नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ ।
नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसैसन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आईतबार साँझ सम्मानीत गरेको छ । एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताए । बैंकले अन्तराष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित Core Banking Software भित्र्याउन IT Enhancement Roadmap अन्तर्गत कार्य समेत गरिरहेको उनले बताए । उनले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरे ।