नेपाल भित्रियो ११ अर्ब २७ करोड बराबरको साढे ४ हजार बढी इभि, मासिक कति आयात हुन्छ ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

नेपाल भित्रियो ११ अर्ब २७ करोड बराबरको साढे ४ हजार बढी इभि, मासिक कति आयात हुन्छ ?



काठमाडौं । पाँच महिनामा साढे ४ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् ।

भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१-८२ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा विभिन्न ब्रान्डमा ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बराबरको ४ हजार ६९७ वटा इभी आयात भएका छन् ।

हाल नेपालमा चीन, भारत, जर्मर्नी, कोरिया र अमेरिकाका विद्युतीय गाडी आयात हुँदै आएका छन् ।

मासिक औसतमा ९३९ वटा इभी नेपाल भित्रने गरेको विभागको आँकडाले देखाउँछ । विभागका अनुसार मंसिर महिनामा मात्रै २ अर्ब ९० करोड ११ लाख रुपैयाँ बरारबको १ हजार २१० वटा इभि आयात भएका छन् ।

यस्तै, गत कात्तिक महिनामा पनि ९६९ वटा, असोजमा ९१६ वटा, भदौमा १ हजार २२१ वटा र गत साउन महिनामा ३८१ वटा इभि आयात भएका थिए ।

पाँच महिनामा विद्युतीय सवारी आयातबाट सरकारले भने ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । मंसिर महिनामा मात्रै १ अर्ब ७७ करोड ७ लाख रुपैयाँ राजश्व उठेको थियो ।

यस्तै, कात्तिकमा १ अर्ब ४४ करोड ६५ लाख, असोजमा १ अर्ब ४३ करोड ३२ लाख, भदौमा १ अर्ब ७९ करोड ३ लाख र साउन महिनामा ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

पाँच महिनाको अवधिमा सबैभन्दा धेरै इभि चीनबाट आयात भएका छन् । विभागका अनुसार मंसिर मसान्तसम्ममा ३ हजार ५८९ वटा इभि आयात भएको छ । चीनबाट सो अवधिमा ९ अर्ब १७ करोड ५८ लाख रुपैयाँ बराबरको इभि आयात भएको हो । कुल आयातमा यो ८१.४० प्रतिशत हुन आउँछ । अर्थात् नेपाली इभि बजार चिनिया गाडीको कब्जामा देखिएको छ । चीन बाहेकका अन्य मुलुकबाट मात्रै १९ प्रतिशत हाराहारीमा इभि नेपाल भित्रने गरेका हुन् ।

यस्तै, भारतबाट २ अर्ब १ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार ९६ वटा, जर्मनीबाट ६ करोड ५५ लाख बराबरको ९ वटा, अमेरिकाबाट ८२ लाख बराबरको २ वटा र कोरियाबाट ७९ लाख बराबरको १ वटा इभि आयात भएका छन् ।

विभागका अनुसार नेपालमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका इभि आयात हुने गरेको छ । पाँच महिनाको अवधिमा यस्तो क्षमताका २ हजार ७५७ वटा इभि आयात भएका छन् ।

यस्तै, ५० किलोवाट क्षमतका १ हजार ४९० वटा, १०१ देखि २०० किलोवाटका ४४३ वटा, २०१ देखि ३०० किलोवाटका ५ वटा र ३०० किलोवाटका मोटर पिक पावर २ वटा आायत भएका छन् ।


प्रतिक्रिया दिनुहोस्