सिभिल बैंकमा १०० कित्ता हुने सेयरधनीले हिमालयनको ८० कित्ता पाउने « Arthapath.com
२२ असार २०८२, आईतबार

सिभिल बैंकमा १०० कित्ता हुने सेयरधनीले हिमालयनको ८० कित्ता पाउने



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने भएका छन् । हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट पनि अन्तिम स्वीकृति पाइएको छ ।

गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुवै बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । राष्ट्र बैंकका अनुसार माइन्युट भईसकेको र सम्वन्धित बैंकहरुले पत्र बुझ्ने तयारीमा रहेको बताइएको छ ।

यी दुवै बैंकबीच १ः८०.२८ स्वाप रेसियोमा मर्जरमा जाने समहति भएको छ । यो भनेको सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

एकीकृत कारोबार भने आगामी फागुन १ गतेदेखि सुरु गर्ने योजना बनाएको बैंकले जनाएको छ । मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ । सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोखरले रहने सहमति भएको जनाएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न गत असार २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

सिभिल बैंकलाई प्राप्ति गरे पश्चात नयाँ बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । शाखा सञ्जाल १ सय ८९ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्