के भारतको अटो उद्योग संकटमा पर्दै छ ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

के भारतको अटो उद्योग संकटमा पर्दै छ ?



काठमाडौँ । यदी तपाइँको फोन, ल्यापटप, कारका महत्वपूर्ण पार्टपूर्जा बन्नै बन्द भयो भने के होला ? ज्यादातर मानिसहरु यसबारेमा सोच्दैनन् । तर त्यसो हुन पनि सक्छ ।

पुरै संसारको प्रविधि उद्योग एक किसिमको खनिज धातुमा निर्भर छ, जसलाई ‘रेयर अर्थ एलिमेन्टस्’ भनिन्छ । पृथ्वीको दुर्लभ धातु भएकाले यस पदार्थमा चीनको दबदबा छ ।

संसारभर रहेको अधिकांश यस्ता दुर्लभ धातुको उत्खनन गर्ने र त्यसको प्रशोधन गर्ने काम चीनले गरिरहेको छ । अमेरिका, अस्ट्रेलियाजस्ता अरु देश पनि यस काममा लागेका त छन् । तर उनीहरुको चीनको तुलनामा ज्यादै पछाडी छन् ।

अहिलेको स्थितिमा यदी चीनले उक्त धातुको प्रशोधन गर्न वा निर्यात गर्न नै बन्द गरिदियो भने पनि पुरै संसारमा उथलपुथल हुनेवाला छ । यस परिस्थितिले पेट्रोलियम सेमिकण्डक्र चिपजस्तै अब यस्ता दुर्लभ धातुहरु सामरिक एवम् भूराजनीतिक मञ्चमा महत्वपूर्ण आर्थिक हतियार बन्दै गएको भनेर चर्चा सुरु भएको छ ।

के हो ‘रेयर अर्थ एलिमेन्टस्’ ?

धर्तिको सबैभन्दा बाहिरी सतहमा यस्ता १७ प्रकारका रसायन पाइन्छ । जसमा ल्यान्थनम, सिरियम, प्रेजिओडमियम, प्रुमिथियम लगायतका तत्व हुन्छन् । यी तत्व पृथ्वीको सतही तह अर्थात् १० देखि २०० मिटरको गहिराइमा पाइन्छ ।

यस्ता रसायनलाई दुर्लभ भनिए पनि धर्तिको सतहमा ठूलो मात्रामा यस्ता पदार्थ संग्रहित छ । तर यो विशाल पृथ्वीको सतहबाट साना साना कणमा विभक्त भएका यस्ता धातुलाई जम्मा पार्न सम्भव हुँदैन । थोरैथोरै एकमुष्ठ भण्डारण भएका खानीहरुबाट यस्ता पदार्थ निकालिने गरेको छ ।

यी १७ थरी तत्वहरु भिन्नभिन्न स्थानमा पाइन्छन् । नेपालमा पनि मनाङ, मुस्ताङ र डोल्पामा मोनाजाइट र सेनोटाइमजस्ता पदार्थ भएको उच्च संभावना छ । गोरखा र नुवाकोटमा पनि पेग्माटाइट लगायतका खनिज रहेको प्रारम्भिक संकेत पाइएको छ ।

यसको सबैभन्दा ठूलो समस्या चाहीँ छरिएर रहेका तत्वलाई स–साना खानीहरुबाट उत्खनन गर्ने र त्यसको प्रशोधन गर्ने काम असाध्यै अप्ठ्यारो र महँगो पनि छ ।

प्रयोग

प्रविधिको दुनियामा यी धातुहरुको प्रयोग बेगर कुनै सामान बनाउन लगभग असम्भव छ । सौर्य ऊर्जाको प्यानल बनाउनेदेखि विद्युतीय सवारीसाधन, स्मार्टफोन, ल्यापटप, कम्प्युटर, टेलिभिजनदेखि अस्पतालमा एक्स–रे र एमआरआई मेसिनहरुसम्म हरेक चिजको निर्माण गर्न ‘रेयर अर्थ एलिमेन्टस्’ आवस्यक पर्छ ।

