दशैंमा बाइक र स्कुटर छानीछानी किन्ने होइन त ? यस्ता छन् ग्राहक तान्न कम्पनीहरुले ल्याएको अफरहरु « Arthapath.com
२ आश्विन २०८१, बुधबार

दशैंमा बाइक र स्कुटर छानीछानी किन्ने होइन त ? यस्ता छन् ग्राहक तान्न कम्पनीहरुले ल्याएको अफरहरु



काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैं, तिहार तथा छठ लगायतका चाडपर्व नजिकिएको छ । दशैं तिहारजस्ता ठूला चाडपर्व सवारी साधन बिक्रेता तथा खरिदकर्ता दुवैका लागि फलदायी हुने समय हो ।

यति बेला चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन बिक्रेताहरु पनि ग्राहक आकर्षण गर्न विभिन्न किसिमका अफरहरु ल्याएका छन् । कम्पनीहरुले ल्याएका चाडपर्व लक्षित विभिन्न अफरहरुले सवारी खरिद गर्न चाहनेहरुलाई धेरै नै आकर्षिक गर्ने गरेको छ ।

ग्राहकले पनि विभिन्न सेवा सुविधा र छुट पाइने भएकाले नै दशैं तिहारमा नै नयाँ बाइक तथा स्कुटर खरिद गर्ने योजना बनाएका हुन्छन् । अफरमा फरक फरक ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुट, सहज फाइनान्स, सस्तो किस्ता बन्दी लगायत बम्परमा चार पाङ्ग्रे सवारी उपहार पाइनेसम्मका सुविधा पाइनेछन् ।

यसपालिको दशैं तिहारमा दुई पाङ्ग्रे सवारी खरिदमा विभिन्न छुट लगायत सुविधा पाइनेछन् । कम्पनीहरुले चाडवाडको समयमा नगद छुट, सहज फाइनान्सको सुविधा, पार्ट पुर्जामा सुविधा, सवारी करमा छुट, सस्तो मासिक किस्ताबन्दी लगायतका योजना धमाधम ल्याईरहेका छन् ।

शतप्रतिशत क्यासब्याकदेखि विदेश भ्रमण गराउनेसम्मका अफर ल्याएका छन् । कम्पनीहरुले आफ्नो ब्राण्ड बिक्रीका लागि ग्राहकहरूको उत्साहमा रोमाञ्चकता थप्न केही न केही योजना सार्वजनिक गरिरहेका हुन्छन् । यति बेला विभिन्न कम्पनीहरुले बाइक र स्कुटरमा ग्राहकहरु आकर्षित गर्न अफरहरु ल्याइरहेका छन् ।

कुन ब्रान्डको मोटरसाइकल र स्कुटर किन्दा कस्तो अफर ?

सिजी मोटर्सको एक्कासी मालामालः हिरो बाइक किन्दा बम्परमा नेटा भि इभि कार

सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो ।

हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्न सकिने छ । यसका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको छ । कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ । हाल देशैभरीका शोरुपबाट हिरोका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले यो सुविधा उपभोग गर्न सक्नेछन् ।

बजाजको ‘क्यास सफारी’: १ लाखसम्म क्यास जित्न सक्ने

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ ।

‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ । बजाजको योजना अन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा स्योर सट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् । त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन् ।

बजाजले ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । बजाजले सहज फाइनान्सको सुविधा पनि दिइएको छ । दशैं तिहारको अफरमा ५० प्रतिशत डाउनपेमेन्ट गरि बजाज बाइक तथा स्कुटर खरिद गर्न सकिने छ । कम्पनीले शून्य प्रतिशत ब्याजदरमा सहज किस्ता बन्दीको सुविधा समेत दिइएको छ ।

यामाहाको ‘बिगेस्ट १०शैं’, १० लाख जित्ने मौका

यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पनि १० लाख रुपैयाँ जित्न सकिने अफर ल्याएको छ । नेपालमा लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले चाडपर्वलक्षित गर्दै स्पेशल अफर सार्वजनिक गरेको हो ।

कम्पनीले दशैं, तिहारमा यामाहाका बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकलाई मध्यनजर गर्दै ‘बिगेस्ट १०शैं’ योजना ल्याएको छ । उक्त अफर अन्तर्गत यामाहाका दुई पाङ्ग्रे सवारी खरिद गर्दा दश लाख रुपैयाँसम्म जित्न सकिने छ । यद्यपि, यो क्यासब्याकमा पाउने छन् ।

नयाँ सवारीको खरिदमा कम्पनीले एक्सचेन्जको सुविधा तथा सहज फाइनान्सको व्यवस्था पनि मिलाएको छ । १० वर्ष वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा सहज किस्ता बन्दीको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

होन्डाको बाइक तथा स्कुटर किन्दा १ लाखसम्म नगद छुट, कुपन मार्फत १० लाख जित्ने मौका !

होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ अफर ल्याएको छ ।

यो अफर होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपन मार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने छ ।

ग्राहकले ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५०० रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकले होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् ।

सुजुकीको ‘दशैँ आयो क्यास पायो’ स्कीम, ५ लाखसम्म नगद पाइने

सुजुकीले पनि ‘दशैँ आयो क्यास पायो’ स्कीम ल्याएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले ल्याएको ‘दशैँ आयो क्यास पायो’ अफर ल्याएको हो ।

अफर अन्तर्गत सुजुकी ब्रान्डको मोटर साइकल तथा स्कुटर खरिदमा न्युनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् । दशैं तिहार लगायतको चाडपर्वमा सुजुकीका दुई पाङ्ग्रे सवारी किन्दा ५ वर्षको वारेन्टी पाइने छन । यसका साथै निःशुल्क ५ वर्षसम्मको सर्भिसिङ सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

टिभिएसको १० लाख जिन्ने मौका, शतप्रतिशत क्यासब्याक अफर

टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पनि चाडपर्वलाई लक्षित अफर ल्याएको छ । कम्पनीले १० लाख रुपैयाँ जित्ने मौकादेखि शतप्रतिशत क्यासब्याक अफर ल्याएको हो ।

कम्पनीले टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गरि कम्पनीले नयाँ युगको आरम्भ’ नामक अफर ल्याएको छ ।
जगदम्बा मोटर्सका अनुसार टिभिएसको बाइक तथा स्कुटर किन्दा १० लाख रुपैयाँसम्म जित्न सकिने छ । यसका साथै हरेक साता १०० प्रतिशत क्यास ब्याक जित्ने मौका पनि दिएको छ । कम्पनीले वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा एक्सचेन्ज सुविधा दिइएको छ । यसका साथै ग्यारेन्टी बिनाको सहज फाइनान्स सुिवधा पनि रहेको कम्पनीले जनाएको छ ।

भेस्पा र अप्रिलिया ब्रान्डको स्कुटर किन्दा ७५ हजारसम्म छुट, स्मार्ट फोन र स्मार्ट वाच पनि पाइने

भेस्पा र अप्रिलिया ब्रान्डको स्कुटर खरिदमा पनि विभिन्न आकर्षक सुविधाहरु पाइने भएको छ । चाडपर्वलाई लक्षित गर्दै आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले ‘खुशी तीन गुणा’ नामक अफर ल्याएको छ ।

सो अफरअन्तर्गत भेस्पा र अप्रिलिया स्कुटरको हरेक खरिदमा १० हजार देखि ७५ हजार रुपैयाँसम्म नगद छुट पाइने छ । यसका साथै ६ हजार रुपैयाँ बराबरको स्मार्ट वाच उपहारमा पाउने छन् । कम्पनीका अनुसार चाडपर्वमा भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्दा हरेक हप्ता होनर २०० फाइभ जी मोडलको स्मार्ट फोनसमेत जित्न सकिने छ ।

यस्तै सहज फाइनान्सको सुविधा पनि व्यवस्था गरेको छ । यस्तै, बम्पर उपहारको रूपमा एक जोडीलाई ५ दिनको वाली टुर गराउने कम्पनीले जनाएको छ । ग्राहकले आफूसँग भएको पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर नयाँ स्कुटरसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले बताएको छ ।

सिएफमोटो र जिहो ब्रान्डका बाइक तथा स्कुटर किन्दा

दशैं, तिहार लगायतको चाडपर्वको अवसरमा सिएफमोटो र जिहो ब्रान्डको बाइक तथा स्कुटर किन्दा आकर्षक सुविधाहरु पाइने भएको छ ।

दुवै ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आकर्षक छुट र थप सुविधा प्राप्त गर्ने अफर ल्याएको हो ।

सिएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार मूल्य बराबरको फ्रि एसेसरिज पाउन सकिने छ । हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस२ हेल्मेट पाउन सकिने छ । यसैगरी जिहो ब्रान्डको एई६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ । साथै एई४ मा १५ हजार र एई८ मा १० हजार रुपैयाँ नगद छुट पाउन सकिने छ ।

आगामी कात्तिक २५ गते सम्मसम्म विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सिएफमोटो वा जिहो ब्रान्डका बाइक वा स्कुटर साट्न समेत सकिने कम्पनीले जनाएको छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधा समेत उपलब्ध छ ।

केटीएम ड्युक किन्दा ज्याकेट, एक्सचेञ्ज गर्दा १५ हजार थप

केटीएम नेपालले पनि दशैं, तिहार लगायतका चाडपर्व लक्षित योजना ल्याएको छ । कम्पनीले ‘फेस्टिभ सिजन विथ केटी’ नामक योजना ल्याएको हो ।

कम्पनीले केटीएमका जुनसुकै पनि बाइक खरिदकर्तालाई केटीएम ज्याकेट प्रदान गर्ने भएको छ । ज्याकेटले राइडरलाई सुरक्षित गराउने कम्पनीको दावी छ । यस्तै, कम्पनीले एक्सचेञ्ज अफर पनि ल्याएको छ । पुराना बाइक एक्सचेन्ज गर्दा मूल्यांकनको १५ हजार रुपैयाँ थप गरिदिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्