क्रेटालाई उछिनेर मारुतीको डिजायर बन्यो बन्यो ‘बेस्ट सेलर’, आखिर यसमा के छ त्यस्तो ? « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

क्रेटालाई उछिनेर मारुतीको डिजायर बन्यो बन्यो ‘बेस्ट सेलर’, आखिर यसमा के छ त्यस्तो ?



काठमाडौं । गएको मे महिनामा भारतीय बजारमा सर्वाधिक विक्री हुने कार बनेको छ, ‘मारुती सुजुकी डिजायर’ । भारतमा लगातार श्रेष्ठ विक्रीको रेकर्ड बनाइरहेको हुण्डाई क्रेटालाई उछिनेर डिजाएर पहिलो रोजाइमा आएको हो ।

सुजुकीको उक्त मोडल गत महिना १८ हजार ८४ युनिट विक्री भएको छ । यो सबैभन्दा बढी अंक हो ।

गत महिना भारतीय बजारमा सर्वाधिक विक्री भएका प्रमुख १० मोडलमध्ये सबै गाडीहरुहरु या त एसयूभी, नभए कम्प्याक्ट एसयूभी छन् । डिजायरमात्रै त्यस्तो गाडी हो, जुन सेडान भएर पनि शीर्ष स्थानमा विक्री भएको छ ।

कुनै समय भारतीय सडकमा प्रतिष्ठाको दौड लगाउने वाला सेडान कारहरु अहिले विलुप्त हुने संघारमा छन् । लक्जरी मानिने सेडान कारको मूल्य बढ्दै जाने र एसयुभीमा मानिसहरुको आकर्षण बढ्नाले पछिल्लो समय सेडानको विक्रीमा ब्यापक कमी आएको छ ।

कयौँ कम्पनीे आफ्ना सेडान मोडलका गाडीहरु उत्पादन नै बन्द गरेका छन्। नभए घटाएका छन् । तर कम ‘रेञ्ज’ अर्थात् सस्तो सेडानहरुको मूल्य भने त्यसरी अचााक्लि बढेको पनि छैन ।

समाचारहरुमा जनाइए अनुसार ८ देखि १२ लाख रुपये (नेपाली मुद्रामा १३ देखि १९ लाख)मा कयौँ सेडान गाडीहरु पाइन्छ । तर भारतीय उपभोक्ताहरु ‘होचो’ सेडानप्रति होइन, ‘ठूलो र अग्लो’ एसयूभीमा आकर्षित भए । ।

कम्पनीहरुले एसयुभी बनाउन थाले । भारतीय बजारमा एसयूभीको लाइन लाग्न थाल्यो । जानकारहरुका अनुसार यसरी एसयूभीमा गाडी उत्पादन बढ्नुका पछाडी कानूनी छिद्रमा खेल्ने प्रयास पनि एक कारण हो ।

कानून छल्दै एसयूभी

भारतमा कुनै पनि गाडीलाई एसयूभी मान्नका लागि निश्चित कानूनी शर्त छन् । उदाहरणका लागि गाडीको लम्बाई कम्तिमा ४००० मिमि (४ मिटर) हुनु पर्ने, कम्तिमा पनि १५०० सीसीको इञ्जिन हुनुपर्ने र कम्तिमा १७० मिमि ग्राउण्ड क्लियरेन्स हुनुपर्ने ।

भारतीय गाडी उत्पादक महिन्द्राका स्कर्पियो, थारजस्ता गाडी यो सेगमेन्टमा पर्छन् । विदेशी गाडीमा टोयोटाको फच्र्युनर्स, प्राडोदेखि मर्सिडिज बेञ्जको जी ग्लाससम्म कयौँ यस्ता मोडलहरु छन् ।

यस्ता गाडीहरु नेता, अभिनेता, ब्यापारी र शीर्ष कर्मचारीहरुका लागि गज्जब सुहाउँछ । सामान्य मान्छेका लागि यी गाडीको मूल्य तिर्ने सामथ्र्य हुँदैन । सर्वसाधारणलाई पनि एसयूभी चढ्न रहर हुने, तर किन्न नसक्ने समस्याको हल खोज्दै कम्पनीहरुले नयाँ तरिका निकाले– ‘कम्प्याक्ट एसयूभी’ ।

कम्पनीहरुले एसयूभीलाई हल्का परिवर्तन गरे । जस्तो कि, १५०० सीसी हुनुपर्नेमा १४९७ सीसीको इञ्जिन बनाउने, ४००० मिमि लम्बाइ हुनुपर्नेमा ३९९५ मिमि बनाइदिने ।

यसरी कानूनी व्यवस्थालाई छल्नका निम्ति ज्यादै सुक्ष्म परिवर्तन गरेर बजारमा ल्याइएका गाडी एसयूभीको तुलनामा निकै सस्तो पर्न गयो । त्यसपछि भारतीय सडकमा सेडानलाई एसयूभीले प्रतिस्थापन गर्न थालेको थियो ।

