‘नाडा अटो शो’ कसरी बन्यो ‘चाइनिज अटो शो’ ? « Arthapath.com
११ भाद्र २०८१, मंगलवार

‘नाडा अटो शो’ कसरी बन्यो ‘चाइनिज अटो शो’ ?



काठमाडौँ । केही वर्ष अघिसम्म नाडा अटो शोका स्टलहरु भारत, जापान, जर्मनी, दक्षिण कोरिया र अमेरिका लगायत देशका ब्राण्डले भरिएका हुन्थे । हरेक साल तिनै ब्राण्ड सुनिन्थ्यो– टाटा, होण्डा, महिन्द्रा, सुजुकी, हुण्डाई, टोयोटा, इसुजु, जीप, ड्याट्सन, रेनल्ट, निसान, फोर्ड, किया, माज्दा, स्कोदा, मित्सुबिसी, फक्सवागन इत्यादी ।

तर यो साल परिस्थिति पुरै फेरिएको छ । यो वर्ष करीब एक दर्जनको संख्यामा नयाँ विद्युतीय सवारी (ईभी) ब्राण्डहरुले अटो शोमा प्रवेश गरेका छन् । पुरानै कम्पनीहरुले पनि ईभीलाई अटोशोमा प्रदर्शन गरेका छन् ।

टाटा, महिन्द्रा, हुण्डाई, सुजुकी, बीवाईडी, एमजी, किया, बीएमडब्ल्यूजस्ता पहिलेदेखिका ब्राण्डमात्रै होइन डिपल, अवतार, भिनफास्ट, काइवी, जिकर, लुमिन, लिपमोटर, स्काईवेल, रिडारा, आयोन, सिट्रोन, एक्स–पेङ, ओमोडा, भोल्ट्स लगायत ब्राण्ड अब नेपाली बजारमा ‘सर्वसुलभ’ बन्न थालेका छन् ।

यी नयाँ ब्राण्डहरुमध्ये अधिकतर हाम्रै छिमेकी मुलुक चीनले उत्पादन गरेका हुन् । कोभीड महामारीभन्दा पछि अर्थात् सन् २०१९ देखि यता चीनमा एक दर्जनभन्दा बढी ब्राण्ड र २०० भन्दा धेरै नयाँ मोडलका विद्युतीय गाडीहरुको उत्पादन भएको छ । सरल भाषामा भन्दा चीनले विश्व बजारमा विद्युतीय सवारीको बाढी नै चलाएको छ ।

चीनको सहयोगी सरकारी नीतिहरु, बलियो माग, प्राविधिक सुदृढिकरण र आन्तरिक तथा बाह्य खेलाडी (लगानीकर्ता)हरुको आक्रामक लगानी नीतिले यो बाढी ल्याउन सम्भव भएको हो ।

कसरी उदायो चीन ?

सन् २०२२ मा विश्वब्यापी कार विक्रीको १४ प्रतिशत हिस्सा विद्युतीय कारले लिएको थियो । २०२३ मा त्यो हिस्सा बढेर १८ प्रतिशतको नजिक पुग्यो । यो साल २० प्रतिशत सहजै नाघ्ने अनुमान अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले गरेको छ । उसका अनुसार २०२४ मा विश्वभर १ करोड ७० लाख इलेक्ट्रिक कार विक्री हुने अनुमान छ, जुन गत वर्ष १ करोड ४० लाख विक्री भएको थियो ।

यो विक्रीको ठूलो हिस्सा चीनमै आधारित छ । सन् २०२३ मा चीनमा मात्रै ६० प्रतिशत ईभी कार विक्री भएको थियो । २५ प्रतिशत युरोपमा र १० प्रतिशत हाराहारी मात्रै अमेरिकामा विक्री भएको आईईएले जनाएको छ । चीनमा अहिले नै पेट्रोलियम इन्जिनबाट चल्ने कारभन्दा ईभी कार सस्तो परिसकेको छ । तर युरोप र अमेरिकामा भने देश एवम् कार ब्राण्ड अनुसार १० देखि ५० प्रतिशतसम्म महँगो परिरहेको छ ।

