भव्य बन्यो रिशव इम्पेक्सको ‘माइलेज च्याम्पियन २०२५’

बिरगञ्ज । शनिबार बिरगञ्जको बौहरवा भाटीमा “माइलेज च्याम्पियन २०२५“ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
रिशव इम्पेक्सको आयोजनामा सम्पन्न कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए ।
उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।
प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने संजित कुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल भए ।
यस्ता किसिमका कार्यक्रमहरूले उपभोक्ताहरूमा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने कम्पनीले जनाएको छ ।