सेडानमा घट्दो आकर्षण

विगतमा एक दशसम्म भारतीय सडकमा ‘राज गरेको’ होण्डा सीटी गाडी अहिले खासै रोजाइमा पर्दैन । यस गाडीको विक्री लगातार उच्च दरमा घटिरहेको छ ।

समाचारहरुमा जनाइए अनुसार सन् २०२४ को मे महिनामा होण्डाको गाडी ११ हजार ७३ युनिट विक्री भएको थियो । जुन यो साल ५ हजार ९८५ युनिटमा झरेको छ । अर्थात् होण्डाको कार विक्रीमा करीब ४६ प्रतिशतको कमी आएको छ ।

यही हाल हुण्डाईमा पनि लागू हुन्छ । हुण्डाई ‘वर्ना’को पछिल्लो मोडल २०२३ मा लञ्च भएको थियो । त्यो गाडी २०२४ अप्रिलमा १५७१ युनिट बिकेको थियो । यो सालको अप्रिलमा १ हजार ५ युनिटमा झर्यो ।

उता टाटाको सब–कम्प्याक्ट सेडान कार टिगोरको विक्री पनि निरन्तर घटिरहेको छ । यो गाडी सन् २०२४ को अप्रिलमा २१५३ युनिट बिकेको थियो । २०२५ को अप्रिलमा त्यही गाडी १२५६ युनिटमात्रै विक्री भयो ।

यी आँकडाले भारतमा सेडानको विक्री ब्यापक रफ्तारमा घटेको देखाउँछ । त्यसैले कम्पनीहरुले पनि सेडानको उत्पादन घटाइरहेका छन् । सुजुकीले २०२५ मार्चबाट आफ्नो सेडान कार सिएजको उत्पादन नै बन्द गरिदिएको छ ।

फेरि डिजायरमा किन यतिधेरै आकर्षण ?

भारतीय बजारमा कयौँ सेडान गाडीको विक्री घटिरहेको बेलामा पनि डिजाएर सर्वाधिक विक्री हुने कार बनेको छ ।

त्यसो त, यो गाडी भारतीय बजारमा सर्वकालिन चौंथो धेरै विक्री हुने गाडी हो । सन् २००८ मा यो मोडल लञ्च भएदेखि नै भारतमा सर्वाधिक विक्री हुने शीर्ष १० कारमध्ये यो सदैव परिरहेको छ ।

भारतमा ट्याक्सीका निम्ति पनि यो कार खुब उपयोग हुन्छ । भारतीय बजारमा बिक्ने हरेक तीनवटा डिजायर गाडीमध्ये दुईटा ट्याक्सीको रुपमा प्रयोग हुन्छ । सन् २०२४ को आर्थिक वर्षमा यो कम्प्याक्ट सेडान १ लाख ६५ हजार एकाई विक्री भएको थियो ।

यसै आर्थिक वर्षको पहिलो ६ महिनामा यस्ता गाडीको मागमा देखिएको ब्यापक गिरावटका बाबजुद डिजायर भने ७५ हजारभन्दा धेरै बिकिसकेको थियो । मरुती सुजुकीले हालसम्म यो मोडलको गाडी साढे २७ लाखभन्दा बढी युनिट निजी उपभोक्तालाई बेचिसकेको छ ।

यो कम्पनीले सात महिना अघि केही आधुनिक र केही सुरक्षा फिचर्स थपेर ‘न्यू डिजायर’ भन्ने नयाँ भेरियन्ट सार्वजनिक गरेको थियो । उक्त भेरियन्टमा ६ वा एयरब्याज सहित अरु १५ किसिमका सुरक्षा फिचर थपिएको बताइन्छ ।

यसका साथै विद्युतीय रुपमा चल्ने सनरुफदेखि केही आधुनिक फिचरहरु समावेश गरिएको छ । गएको नोभेम्बर ८ मा ग्लोबल एनक्यापले न्यू डिजायरलाई ‘फाइभ स्टार क्र्यास टेस्ट रेटिङ’ दिएको थियो ।

यो गाडीले कम्तिमा पनि २५ देखि ३० किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ । सीएनजीमा त ३५ किमि प्रतिलिटरसम्म पुग्छ । यो सेडानको बेस भेरियन्टको मूल्य ६.७९ लाख रुपये (नेरू. १० लाख ८६ हजार) पर्छ ।

सडकको कर तिर्दा पनि यो गाडी नेपाली रुपैया ११ लाख ७२ हजार (बीमा बाहेक)मा आउँछ । नेपाली बजारमा भने यही गाडीलाई ४१ लख ४९ हजार मूल्य तोकिएको छ ।

सस्तो, राम्रो, सुरक्षित र भारतका स–साना शहरसम्म मारुतीको सर्भिस नेटवर्कले गर्दा यो गाडीको ब्यापक विक्री भएको ठानिन्छ । मानिसहरु यस गाडीमा आकर्षित हुनुको कारण यही हो ।


प्रतिक्रिया दिनुहोस्