिनामै १ हजार ५२ वटा इभि नेपाल भित्रिए « Arthapath.com
९ फाल्गुन २०८०, बुधबार

३ गुणा बढ्यो विद्युतीय सवारी आयात, एक महिनामै १ हजार ५२ वटा इभि नेपाल भित्रिए



काठमाडौं । एक महिनाम १ हजार बढी विद्युतीय गाडी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार माघ महिनामा मात्रै १ हजार ५२ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । नेपाली अटो बजार विस्तारै विद्युतीय सवारीमय बन्दै गइरहेको छ । पछिल्लो समय पेट्रोलियम पदार्थबाट चल्ने भन्दा विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढ्न थालेको छ ।

नेपालमा चीन, भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट विद्युतीय सवारी आयात हुने गरेको छ । नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका विद्युतीय गाडी आउने गरेको हो ।

चालु आवको ७ महिनामा मात्रै ६ हजार १५९ थान विद्युतीय गाडी आयात भएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने २०६.५७ प्रतिशत अर्थात् ३.०६ गुणा बढी हो । गत आवको माघ मसान्तसम्ममा भने २ हजार ९ वटा मात्रै विद्युतीय सवारी आयात भएका थिए । चालु आवको ७ महिनामा १५ अर्ब ४ करोड ९ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी नेपालले आयात गरेको हो । सो बराबरको गाडी आयातबाट सरकारले भने ६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ राजश्व प्राप्त गरेको हो ।

नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ । ७ महिनाको तथ्याङ्क अनुसार चीनबाट विभिन्न तौल क्षमताका ३ हजार ७११ वटा गाडी आयात भएको छ । चीनबाट १० अर्ब १२ करोड ४१ लाख रुपैयाँ बराबरको विद्युतीय गाडी नेपालले आयात गरेको छ ।

यस्तै भारतबाट पनि ४ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको २ हजार ३८० वटा गाडी आयात भएको छ । त्यसैगरि सात महिनाको अवधिमा कोरियाबाट २३ करोड ७२ लाख रुपैयाँ बराबरको ४० वटा, जर्मनबाट ३ करोड ८ लाखको ५ वटा, इन्डोनेशियाबाट ३ करोड ४३ लाख ५५ हजार रुपैयाँ बराबरको २० वटा, र अमेरिकाबाट १ करोड ६६ लाख बराबरको ३ वटा गाडी नेपाल भित्रिएको छ ।

नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू नेपालमा उपलब्ध छन् । बिवाइडी, महिन्द्रा, किया, टाटा, एमजी र हुण्डाइ ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन् ।

हाल सबैभन्दा धेरै १०० किलोवाटसम्म इभि आयात भएको छ । ७ महिनामा ५१ देखि १०० किलोवाटसम्म ३ हजार ३९४ वटा इभि नेपाल भित्रिएको हो । दोस्रो सूचीमा भने ५० किलोवाटका छन् । माघ मसान्तसम्मा यस्ता तौल क्षमताका २ जार ६७७ वटा गाडी नेपालले आयात गरेको छ। यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ४३ वटा र २०१ देखि ३०० किलोवाटसम्मका १८ वटा इभि आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्