सुरू भयो नाडा अटो शो : विद्युतीय सवारीको वर्चस्व, यस्ता छन् विशेषता « Arthapath.com
२४ असार २०८२, मंगलबार

सुरू भयो नाडा अटो शो : विद्युतीय सवारीको वर्चस्व, यस्ता छन् विशेषता



काठमाडौं । यस वर्षको नाडा अटो शो- २०२४ आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी साधानहरुको १६ औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् । उक्त मेला ६ दिनसम्म चल्नेछ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ ।अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । आयोजकका अनुसार यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।

प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने ‘नाडा अटो शो’ समितिका संयोजक अनुपकुमार बरालले बताए ।

नाडा अटो शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाउँदै छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

यसवर्ष पनि नाडाले विद्युतीय सवारी साधानमा जोड दिएको छ । यस वर्षको ‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिने आयोजकले जनाएको छ । नाडाका अनुसार यस वर्ष करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्।

यस वर्षको नाडा अटो शोमा बिवाईडीको एम-सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ । गत वर्षको नाडा आटो शोमा पनि विद्युतीय सवारीले वर्चस्व राखेको थियो ।

नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शोले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ ।


प्रतिक्रिया दिनुहोस्