‘नाइमा मोबिलिटी एक्स्पो’ : दर्जन ब्रान्डका बाइक र स्कुटर सबै एउटै छानामुनि, कुन ब्रान्ड चम्किएला ? « Arthapath.com
२२ असार २०८२, आईतबार

‘नाइमा मोबिलिटी एक्स्पो’ : दर्जन ब्रान्डका बाइक र स्कुटर सबै एउटै छानामुनि, कुन ब्रान्ड चम्किएला ?



काठमाडौं । नेपाली सवारीसाधन उद्योग एक नयाँ युगतर्फ अघि बढ्दैछ ।

विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षण, स्मार्ट प्रविधिको अंगीकरण र अन्तर्राष्ट्रिय ब्रान्डहरूको तीव्र उपस्थितिले नेपाली मोबिलिटी बजारलाई परिवर्तनको मोडमा पुर्याएको छ ।

अब गाडी, बाइक र स्कूटर केवल यात्राका साधन होइनन्, जीवनशैली, प्रविधि र वातावरणप्रतिको सचेत सोचको प्रतीक बन्न थालेका छन् । खासगरी दुई पाङ्ग्रे सवारीमा युवाहरूको रुचि तीव्र रूपमा बढिरहेको छ । दैनिक यात्रा होस् वा साहसिक सौख यी दुवै कारण आकर्षक चुलिँदो छ ।

यही प्रवृत्तिलाई संस्थागत गर्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आउँदो साउन ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ आयोजना गर्न लागिएको छ । आगामी साउन २१ गतेदेखि हुने उक्त एक्स्पोमा दर्जन बढी ब्रान्डले बलियो सहभागिता जनाउने छ्न । एक्स्पोमा १७ ब्रान्डले सहभागिता जनाउने तयारीमा जुटीरहेका छन् ।

पेट्रोल र ईभी दुवै प्रकारका बाइक र स्कूटर प्रदर्शित गरिने यस एक्स्पोले नेपाली बजारमा प्रविधिमैत्री, व्यापारिक र वातावरणमैत्री सम्भावनालाई थप उजागर गर्नेछ ।

एक्स्पोमा सहभागी हुन लागेका कम्पनीहरूले आ–आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पु¥याइरहेका छन् । एक्स्पोमा ‘सेगवे–नाइनबट’, सुजुकी, केटीएम, याडिया, जीहो ईभी, टीभीएस, बनेली, ‘एथर’ लगायतका ब्रान्डहरुले बलियो सहभागिता जनाउनेछन् । यी ब्रान्डहरूबाहेक, महिन्द्रा, होण्डा, रोयल इन्फिल्ड, बजाज र नियोजस्ता चर्चित कम्पनीहरू पनि नाइमा एक्स्पोमा सहभागिता जनाउने तयारीमा छन् ।

अब हेरौं कुन कुन ब्रान्डको बाइक र स्कुटर ल्याउँदैछन् ?

विद्युतीय स्कुटर बजारमा सक्रिय आइहब प्रा.लिले यसपटक ‘सेगवे–नाइनबट’ ब्रान्डका दुई वटा नयाँ ईभी मोडल प्रस्तुत गर्ने योजना बनाएको छ । कम्पनी अहिले ती मोडलहरूको अन्तिम तयारीमा व्यस्त रहेको छ ।

सुजुकी टू ह्वीलरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो चर्चित मोडल ‘एक्सेस’को अपग्रेडेड भर्सन सहित सोही मोडलको ईभी संस्करण पनि एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । पेट्रोल र ईभी दुवै विकल्प एकैसाथ देखिनु उपभोक्ताका लागि नयाँ अनुभव बन्नेछ ।

केटीएम बाइकको आधिकारिक आयातकर्ता हंशराज हुलाशचन्द एण्ड कम्पनीले केटीएम एड्भेन्चर र केटीएम ड्युकको नयाँ भर्सन नेपालमा पहिलोपटक एक्स्पोमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार भारतमा केही महिनाअघि सार्वजनिक गरिएको ड्युकको मोडल नेपालमा सोही एक्स्पोबाट डेब्यू गरिनेछ ।

यता, याडिया ब्रान्डको आधिकारिक बिक्रेता कुजु नेपाल प्रा.लिले ‘याडिया किननेस’ नामक नयाँ ईभी बाइक ल्याउने घोषणा गरिसकेको छ । १०० किमी प्रतिघण्टा गतिको क्षमतायुक्त यो बाइकमा अगाडिबाट पछाडिसम्म डिस्क ब्रेक, कम्बाइन ब्रेकिङ सिस्टम र दुई वर्ष वा २० हजार किलोमिटरको वारेन्टीजस्ता विशेषता समावेश छन् ।

यस्तै, जीहो ईभी स्कूटरको नेपालका लागि वितरक ऋषी ट्रेड सेन्टरले पनि एक्स्पोमा नयाँ मोडल डिस्प्ले गर्ने तयारी गरिरहेको छ । यद्यपि कुन मोडल प्रदर्शन गरिने हो भन्नेबारे अन्तिम निर्णय बाँकी रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरि दुगड ब्रदर्श एण्ड सन्सले विद्युतीय बाइक ब्रान्ड ‘रिभोल्ट’ को २०२५ को नयाँ अपडेटेड मोडल एक्स्पोमा राख्ने तयारी गरेको छ । कम्पनीले यसलाई स्मार्ट ईभीको खोजीमा रहेकाहरूको लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गर्ने जनाएको छ ।

बनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनलले ‘मोर्बिडेली’ ब्रान्ड अन्तर्गतका २५० र ३५२ सीसी क्षमताका स्पोर्ट बाइक एक्स्पोमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । साथै, कम्पनीले अर्को नयाँ मोडल पनि ल्याउने सम्भावना रहेको जनाएको छ ।

यस्तै, टीभीएसको नेपाल प्रतिनिधि जगदम्बा मोटर्सले लोकप्रिय एन्टर्क स्कूटरको नयाँ भर्सन प्रस्तुत गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसलाई विशेष रणनीतिका साथ एक्स्पोमा प्रदर्शन गर्ने योजना बनाएको छ ।

यता, गोगोरो ब्रान्डको स्कूटर नेपालमा ल्याउने अधिकार प्राप्त नेबुला मोबिलिटीले हालैका लोकप्रिय मोडलहरू एक्स्पोमा प्रस्तुत गर्नेछ। कम्पनीले नयाँ अपडेटबारे थप गृहकार्य गरिरहेको छ र अन्तिम तयारीमा जुटेको छ।

भारतमा सबैभन्दा बढी बिक्री हुने इभी टू ह्वीलर ब्रान्ड ‘एथर’ को नयाँ मोडल ‘एथर रिज्ता’ नेपालमा डेब्यू गर्दैछ । यसको आयातकर्ता वैद्य इनर्जी प्रा.लिले एक्स्पोमै औपचारिक रूपमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसको स्पेसिफिकेसन तथा विशेषतासहितको जानकारी प्रेस कन्फरेन्समार्फत सार्वजनिक गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्