गोगोरो स्कुटर खरिदका लागि आइसिएफसि फाइनान्सले ऋण दिने

काठमाडौं । आइसिएफसि फाइनान्सले नेबुला मोबिलिटी–गोगोरोसँग एक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । उक्त साझेदारीमा, अब नेबुला मोबिलिटीको विद्युतीय स्कुटर गोगोरो खरिद गर्ने ग्राहकहरूलाई खरिदको लागि आइसिएफसि फाइनान्सले ऋण सुविधा प्रदान गर्ने भएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै आइसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले यो साझेदारीसँगै नयाँ प्राविधिक क्षेत्रका लागि वित्तीय सुविधा विस्तार गर्ने बताए । सस्तो अनि दिगो यातायातको प्रवर्धनमा सहयोग पुर्याउन इच्छुक रहेको उनको भनाइ छ । नेबुला मोबिलिटीको गोगोरो स्कुटर पर्यावरणमैत्री उत्पादन भएको प्रतिबद्धता जनाउँदै देशको इन्धन खपतलाई न्यूनतम राखी आर्थिक उन्नतिमा टेवा पुर्याउने समेत उनको विश्वास थियो । नेबुला मोबिलिटीसँग मिलेर नेपालका ग्राहकहरूलाई नयाँ अवसर प्रदान उनले बताए ।
नेबुला मोबिलिटीका अध्यक्ष मनोज कुमार गोयलले यस सम्झौतासँगै ग्राहकहरूको लागि वित्तीय पहुँचलाई सहज बनाउने र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने विश्वास व्यक्त गरे ।
नेबुला मोबिलिटीको गोगोरो स्कुटरमा ब्याट्री फेर्न मिल्ने सुविधा भएकाले, कम्पनीले तोकेको स्टेशनमा गई पूर्ण चार्ज भएको ब्याट्री राख्न सकिने हुँदा अब ग्राहकहरू घरीघरी ब्याट्री चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त भएको उनले बताए ।
यो सम्झौताले नेपालका उपभोक्ताहरूलाई डिजिटल र पर्यावरणमैत्री गोगोरो इलेक्ट्रिक स्कूटरहरूको खरिदमा सहजता पुर्याउनेछ। ग्राहकहरूले अब आइ.सि.एफ.सि. फाइनान्सको ऋण सुविधा मार्फत आफ्नो आवश्यकता अनुसार सजिलै वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले नेपालको सस्तो, दिगो, स्वच्छ पर्यावरणमैत्री यातायात प्रणालीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।