नेपाल एसबिआई बैंकको साधारणसभाबाट लाभांश पारित
काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको साधारणसभा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
सभाले बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।