कसले जितिरहेको छ गाडी बेच्ने प्रतिस्पर्धा ? « Arthapath.com
३ असार २०८२, मंगलबार

कसले जितिरहेको छ गाडी बेच्ने प्रतिस्पर्धा ?



काठमाडौँ । पछिल्ला दुई वर्षयता नेपाली बजारमा थोरै चलायमान भएको क्षेत्र हो, विद्युतीय सवारी साधन । यही क्षेत्रले बजारलाई चलायमान पारेको छ ।

लामो समयदेखि नेपाली बजारमा स्थापित इन्धन गाडीका ब्राण्ड र मोडललाई पछि पार्दै अचेल काठमाडौँको सडकमा ईभीको उपलब्धता ह्वात्तै बढेको देखिन्छ ।

उपभोक्ताको चासो र रोजाइ पनि समयसँगै बदलिँदै गएको हुन्छ । यसले गाडीको रोजाई फेरिने र त्यही कुरालाई नयाँ कम्पनीले आफ्नो विक्री बढाउन मौकाको रुपमा व्यवहार गर्ने गर्छन् ।

नेपाली उपभोक्ताको रोजाइले पनि उनीहरुको मनपर्ने सवारी साधन फेरिएको जस्तो देखिन्छ । गाडी आयातको नयाँ तथ्यांकले यस्तो देखाएको हो ।

बिजुली गाडी (ईभी) बेच्ने होडमा वर्ष २०२५ मा पनि टाटा कम्पनी सबैभन्दा अगाडी छ ।

अहिले हरेक महिना १४ सयभन्दा धेरैको औसत दरमा ईभी कार नेपाल भित्रिरहेको छ । सन् २०२५ सुरु भएदेखि मे मसान्तसम्म अर्थात् वितेको पाँच महिनामा विभिन्न ब्राण्डका गरी ७ हजार ८४ गाडी भित्रिएको छ ।

यसमध्ये सर्वाधिक गाडी टाटा कम्पनीले भित्र्याएको छ । पछिल्लो समय नेपाली बजारमा तहल्का मच्चाएको बीवाईडीप्रति उपभोक्ताको आकर्षण घट्न थालेको देखिन्छ । बरु एमजीको गाडीमा धेरै मानिस आकर्षित भएका छन् ।

त्यसैले एमजीले यो पाँच महिनामा बीवाईडीभन्दा धेरै गाडी आयात गरेको छ । अब बीवाईडीलाई उछिनेर एमजी नेपाली बजारको दोस्रो लोकप्रिय ब्राण्ड भएको छ ।

यी शीर्ष तीन ब्राण्डले वर्ष २०२५ मा नेपाल भित्रिएकामध्ये ५३ प्रतिशत गाडी ल्याएका छन् । यसबीच टाटाका १५ सय १२, एमजीका ११ सय ४१ र बीवाईडीका ११ सय ८ गाडी नेपाल भित्रिएको देखिन्छ ।

चौँथो स्थानमा रहेको दोङ्फेङको ६६४ गाडी आयात भएको देखिन्छ । हुण्डाई, चाङ्गान र लीपमोटरका गाडी पनि ३० भन्दा बढी संख्यामा आयात भएका छन् । काईयी, प्रोटोन, ओमोडा र जीएसीका गाडीहरु पनि थोरै संख्यामा भए पनि आयात भएका छन् ।

नेपालीले सबैभन्दा धेरै गाडी एसयूभीमा मगाएका छन् । यहाँको पहाडी भूभाग र मर्मत नहुने सडकमा कुदाउनका लागि बलियो, दर्बिलो र उचाइयुक्त विलासी गाडीहरु धेरैले रोजिरहेको देखिएको छ ।

कुल खरीद भएको गाडीमध्ये आधाभन्दा बढी एसयूभी छन् । यसबीच भण्डै १ हजार थान प्रिमियम एसयूभी र २६ सयभन्दा बढी एसयूभी गरी ५३ सयभन्दा बढी गाडी एसयूभी मोडलका आएका छन् । यो कुल एईभी आयातको ५०.३४ प्रतिशत हो ।

अझ कम्प्याक्टलाई समेत यसमै मिसाइदिने हो भने र एसयूभी र कम्प्याक्ट एसयूभीजरी कुल ईभी आयातको करीब ७५ प्रतिशत हिस्सा ओगट्छ । तर कार तथा सेडानको आयातमा भने तुलनात्मक रुपले उल्लेख्य कमी देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्