बढ्यो सवारी साधनको सरुवा शुल्क, अब कसले कति तिर्नुपर्छ ?

काठमाडौं । बागमती प्रदेशमा सवारी साधनको सरुवा शुल्क वृद्धि भएको छ । सवारी साधान अब बागमती प्रदेशबाट अर्को प्रदेशमा दर्ता गर्न लैजाँदा लाग्ने शुल्क वृद्धि भएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट अन्तर्गत सवारी साधनको सरुवा सहमति शुल्कमा वृद्धि गर्ने निर्णय गरेको छ । यस वृद्धि अनुसार सवारी साधनका मालिकहरूले थप शुल्क तिर्नुपर्ने भएको छ ।
बागमती प्रदेश सरकारको नयाँ आर्थिक विधेयक २०८२ मा आधारित सवारी सरुवा शुल्कलाई वर्गीकरण गर्दै अब ठूला सवारीको लागि २ हजार ५०० रुपैयाँ लाग्नेछ ।
यस्तै, मझौला सवारीको लागि २ हजार रुपैयाँ, कार, जिप, भ्यान, पिकअप, टेम्पोका लागि १ हजार ५०० रुपैयाँ लाग्ने छ । यता, मोटरसाइकल तथा स्कुटरका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।