हुवावे पार्टनर सेरेस ग्रुपको शानदार ‘कमब्याक’ : बम्पर नाफा, गिगाफाक्ट्री अब आफ्नै

काठमाडौं । हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुप सन् २०२४ मा बम्पर सवारी बिक्रीको कारण पुनः नाफामा फर्किएको छ ।
कम्पनीले वित्तीय वर्ष २०२४ डिसेम्बर समाप्त आर्थिक वर्षका लागि अनुमानित नाफा ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (अन्दाजी ७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) बराबरको छ ।
यो अघिल्लो वर्षको २.४५ अर्ब युआन घाटा (३३७ मिलियन अमेरिकी डलर) सँग तुलना गर्दा महत्वपूर्ण वित्तीय सुधार मानिएको छ । सेरेसले यो सफलता हुवावेसँगको सहकार्यमा विकास गरिएको ‘सेरेस आइटो’ ब्रान्ड अन्तर्गतका न्यू इनर्जी सवारीसाधन (एनइभी) को उच्च बिक्रीलाई श्रेय दिएको छ ।
कम्पनीका अनुसार गत वर्षको तुलनामा कुल बिक्री ९७ प्रतिशतले बृद्धि भई ४ लाख ९७ हजार युनिट पुगेको छ । विशेषतः न्यू इनर्जी सवारी बिक्री तीन गुणा बृद्धि भई ४ लाख २६ हजार ९०० युनिट पुगेको हो ।
गिगाफ्याक्ट्री अधिग्रहणलाई स्टक एक्सचेन्जको स्वीकृति
सेरेस ग्रुपले हालै ८.१७ अर्ब चिनियाँ युआन (१.१२ बिलियन अमेरिकी डलर) बराबरको सेयर बिक्री योजना अन्तर्गत लंगशेंग न्यू इनर्जी टेक्नोलोजी कम्पनीको अधिग्रहण प्रक्रिया अघि बढाएको थियो, जसलाई शांघाई स्टक एक्सचेन्जले स्वीकृति प्रदान गरिसकेको छ ।
लंगशेंग कम्पनीको प्रमुख सम्पत्ति गिगाफ्याक्ट्री हो, जहाँ हाल सेरेसले आइटो सिरिजको उत्पादन गरिरहेको छ ।
चोंगकिङस्थित यो गिगाफ्याक्ट्रीमा ३ हजार भन्दा बढी रोबोटहरू पूर्ण स्वचालित प्रणालीमा समन्वय गर्दै सञ्चालन भइरहेका छन् । उत्पादन प्रक्रिया १०० प्रतिशत अटोमेटेड बनाइएको छ, जसले गुणस्तर नियन्त्रण, स्थायित्व र उत्पादन स्वायत्तता सुनिश्चित गर्छ ।
यो गिगाफ्याक्ट्री तीन प्रमुख सरकारी लगानी संस्थाहरूः चोंगकिङ इन्डस्ट्री इन्भेस्टमेन्ट फण्ड,
लियाङजियाङ न्यू एरिया डिभेलपमेन्ट एन्ड इन्भेस्टमेन्ट ग्रुप र लियाङजियाङ न्यू एरिया इन्डस्ट्री डिभेलपमेन्ट ग्रुप द्वारा सञ्चालित छ ।
हाल सेरेसले गिगाफ्याक्ट्री भाडामा लिएर सञ्चालन गरिरहेको भए पनि, अधिग्रहण सम्झौता सम्पन्न भएपछि कम्पनीले यसको पूर्ण स्वामित्व प्राप्त गर्नेछ । यसका लागि चीनको सेक्योरिटिज रेगुलेटरी कमिसनको अन्तिम स्वीकृति आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।
बजार मूल्यमा केही गिरावट, तर दीर्घकालीन उकालो
यद्यपि आजको दिनमा सेरेस ‘एसएचएः ६०११२७’ को सेयर मूल्य ५.१ प्रतिशत घटेको छ । मूल्य घटेर १३१.९० युआन (१८.१६ अमेरिकी डलर) मा बन्द भएको छ । समग्र शांघाई बजारमा नै ०.९ प्रतिशत गिरावट देखिएको थियो ।
तर, पछिल्लो १२ महिनाको अवधिमा सेरेसको सेयर मूल्यमा झण्डै १७ प्रतिशत वृद्धि देखिएको छ, जुन दीर्घकालीन लगानीकर्ताहरूका लागि सकारात्मक संकेत हो ।
सेरेस ग्रुपको अन्तर्राष्ट्रिय विस्तार
सिलिकन भ्यालीबाट स्थापना भएको सेरेसले हालसम्म ७० भन्दा बढी देशहरूमा व्यवसायिक उपस्थिति विस्तार गरिसकेको छ । कम्पनी युरोपपियन बजार प्रवेश गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी ब्रान्ड पनि बनेको छ ।
सेरेसले अमेरिका, चीन, इन्डोनेसिया, जर्मनी र जापानमा गरी ६ वटा अत्याधुनिक उत्पादन केन्द्र र ७ वटा अनुसन्धान तथा विकास केन्द्रहरू सञ्चालनमा ल्याइसकेको छ ।
सेरेस ग्रुप चीनका सिमित लाभदायक अटोमोबाइल कम्पनीहरूमध्ये एक हो, जसले सन् २०२५ को पहिलो त्रैमासिकमा १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सन् २०२६ सम्ममा नेपालमा :७, ८ र ९ मोडेलहरू सार्वजनिक गर्ने रणनीति अघि सारेको छ।