थाई बजारमा ‘सेरेस ३’ को प्रवेश, पहिलो वर्षमै १ हजार युनिट बिक्री गर्ने लक्ष्य « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

थाई बजारमा ‘सेरेस ३’ को प्रवेश, पहिलो वर्षमै १ हजार युनिट बिक्री गर्ने लक्ष्य



काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो चर्चित मोडल सेरेस ३ को लन्चसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ ।

चीनबाट पूर्णरूपमा आयात गरिएको सेरेस ३ थाइल्याण्डमा एडिसन ईभी कम्पनी लिमिटेड मार्फत उपलब्ध गराइएको हो ।

एडिसन ईभीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाइल्याण्डका लागि एक मात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ ।

सेरेस ३ कम्फर्ट र कम्फट सनरुफ दुईवटा भेरियन्टमा उपलब्ध छ । सेरेस ३ कम्फर्ट मूल्य ६ लाख ७० हजार थाइ भाट र सेरेस ३ कम्फर्ट सनरुफको ६ लाख ९९ हजार ९०० थाइ भाट छ ।

एडिसन ईभीकी डिलर नेटवर्क डेभलपमेन्ट म्यानेजर तञ्जिरा पुरिटपुट्टिफनका अनुसार कम्पनीले निकट भविष्यमा थाईल्याण्डमा एक केन्द्रीय शोरूम स्थापना गर्ने तयारीमा छ ।

साथै, स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै विद्युतीय सवारीको बजार विस्तार गर्ने दीर्घकालीन योजना अघि बढाइएको छ । कम्पनीको लक्ष्य अनुसार सन् २०२५ भित्र ३० वटा डिलर स्थापना गर्ने र पहिलो वर्षमै १ हजार युनिट बिक्री गर्ने लक्ष्य रहेको छ ।

सेरेसको यो पहलले डीएफएसके र सेरेसको दक्षिणपूर्वी एसियाली बजार रणनीतिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । कम्पनीले स्मार्ट प्रविधि, दिगोपन, सहरमैत्री डिजाइन र उपयुक्त मूल्यमा आधारित विद्युतीय सवारी समाधानहरू प्रदान गर्ने उद्देश्य राखेको छ ।

सेरेस ३ थाई बजारमा सेतो, रातो, निलो, कालो र खरानी गरी पाँच रंग विकल्पमा उपलब्ध छ भने भित्री सजावटका लागि कालो र खैरो रंग छनोट गर्न सकिने व्यवस्था गरिएको छ ।

विद्युतीय सवारीको विश्वव्यापी विस्तारमा केन्द्रित रहेको सेरेसका लागि थाइल्याण्डमा भएको यो सुरुवातलाई महत्वपूर्ण रणनीतिक उपलब्धिको रूपमा लिइएको छ ।

एडिसन ईभी जस्ता अनुभवी साझेदारहरूको सहकार्यमा कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति अझ मजबुत बनाउने संकेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्