यो अवस्था आउनुमा चीनको सहज सरकारी नीति, कर छुट तथा वित्तीय सहायता, अनुसन्धान र विकासमा भएको ठूलो खर्च, नयाँ डिजाइनको लहर, अटोमेशन, ब्याट्रीको प्रविधीमा पाएको सफलता र चार्जिङ स्टेशनमा गरेको आक्रामक लगानी जस्ता कयौँ कारण छन् ।

यसमा चीनलाई सफलता मिल्नुका मुख्य दुई कारण जान्ने हो भने चाहीँ त्यहाँको सस्तो श्रम शक्ति र ब्याट्री उत्पादनमा चीनको नियन्त्रण मुख्य हुन् ।

चीनको हातमा ‘ब्याट्री’

ब्लुम्बर्गका अनुसार सन् २०१० मा प्रतिकिलोवाटघण्टा ब्याट्रीको उत्पादन लागत ११ सय अमेरिकी डलर थियो । २०२१ मा आउँदा त्यो घटेर १३२ डलरमा झरेको छ । कम्पनीहरुले अबको केही वर्षभित्रै यस प्रकारको उत्पादन लागत १०० डलरभन्दा पनि कम मूल्यमा झार्ने लक्ष्य राखेका छन् ।

त्यही ब्याट्रीले ईभीको कुल लागतमध्ये ३० देखि ४० प्रतिशत हिस्सा ओगट्छ । यही कारण पछिल्ला वर्षमा चीनले विश्वमै सस्तो विजुली गाडी बेचिरहेको छ । किनकी, ब्याट्री उत्पादनमा चीनको एकाधिकारजस्तै छ । चीन सरकारले ब्याट्री उत्पादकहरुलाई लामो समयदेखि वित्तीय अनुदान दिँदै आएको थियो ।

यस्तो अनुदान ‘रेञ्ज’का आधारमा प्राप्त हुन्थ्यो । अर्थात् कुनै पनि कम्पनीले उत्पादन गर्ने ब्याट्री ‘एक पल्ट चार्ज गरेपछि कति लामो दूरी पार गर्न सकिन्छ’ भन्ने इफिसियन्सीका आधारमा अनुदान पाइने व्यवस्था थियो ।

यस प्रकारको नीतिले उत्पादक कम्पनीहरुबीच इफिसियन्सी बढाउने होड चल्यो । अहिले उनीहरुले औसत ४०० देखि ५०० किलोमिटर रेञ्जका ब्याट्री उत्पादन गरेका छन् । जुन कुराले विश्व बजारमा ईभीको स्वीकार्यता बढाउन अहम् भूमिका निर्वाह गरेको छ ।

२०२३ को आँकडा हेर्ने हो भने विश्वको करीब ७९ प्रतिशत ब्याट्री उत्पादन चीनले गरेको थियो । चीनको कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी (क्याटल)ले मात्रै विश्वब्यापी लिथियम आयन ब्याट्र सेलको उत्पादनमा ३४ प्रतिशत हिस्सेदारी लिन्छ । बीवाईडी विश्वको अर्को ठूलो ब्याट्री सेल उत्पादक हो ।

ब्याट्रीमा प्रयोग हुने धातुहरुको प्रशोधनमा पनि चीन विश्वमै अग्रणी छ । विश्वब्यापी लिथियम प्रशोधन क्षमताको ६० प्रतिशतभन्दा ठूलो हिस्सा चीनको हातमा छ । विश्वकै करीब ८० प्रतिशत कोबाल्ट र त्योभन्दा धेरै ग्रेफाइट प्रशोधन सामथ्र्य पनि उसैसँग छ । निकल प्रशोधनमा पनि उही अग्रणी छ ।

सस्तो उत्पादन लागत

कच्चा पदार्थहरुमा आफ्नै प्रभूत्व, सस्तो श्रम शक्ति, ब्यापक ठूलो उत्पादन सामथ्र्य र प्रभावकारी मूल्य श्रृङ्खलाका कारण आज पनि अरु देशको तुलनामा चीनमा ईभी उत्पादन लागत २० देखि ३० प्रतिशतसम्म सस्तो पर्ने गरेको छ ।

