कार आयातको शीर्ष स्थानमा टाटा : बिवाईडी, हुन्डाई, नामी र एमजीले कति भित्र्याए ?  « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

कार आयातको शीर्ष स्थानमा टाटा : बिवाईडी, हुन्डाई, नामी र एमजीले कति भित्र्याए ? 



काठमाडौँ । नेपालको अटो मोबाइल बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । परम्परागत इन्धनमा आधारित सवारीसाधन र विद्युतीय गाडी (ईभी) हरूको ठुलो भिडन्त छ ।

ईभीप्रति चासो दिनानुदिन बढ्दैछ, जसले आधुनिक प्रविधि, वातावरणीय सचेतना र वैकल्पिक ऊर्जा प्रयोगको आवश्यकता दर्साउँछ । यसले आयातित इन्धनमा निर्भरता घटाउने दीर्घकालीन सोचलाई पनि प्रतिबिम्बित गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा ईभीको व्यापक विस्तारसँगै नेपाली बजार पनि तीव्र रूपान्तरणको मोडमा उभिएको छ । तर, यो परिवर्तनको बिचमा परम्परागत इन्धनमा आधारित सवारी साधनप्रतिको विश्वास भने अझै मजबुत अवस्थामा देखिन्छ । यसलाई पछिल्लो चार महिनाको गाडी आयातको आँकडाले नै पुष्टि गर्छ । सन् २०२५ को पहिलो साढे चार महिना (जनवरी १ देखि मे १५ तारिखसम्म) को सवारी साधन आयात विवरणले यही दोहोरो प्रवृत्ति स्पष्ट पारेको छ ।

उक्त अवधिमा नेपालमा कुल ५ हजार ८१ युनिट गाडी आएका छन् । त्यसमा सिप्रदी ट्रेडिङमार्फत आयात भएका टाटा मोटर्सका गाडीहरूको सङ्ख्या मात्रै १, हजार १३ युनिट छ । जुन समग्र बजारको १९.९३ प्रतिशत हो । यसले टाटालाई परम्परागत इन्धन आधारित गाडीमध्ये स्पष्ट अग्रस्थानमा स्थापित गरेको छ । अझै पनि आम उपभोक्ताबिच यसको लोकप्रियता कायमै रहेको पुष्टि गरेको छ ।

दोस्रो स्थानका लागि भने विद्युतीय र परम्परागत दुवै खालका ब्रान्डबिच तीव्र प्रतिस्पर्धा देखिएको छ । विद्युतीय गाडी उत्पादनमा अग्रणी बीवाइडीले ६०८ युनिट गाडी नेपाल भित्र्याएको छ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सो सङ्ख्यामा गाडी आयात गरेको हो । बिवाइडीले ११.९६ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

यसैगरी, हुन्डाईले ५६२ युनिट, डोङफेङ नामीले ५५९ युनिट र एमजीले ५२२ युनिट गाडी आयात गरेका छन् । यी तीनै ब्रान्डले भने समानान्तर प्रतिस्पर्धा गरिरहेका छन् । कुल आयातमा हुन्डाई र होङफेङ नामीको हिस्सा क्रमशः ११.०६ प्रतिशत, ११ प्रतिशत र १०.२७ प्रतिशत छ ।

कुल आयातमा टाटा, बीवाइडी, हुन्डाई, डोङफेङ नामी र एमजीको मात्रै आधा बढी हिस्सा छ । यी शीर्ष पाँच ब्राण्डले कुल आयातमा ६४.२२ प्रतिशत योगदान दिएका भछन् । यसले बजारमा सीमित तर बलियो ब्राण्डहरूको वर्चस्व देखाउँछ ।

बाँकी ३५.७८ प्रतिशत हिस्सा भने मारुती सुजुकी, ओमोडा-जेको, केई, चांगान, लीपमोटर, प्रोटोन लगायत ब्राण्डहरूले ओगटेका छन्, जसले विविधतामार्फत प्रतिस्पर्धामा आफ्नो स्थान बनाइरहेका छन् । समिक्षा अवधिमा मारुती गाडी २२७ युनिट, ओमोडा-जेको १८९ युनिट, केई १७९ युनिट, चांगन १६१ युनिट र लीपमोटर १३७ युनिट आयात भएको देखिन्छ ।

यो आँकडाले नेपालमा विद्युतीय प्रविधिको तीव्र प्रवेशको संकेत दिन्छ । तर, परम्परागत इन्धनमा आधारित गाडीहरू भने अझै उपभोक्ताको मूल प्राथमिकतामध्ये एक बनेका छन् ।

नेपालको अटो बजार आज एक प्रकारको दोहोरो धारमा अघि बढिरहेको छ । जहाँ भविष्य विद्युतीय प्रविधितर्फ उन्मुख देखिन्छ । वर्तमानमा परम्परागत इन्धनप्रतिको भरोसा अझै बलियो छ । नेपालको अटोमोबाइल बजारलाई बहुआयामिक, प्रतिस्पर्धात्मक बनाइरहेको छ । परम्परागत इन्धनमा आधारित सवारीसाधन र विद्युतीय गाडीहरूको भिडन्तले नयाँ युगको शुरुवात गरेको छ ।

टाटा आज पनि परम्परागत गाडीहरूको प्रमुख ब्राण्ड बनेको छ । तर बीवाइडी, हुन्डाई, नामी र एमजी जस्ता ब्राण्डहरूले यसको स्थानलाई चुनौती दिइरहेका छन् । टाटा लगायत अन्य पुराना ब्राण्डहरूलाई अब विद्युतीय गाडीहरूको बढ्दो माग र उपभोक्ताका नयाँ प्राथमिकताहरूको अनुसार आफूलाई रूपान्तरण गर्नुपर्नेछ । प्रतिस्पर्धामा अझ रोचक हुनेछ ।


प्रतिक्रिया दिनुहोस्