यस्ता जनउपयोगी सामग्रीमात्रै होइन, सामरिक हतियार र युद्धपोतहरुमा पनि यसको अति आवस्यक छ । गाइडेड मिसाइल, रडार सिस्टम, युद्धक विमानहरु निर्माण गर्न पनि यस्ता पदार्थको जरुरत पर्छ ।

उदाहरणका लागि अमेरिकाले बनाइरहेको ‘एफ ३५’ युद्धक विमान बनाउन ९०० पाउण्डभन्दा बढी (झण्डै ४१० किलो) ‘रेयर अर्थ एलिमेन्टस्’ चाहिन्छ । अमेरिकी नौसेनाले प्रयोग परमाणु ऊर्जाद्वारा सञ्चालिन पनडुब्बी ‘भर्जिनिया क्लास सबमरिन’ बनाउनु पर्दा त ९२०० पाउण्ड अर्थात् ४१७३ किलो ‘रेयर अर्थ एलिमेन्टस्’ आवस्यकता पर्छ ।

सुपर–पावर

आजको दिनमा यी दुर्लभ धातुको उत्पादकमध्ये चीन ‘सुपर पावर’ हो । संसारको ४९ प्रतिशत ‘रेयर अर्थ एलिमेन्टस्’ भण्डार चीनसँग छ । अहिले विश्वमा खपत हुने यस्तो धातुको ६० प्रतिशतभन्दा ज्यादा उत्पादन चीनले गर्छ ।

प्रशोधनको हकमा त झनै उसको एकल दबदबा छ । संसारभर हुने कुल ‘रेयर अर्थ एलिमेन्टस्’ प्रशोधनमध्ये ९० प्रतिशतभन्दा ज्यादा चीनमा हुन्छ । अमेरिका, जापान, भारत, मलेसिया जस्ता उत्पादक देशहरु पनि यस पदार्थको हकमा चीनसँगै निर्भर रहेका छन् ।

तर पछिल्लो समय अमेरिकाले आयात शुल्क बढाउने होडबाजी (जसलाई ट्यारिफ वार भनिएको छ)ले अप्ठेरो पारेको छ । अमेरिकाले चीनबाट आउने सामानको भन्सार महसुल बढाइदिएपछि चीनले ‘रेयर अर्थ एलिमेन्टस्’ को निर्यातमा कडाइ गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले १७ मध्ये ७ ‘रेयर अर्थ एलिमेन्टस्’को निर्यातमा रोक लगाइदिएको छ । अब यस्ता वस्तुको निर्यात गर्ने कम्पनीहरुले अलग्गै लाइसेन्स लिनुपर्ने नियम बनाइएको छ । ती पदार्थहरु ऊर्जा, (सैन्य) सुरक्षा, अटोमोबाइल क्षेत्रमा जरुरी हुन्छ ।

आजभन्दा १५ वर्षअघि चीन र जापानबीच एक विवाद हुँदा चीनद्वारा यस्ता दुर्लभ धातुको निर्यातमा रोक लगाएको खबरहरु आएका थिए । चीनले यसलाई निर्यात प्रतिबन्ध भनेर औपचारिक रुपमा स्वीकार त गरेन, तर वातावरणीय जोखिम कम गर्न निर्यातलाई नियन्त्रित गरेको भनेको थियो ।

यद्यपि, यो घटनाले त्यस बेला नै प्रष्ट सन्देश दिएको थियो, भिन्न देशहरुबीच हुने राजनीतिक विवादमा चीन यस ‘रेयर अर्थ एलिमेन्टस्’लाई कसरी ‘हतियार’को रुपमा उपयोग गर्न सक्छ ?