चीनले बाँकी विश्वमा बेच्नु अघि आफ्नै देशलाई ईभीमय बनाएको छ । यसका लागि उसले चार्जिङ स्टेशनजस्ता पूर्वाधारको विस्तारमा असाधारण लगानीमात्रै गरेको छैन, ईभीका उत्पादक र उपभोक्ता दुबैलाई कयौँ छुट र सहुलियत दिएको छ ।

चीनमा १० प्रतिशत सवारीसाधन खरीद कर लाग्छ । तर ईभी खरीदमा यस्तो कर छुट दिइएको छ । बारम्बार छुट अवधि लम्ब्याउँदै चीनले २०२५ सम्म यस प्रकारको छुट कायम रहने भनेको छ । भ्याट छुट र संस्थागत आयकरमा पनि सहुलियत दिएको छ ।

यसको जगमा अहिले नै चीनको अर्थतन्त्रमा ईभी र यसका कच्चा पदार्थहरुको उद्योगले ३ देखि ५ प्रतिशतको योगदान गरिरहेको बताइएका छन् । भविष्यमा चीन सरकारले ईभीमा आफ्नो आधिपत्यलाई थप मजबूत बनाउँदै लाने निश्चित छ । यसले उसको अर्थतन्त्रमा झनै ठूलो योगदान ईभीले दिने छ ।

नेपाललाई के फाइदा ?

तर नेपालमा ईभीलाई सहुलियत दिँदा गत आर्थिक वर्षमा मात्रै ४० अर्ब हाराहारी राजस्व नोक्सान भएको भनेर तत्कालिन अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका थिए ।

एक जना चिनिएका अर्थशास्त्री एवम् आईआईडीएस नामक थिंकट्यांकका कार्यकारी निर्देशक डा. विश्वास गौचनले कयौँ सार्वजनिक मञ्च र सञ्चारमाध्यम मार्फत् ‘ईभीमा दिइएको सहुलियतका कारण उपल्लो आर्थिक अवस्था भएको वर्गले मात्रै लाभ पाउने’ बताउँदै आएका छन् ।

उनले नेपालमा ईभीलाई यति धेरै सहुलियत दिइनु उचित नभएको बताउँदै आएका छन् । सरकारले पनि क्रमशः ईभीमा कर बढाउँदै लगेको छ । यसै वर्षको बजेटमार्फत् ईभीमा १० प्रतिशत विन्दुले कर बढाइएको थियो ।

अहिले पनि धेरै विक्री हुने गाडीहरुमा भन्सार महशुल र अन्तःशुल्क गरेर २० देखि ३५ प्रतिशतसम्म कर लाग्छ । सरकारले ईभीका लागि उच्चतम राजस्व सीमा १३० प्रतिशत राखेको छ । तर पेट्रोलियम गाडीमा भन्सार विन्दुमै २८० प्रतिशतसम्म कर तिर्नुपर्छ भने हरेक साल महँगो मूल्यमा सम्पत्ती कर बुझाउनु पर्छ ।

अर्कोतिर बैंक फाइनान्सिङमा पनि उस्तै भिन्नता छ । पेट्रोलियम गाडी किन्न चाहनेले आधा पैसा सुरुमै चुक्ता गरेर बाँकी आधा मूल्यमा मात्रै बैंकबाट ऋण लिन पाउँछ । तर ईभी लिनेले जम्मा मूल्यको २० प्रतिशत पैसा तिरे पुग्छ । बाँकी ८० प्रतिशत बैंकले ऋण दिन्छ र त्यसको किस्ता विस्तारै तिर्दै गर्न पाइन्छ ।

यी सुविधाका कारण नेपालमा पनि ब्यापक मात्रामा ईभी गाडीप्रति मानिसहरुको आकर्षण तानिएको छ ।

यसर्थ, दुई वर्षदेखि सुस्त देखिएको नेपाली अर्थतन्त्र अहिले केही चलायमान हुन थालेको छ । यही मौकामा ईभीको कारोबार बढ्ने हो भने त्यसले रोजगारी र ब्यापार तथा राजस्वमा केही राहत दिन सक्छ । यस निम्ति भने नाडा अटो शोले चिनियाँ ब्राण्डका गाडीहरुको प्रदर्शन गरेर पनि देशलाई केही रौनक भर्न पक्कै सक्ने छ ।


प्रतिक्रिया दिनुहोस्