साहसिक यात्राको प्रतीकः रोयल इनफिल्ड हिमालयन ४५०, युवाकाे पहिलाे राेजाई बन्न सक्छ !

काठमाडौं । दशकौँ पूर्व युरोपेली, अमेरिकीहरुले ‘सांग्रीला’ र ‘हेभन’ अर्थात् स्वर्ग भन्ने गरेको नेपालको पहिचान नै यहाँको भौगोलिक विविधता हो । सिंगै पृथ्वीको ‘कान्लो’जस्तो देखिने भूखण्डमा हामी छौँ । गंगा मैदानको समथर तराईलाई धर्तिको तेस्रो ध्रुव भनिने तिब्बतको पठारसँग जोड्ने कान्लोमा हाम्रो बास छ ।
यहाँका विकट पहाड र हिमालय श्रृङ्खलाहरु हाम्रो वैभव पनि हुन्, जसले हरेक साल लाखौँको संख्यामा साहसिक पर्यटकहरुलाई तानिरहेको छ । यही साहसिक ठाउँमा यदी तपाइँ टु ह्वीलरबाट यात्रा गर्न चाहनुहुन्छ भने अहिलेसम्म उपलब्ध विकल्पहरुमा सर्बोत्कृष्ट छनोट हुनसक्छ, रोयल इनफिल्डको मोटरसाइकल– हिमालयन ४५० ।
रोयल इनफिल्डको बहुप्रतिक्षित मोटरसाइकल हिमालयन ४५० नेपाल बजारमा सार्वजनिक भएको छ । कम्पनीले नाडा अटो शो २०२४ मा हिमालयन ४५० सार्वजनिक गरेको हो ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ हो । त्रिवेणी समूह अन्तरगतको यो कम्पनीले ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँ मूल्य तोकेर हिमालयन ४५० सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त बाइक वीरगञ्जमा रहेको आफ्नै एसेम्बल प्लाण्टमा उत्पादन गरेको हो । नेपालमा बीएस फोर इञ्जिन भएको पुरानो हिमालयन ८ लाख ९८ हजार रुपैयाँमा विक्री भइरहेको थियो ।

रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड सिस्टम र ४ भल्भ इन्जिन जडित छ । कम्पनीले पहिलो पटक हिमालयनमा लिक्विड कुल्ड इन्जिन प्रयोगमा ल्याएको हो ।
‘शेर्पा’ नाम दिएर ल्याएको इन्जिन पुरानो हिमालयनभन्दा १० किलो कम तौलमा उपलब्ध छ । यस इन्जिनले ८ हजार आरपीएममा अधिकतम ४०.२ पीएस पावर दिन्छ । साथै ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।
यसले अप्ठेरो बाटोमा विस्तारै मोटरसाइकल गुडाउँदा पनि उच्चतम क्षमतामा चल्ने हुन्छ, जुन उकालो अफरोडका लागि बढी लाभदायक हुने छ ।
फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच लगायतका सुविधा उपलब्ध छन् । त्यस्तै युएसडी फोर्क र प्रिलोड–एडजस्टेबल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट, ६ स्पिड गियरबक्स लगाएतका फिचर पाउन सकिन्छ ।

यो बाइकमा गुगल म्याप डेटा हेर्न र गीतलाई प्लेब्याकमा नियन्त्रण गर्न पनि सकिन्छ । अगाडीतिर ३२० एमएमको डिस्क र पछाडीपट्टी २७० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा ड्युअल च्यानल एबीएस उपलब्ध छ । पछाडीको एबीएस च्यानललाई बन्द गर्न सक्ने गरी म्यानुअल अपरेशन सिस्टम पनि दिइएको छ ।
मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २३० एमएम छ । सीटको उचाइ ८२५ एमएम भए पनि यसलाई २० एमएम तल वा २० एमएम माथि हुने गरी एडजस्ट गर्न सकिन्छ ।
यो बाइकमा इको र परफरमेन्स गरी जम्मा दुई वटा राइडिङ मोड उपलब्ध छन् । एड्भेन्चर मोटरसाइकलको रुपमा आएको नयाँ हिमालयन रोयल इनिफल्डको त्यस्तो बाइक हो, जुन राइडर–बाई–वायर प्राप्त गर्ने पहिलो बाइक बनेको छ ।