नयाँ मोडल आएपछि मारुती डिजायरको ब्यापारमा उछाल « Arthapath.com
२३ असार २०८२, सोमबार

नयाँ मोडल आएपछि मारुती डिजायरको ब्यापारमा उछाल



काठमाडौँ । भारतको सबैभन्दा ठूलो कार निर्माता मारुति सुजुकीले हालैमात्र डिजायर मोडलको गाडीलाई नयाँ ‘अपडेटेड भर्सन’मा ल्याएको थियो । पहिले स्वीफ्ट डिजायर भनिने यो मोडललाई अचेल डिजायरमात्रै भनिन्छ । नयाँ र आधुनिक फिचर्सहरु थपिएर आएको यो गाडीको विक्रीमा ब्यापक बृद्धि भएको छ ।

गत अक्टोबर अर्थात् चार्डपर्वको मौसममा यो गाडीको विक्री ह्वात्तै बढ्यो । नयाँ भर्सनमा आएको यो मोडलले भारतीय बजारमा ब्यापक क्रेज (लोकप्रियता) बटुलेको छ ।

एसयूभी र ह्याचब्याकको कडा टक्करका बीच भारतमा सेडान कार किन्नेहरुको बेग्लै वर्ग छ । यस बर्गमा डिजायर सबैभन्दा लोकप्रिय देखिएको छ । यो कार गत अक्टोबरमा मात्रै १२,६९८ वटा विक्री भएको छ । यो अघिल्लो महिनाको तुलनामा १७ प्रतिशत बढी हो ।

मारुतीले गत कात्तिकमा डिजायरको चौँथो पुस्ताको गाडी सार्वजनिक गरेको थियो । यसमा कयौँ सुरक्षा फिचर्स र आधुनिक प्रविधिहरु जडान गरिएका छन् । कम्पनीले जम्मा ११ हजार रुपैयाँ तिरेर ‘प्रि–बुकिङ’ गर्न पाइने सुविधा दिएकाले धेरै मानिसले यो कार मन पराएका थिए ।

हुण्डाईको औरा, होण्डाको अमेज, टाटाको टिगोरजस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने ठानिएको डिजायरले घरेलु बजारमा यी सबैलाई उछिनेर लोकप्रियताको शिखर हासिल गरेको छ ।

हुण्डाई औरा भारतीय बजारमा डिजायरपछि दोस्रो धेरै बिकेको सेडान कार हो । सेप्टेम्बरको तुलनामा ८ प्रतिशतको बढोत्तरीसँगै औरा मोडलको गाडी पनि अक्टोबरमा ४,८०५ थान विक्री भएको छ । भलै यो संख्याको हिसाबले डिजायरको तुलनामा करीब एक तिहाईमात्रै हो ।

होण्डा अमेज पनि भारतीय बजारमा एक महिनामै २,३९५ जनाले किनेका छन् । यो गाडीको विक्री भने सेप्टेम्बरको तुलनामा १५ प्रतिशत खुम्चिएको छ । यसले भारतीय बजारमा होण्डाको सेडानप्रति मानिसहरु अनिच्छुक देखिएको वा अन्य ब्राण्डप्रति ज्यादा लचक देखिएको संकेत गर्छ ।

मासिक आँकडामा ३८ प्रतिशतको बृद्धि निकालेर दिवालीको मौसममा ज्यादा लोकप्रिय बनेको अर्को ब्राण्ड हो, फक्सवागन । यसको विर्तुस (ल्याटिन भाषामा यसको अर्थ शक्ति हुन्छ) मोडलको कार अक्टोबरमा २,३५१ ग्राहकले खरीद गरेका थिए । यो भारतमा सर्वाधिक बिक्री हुने ‘मिडसाइज सेडान’ हो ।

स्कोदाको स्लाभिया पनि भारतमा बढी बिक्नेमा पर्छ । अक्टोबरमा यो गाडी १,६३७ थान विक्री भएको थियो । यो अघिल्लो महिनाको तुलनामा १८ प्रतिशतको बढोत्तरी हो । भारतीय बजारमा मिड–साइज सेडानको विक्री बढ्दै गएको आँकडा यसबाट पनि पुष्टि हुन्छ ।

हुण्डाई भरना पनि गत महिना १,२७२ वटा बिकेको छ । यो मासिक रुपमा ६ प्रतिशतको बृद्धि हो । होण्डा सीटीको विक्री पनि अघिल्लो महिनाभन्दा १२ प्रतिशत बढेर १ हजार ४ थान पुगेको छ । त्यस्तै, टाटा टिगोर ३ प्रतिशत बढेर ९२६ वटा बिकेको छ । मारुति सिआजको विक्री भने केही घटेर ६५९ मा झरेको छ ।

भारतमा सबैभन्दा पपुलर प्रिमियम सेडानमध्ये एक टोयोटा क्याम्री पनि अघिल्लो महिनाको तुलनामा ३९ प्रतिशत विक्री बृद्धि भएर १७६ पुगेको समाचारहरुमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्