एमजीले ल्यायो ‘भ्यालू फर मनी’ भेहिकल, नेपालीलाई सस्तोमै राम्रो गाडि चढ्ने मौका

काठमाडौं। करीब ७ महिनाअघि परीक्षणका दौरान युरोपेली सडकमा कुदेको एमजीको एस–फाइभ विद्युतीय गाडी (ईभी) अब नेपाली बजारमा पनि उपलब्ध भएको छ । उक्त गाडी किन्न चाहनेले अब धमाधम बुकिङ सुरु गर्दा हुन्छ ।
नेपालको लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीवार एमजी एस–५ सार्वजनिक गरेको हो।
कम्पनीले एस–५ ईभीलाई तीन भेरियन्टमा सार्वजनिक गरेको छ । यसको सुरुआति भेरियण्ट ४९.१ किलोवाट कम्फर्टको मूल्य ४३ लाख ९९ हजार तोकिएको छ भने त्यति नै ब्याट्री क्षमताको लक्जरि भेरियन्टको मूल्य ४९ लाख ९९ हजर तोकिएको छ । तर अपग्रेडेड भेरियन्टमा ६२.२ किलोवाट लक्जरिको मूल्य ५४ लाख ९९ लाख रुपैयाँ तोकिएको छ।
आकार र क्षमता

एमजी एस–५ को लम्बाइ ४४७६ मिलिमिटर (एमएम), चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलवेस र १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
यसमा २७३० एमएम लामो ह्वील वेस पाउन सकिन्छ। एसएआइसीको नेबुला प्लेटफर्ममा बनेको एस–५ एसयूभी सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने मोडल हो।
गाडीमा दुई ब्याट्री अप्सन (४९.१ किलोवाट र ६२.२ किलोवाट आवर) पाउन सकिन्छ। यसमध्ये ४९.१ किलोवाट आवरको ब्याट्री प्याकले ३४० किलोमिटर र ६२.२ किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
गाडीमा उपलब्ध एड्भान्स ड्राइभर असिस्ट सिस्टमले ड्राइभिङ डाइनामिक्स उत्कृष्ट हुने कम्पनीको दाबी छ। गाडीको क्याविनमा मिनिमलिस्टिक डिजाइन अप्रोच राखेको छ।
यसको ड्यासबोर्डको बीचमा १५.६ इञ्चको फ्लोटिङ टचस्क्रीन रहेको छ। जहाँ ड्राइभर इन्फर्मेसनको लागि छुट्टै १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ।
अन्य फिचर

फिचरको आधारमा एस–५ उसका बजार प्रतिद्वन्द्वीहरुबीच अब्बल सावित हुन्छ । ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको कारको पीक—टर्क २५० न्यूटन मिटर छ । यसले गाडीलाई अद्भूत परफरमेन्स पस्किने छ ।
हिटेड र भ्यान्टीलेटेड सिट रहेको एस–५ मा ४५३ लिटर क्षमताको बुट स्पेश पाउन सकिन्छ । वायरलेस चार्जर, एमजीको रोटरी गियर नब, इनब्यूल्ट युट्युव, स्पोर्टीफाइ र टिकटक, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले दिइएको छ । यस्ता सुविधाले ग्याजेटको आवस्यकतालाई मज्जासँग परिपुर्ति गरिदिने छ ।
गाडीको पछाडि ५ लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध एस–५ मा एडास २.० प्रयोग भएको छ । यसलाई अहिले बजारमा उपलब्ध एसयूभी मध्ये ‘भ्यालू फर मनी’ मोडल मान्न सकिन्छ ।
लोभ्याउने मूल्य

अहिले बजारमा बिक्री हुँदै आएका बीवाइडी डल्फीन, बीवाइडी एटो–थ्री, सेरेस–थ्री, ओमोडा इ–फाइभ, केई एक्स–थ्री प्रो जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने एस–५ को मूल्य निकै आकर्षक छ ।
पहिलेदेखि नै नेपालको ईभी बजारमा ‘प्राइस वार’ छेडेर उपभोक्तालाई लाभ दिने कोसिसमा जुटेको एमजीले तुलनात्मक रुपमा सस्तो कार नेपाली बजारलाई दिएको छ ।
ब्याट्री टेक्नोलोजीको हिसावले पनि यसमा रहेको विश्वकै सबैभन्दा पातलो डिजाइन तयार भएको ब्याट्री राखिएको छ । रेन्जका हिसावले पनि अन्य प्रतिस्पर्धीलाई कडा टक्कर दिने एस–५ को सानो ब्याट्रीले ३४० र ठूलो ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
स्मरणीय छ, अरु मुख्य चिनियाँ ईभी ब्राण्डहरुमध्ये ओमोडा इ–फाइभ र बीवाइडी एटो–थ्रीको रेन्ज पनि ४३० किलोमिटर भित्रै हो ।