व्यापारीको ‘स्टकिङ’ रणनीतिले ‘ईभी गोदाम’ बनेको चोभार ड्राइपोर्ट, कुन ब्रान्डको कति गाडी थुप्रियो ? « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

व्यापारीको ‘स्टकिङ’ रणनीतिले ‘ईभी गोदाम’ बनेको चोभार ड्राइपोर्ट, कुन ब्रान्डको कति गाडी थुप्रियो ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा विद्युतीय सवारी (ईभी) मा अहिलेको कर छुटको संरचना परिवर्तन गर्न सक्ने संकेतहरू देखिएसँगै सवारी आयातकर्ताहरू सक्रिय बन्दै गएका छन् ।

बजेट आउनु अघिनै कर वृद्धिको सम्भावित प्रभावलाई न्यून पार्ने रणनीति अनुसार उनीहरू अहिले ‘स्टकिङ’ मा होमिएका छन् ।

त्यसैको प्रत्यक्ष नतिजा अहिले काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहमा देखिएको छ । चोभारमा अहिले ईभीहरूको चाप अत्यधिक बढेको देखिन्छ । ईभीको आयात लहरका कारण अहिले काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह गाडीको पार्किङ स्थलजस्तै बनेको छ, विद्युतीय गाडीहरूको गोदामजस्तै देखिएको छ ।

सरकारले विद्युतीय सवारीमाथि कर बढाउने पूर्वानुमानसहित व्यापारीहरूले बजारमा समयमै गाडी उपलब्ध गराउने उद्देश्यले एकैपटक ठूलो परिमाणमा ईभी भित्र्याएका हुन् ।

विद्युतीय सवारीलाई बढावा दिन सरकारले हालसम्म आयात कर छुट तथा अन्य सहुलियत सुविधा दिँदै आएको छ । तर, अब यस्तो संरचना परिवर्तन हुने संकेतले व्यापारीहरूमा असमञ्जसता सिर्जना गरिरहेको छ । बजेटअघि नै गाडी ल्याएर स्टक गर्नाले कर वृद्धिको असर न्यून हुने उनीहरुको बुझाई छ । कर वृद्धिपछि स्टक गाडीहरु महँगो मूल्यमा बेच्ने रणनीतिमा व्यापारीहरु देखिन्छन् ।

भन्सार विभागका अनुसार गत बैशाखमा मात्रै १९ सय हाराहारीमा विद्युतीय सवारी नेपाल भित्रिएको छ ।

तर, चोभारमा भित्र्याइएका विद्युतीय सवारीमध्ये १ हजार ४५० युनिट गाडी पार्किङमा छन् । तीमध्ये १ हजार ५० युनिट चारपांग्रे सवारी हुन् । ४ सय युनिट दुईपांग्रे सवारी साधन रहेका छन् ।

यी गाडीहरू रसुवागढी र तातोपानी नाकाबाट भित्रिएका हुन् । भन्सार प्रक्रिया सकेपछि सिधै चोभार सुख्खा बन्दरगाहमै पार्किङ गरिएको छ । चोभार सुख्खा बन्दरगाहमा सिधा भन्सार जाँच र पासको व्यवस्था गरिएको छ । परीक्षणदेखि आवश्यक कागजी प्रक्रिया यहीँ सकिने भएपछि आयातकर्ताले चोभारलाई ‘गोदाम’कै रुपमा प्रयोग गरेका छन् ।

यिनै गाडीहरूलाई चाँडै बजारमा पठाउने व्यापारीहरुको तयारी छ । बजारमा पठाउनका लागि परीक्षणका काम पनि भइरहेको छ । केही गाडी बिक्रीका लागि शोरुमतिर पठाउने उनीहरुको तयारी छ ।

कुन-कुन ‘ब्रान्ड’ले भरिएको छ चोभार ?

हाल चोभारमा झन्डै एक दर्जन कम्पनीले विभिन्न ब्राण्डका ईभी राखेका छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार चारपांग्रे गाडीतर्फ सीजी मोटर्स अग्रपंक्तिमा देखिन्छ । सीजीले एवोन भी, एक्सपेङ, दायुन, अवतार र नेटा ब्राण्डका गरेर २९३ युनिट कार चोभारमा उतारेको छ ।

त्यसैगरी एमएडब्लु वृद्धि मोटर्सले दीपल, नामी र सेरेस ब्राण्डका २११ युनिट राखेको छ । यता, एसपीजी अटोमोबाइल्सले ओमोडा÷जेको ब्राण्डका १३९ युनिट, सांग्रिला मोटर्सले लीप मोटर र जीकरका ७९ युनिट चोभारमा राखिएको छ ।

यस्तै, जगदम्बा मोटर्सले प्रोटोन ब्राण्डका १२३ युनिट तथा सांग्रिला इन्टरनेशनल फ्रेटले थप ११८ युनिट कार ल्याएको समितिले जनाएको छ ।

ईभी स्टकमा साना गाडी मात्र होइन, भ्यान र बस पनि समावेश छन् । एनईभी नेपालले ७२ युनिट ईभी भ्यान र १ युनिट बस चोभारमा राखेको छ ।

प्रज्ञान मोटर्सले ५ युनिट भ्यान र साइमेक्स इंकले बीवाइडी ब्राण्डका ४ युनिट ईभी बस ल्याएका छन् । दुईपांग्रे तर्फ सबैभन्दा धेरै हिरो ब्राण्डका ४ सय मोटरसाइकल सांग्रिला इन्टरनेशनल फ्रेटले आयात गरेको छ ।


प्रतिक्रिया दिनुहोस्