चीनले ‘रेयर अर्थ एलिमेन्टस्’को उत्खनन गर्ने र त्यसको प्रशोधन गर्ने प्रविधि बाँकी विश्वलाई बेच्न बन्द गरेको छ । ऊ आफ्ना विश्वविद्यालयहरुमा चिनियाँ नागरिकलाई मात्रै यस्तो ज्ञान दिइरहेको छ । सस्तो बिजुली र सस्तो श्रमले चीनमा प्रशोधन गर्न बाँकी देशहरुका लागि पनि सस्तो पर्छ ।

तर यही कारण ‘रेयर अर्थ एलिमेन्टस्’को बजारमा चीनको एकल वर्चश्व स्थापित भएको छ ।

भारतलाई असर

अहिले विश्वमा कुल ‘रेयर अर्थ एलिमेन्टस्’को उत्पादनमध्ये भारत केवल १.१ प्रतिशतमात्रै उत्पादन गर्छ । त्यस कारण भारत पनि यस्ता दुर्लभ धातुको निम्ति चीनसँग निर्भर छ । सन् २०२३–२४ को आर्थिक वर्षमा भारतले २२७० टन ‘रेयर अर्थ एलिमेन्टस्’ आयात गरेको थियो । यसमध्ये असाध्यै ठूलो हिस्सा चीनसँग किनेको हो ।

यसका अलावा लिथियम, सिलिकन र ग्रेफाइटजस्ता पदार्थका लागि पनि भारत चीनसँग नै निर्भर छ । यी दुर्लभ धातु त होइनन, तर त्यस्तै खालको ‘अति जरुरी’ पदार्थ हुन् । यी पदार्थको बेगर पनि आधुनिक प्रविधिको निर्माण सम्भव हुँदैन ।

सेमिकण्डक्टर, विद्युतीय सामग्रीहरु, ब्याट्री, हरित ऊर्जा लगायत सबै कुरामा यी वस्तुको जरुरी पर्छ ।

जब व्यापार युद्ध छेडिन्छ, त्यसपछि वैश्विक आपूर्ति श्रृङ्खला अनेक रोकावट र उल्झन आइपर्छ । तसर्थ सीधा–सीधा व्यापार युद्धमा सहभागि नभएका संसारभरका मुलुक र तिनको अर्थतन्त्र पनि यस्ता गतिविधिबाट प्रभावित हुन्छन् ।

यस प्रकारको रोकावटको असर सबैभन्दा पहिले भारतीय अटोमोबाइल उद्योगमा देखिन थालेको छ । भारत संसारको तेस्रो ठूलो अटो मोबाइल बजार हो । टीभीएस मोटर, बजाज अटोजस्ता कम्पनीले यदी ‘रेयर अर्थ एलिमेन्टस्’को आपूर्ति चाँडै नै पुरानो अवस्थामा फर्काउन नसक्ने हो भने आगामी महिनादेखि भारतमा विद्युतीय गाडीको उत्पादन नै रोकिनसक्ने चेतावनी दिएका छन् ।

साथै विद्युतीय सवारी साधनको उत्पादन लागत पनि बढ्ने प्रक्षेपण गरिएको छ । गाडीको उत्पादन लागत बढ्यो भने त्यसको असर गाडीको मूल्यमा देखिने छ ।

चीनमा ‘रेयर अर्थ एलिमेन्टस्’ निर्यात गर्ने कम्पनीहरुलाई नयाँ व्यवस्था अनुसारको लाइसेन्स दिनमा ढिलाइ भइरहेको छ । यसको असर भारत, जापान र युरोपको अटोमोबाइल क्षेत्रमा देखिन थालिसकेको खबरहरु आएका छन् ।

चीनबाट हुने निर्यातमा अवरोध भएसँगै जापानी कम्पनी सुजुकीले तत्कालका लागि ‘स्वीफ्ट’ गाडीको उत्पादन रोकिसकेको छ । स्वीफ्ट त्यही गाडी हो, जुन भारतमा सर्वकालिन लोकप्रिय रह्यो र नेपालमा पनि यो खुब लोकप्रिय देखिएको छ ।

यी घटनाक्रमले नेपालमा सबैभन्दा धेरी विक्री हुने भारत–उत्पादित गाडी र यसका पार्टपुर्जाको उपलब्धतामा समस्या आउनसक्ने जोखिम बढेको छ ।


प्रतिक्रिया दिनुहोस्