कृषि विकास बैंकको सीईओ बन्न २२ जनाको आवेदन, ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तर्वार्ताका लागि छनौट हुने « Arthapath.com
२३ असार २०८२, सोमबार

कृषि विकास बैंकको सीईओ बन्न २२ जनाको आवेदन, ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तर्वार्ताका लागि छनौट हुने



काठमाडौं । कृषि विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि करिब दुई दर्जनको आवेदन परेको छ ।
दरखास्त दिने अन्तिम दिन अर्थात आइतबार साँझसम्म सो पदका लागि २२ जनाले आवेदन दिएका हुन् । बैंकले गत पुस २५ गते सीईओ पदका लागि दरखास्त आव्हान गरेको थियो ।

गत पुस १० गते बैंकको पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल सकिएपछि सो पद रिक्त रहेको थियो । बैंकको सीईओ पदका लागि अन्य बैंकका पूर्व प्रमख कार्यकारी अधिकृत, डेपुटी सीईओ लगायतको आवेदन परेको बैंकले जनाएको छ ।

बैंकका अनुसार सिभिल बैंकको पूर्व सीईओ गोविन्द गुरुङ, राष्ट्रिय वाणिज्य बैंकका पूर्व डेपुटी सीईओ कविराज अधिकारी, सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) का सीईओ पूर्णप्रसाद आचार्य सहित २२ जनाले आवेदन दिएका छन् । सो पदका लागि कृषि विकास बैंकका कर्मचारीहरुले पनि दिएको बताइएको छ । बैंक स्रोतका अनुसार हालका कार्यवहाक प्रमुख कार्यकारी अधिकृत प्रताव सुवेदी, डीजीएम प्रकाश न्यौपाने लगायतको पनि आवेदन परेको बताइएको छ ।

यस्तै, बैंकको सीईओका लागि भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी , बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शङ्कर चापागाईँ, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको पनि आवेदन परेको छ ।

सो पदका बैंकिङ्ग व्यवस्थापनमा अब्बल, अनुभवि, अर्थशास्त्री, तथ्याङशास्त्री, लेखा तथा वाणिज्यशास्त्रीको पनि आवेदन परेको बैंकले जनाएको छ । योग्य उम्मेदवारहरुको आवेदन परेकाले राम्रो व्यक्ति नै बैंकको सीईओ बन्ने बताइएको छ ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा सर्ट लिष्टिङ्ग गरिने बैंकले जनाएको छ । बैंकका अनुसार आवेदन दिएका कुल उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तर्वार्ताका लागि छनौट गरिने छ ।


प्रतिक्रिया दिनुहोस्