आइएमएफकी प्रबन्ध निर्देशकको राजीनामा स्वीकृत « Arthapath.com
२० श्रावण २०७६, सोमबार

आइएमएफकी प्रबन्ध निर्देशकको राजीनामा स्वीकृत



अन्तराष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्टिना लागार्डले पद त्याग गरेकी छिन्। उनको राजिनामा कोष सञ्चालक समितिले स्वीकृत गरेको छ। उनी युरोपेली केन्द्रीय बैंकको प्रमुखमा नियुक्त भएपछि मुद्रा कोष छाडेकी हुन्।

उनको राजीनामा आगामी सेप्टेम्बरबाट लागू हुने छ। मुद्रा कोष सञ्चालक समितिले राजीनामा स्वीकृत गर्दै उनले पुर्याएको योगदानको प्रशंसा गरेको छ। कोषले भनेको छ( लागार्डको मार्गदर्शनमा विश्व आर्थिक संकटका चुनौतीहरु टरेको छ।

लागार्डको ठाउँमा कार्यवहाक प्रबन्ध निर्देशकका रुपमा डेबिट लिप्टनले काम गर्ने छन्। लागार्ड यूरोपेली केन्द्रीय बैंकको प्रमुख हुने पहिलो महिला समेत हुन्।

मुद्रा कोषको संचालक समितिले नै लागार्डलाई युरोपेली केन्द्रीय बैंकको प्रमुख बन्नकालागि बाटो खोलिदिएको थियो। सुस्त रुपमा चलिरहेको युरोपेली अर्थतन्त्रलाई उत्साह तथा प्रोत्साहन दिनका लागि लागार्डको नियुक्ती महत्वपूर्ण हुने विश्लेषण गरिएको छ।

फ्रान्सकी पूर्व अर्थमन्त्रीसमेत रहेकी लागार्डलाई मारियो ड्राघीको उत्तराधिकारीका रुपमा युरोपियन देशहरुको केन्द्रीय बैंक (इसिबी) मा नियुक्त गरिएको हो। आगामी अक्टोबरमा मारियोको आठ बर्षको कार्यकाल सकिँदैछ।

लागार्डले नयाँ नियुक्तीबारे बिज्ञप्ती जारी गर्दै यसबाट आफू निकै सम्मानित भएको महसुस गरेको बताएकी छिन्। उनले मुद्रा कोषबाट आफू अस्थायी रुपमा बाहिरिएको भन्दै अल्पकालकालागि मुद्राकोषको उत्तरदायित्व ’ह्याण्डओभर’ गरेको बताएकी छिन्।

जर्मनी चान्सलर एन्जेला मर्केलले मुद्राकोषमा देखिएको लागार्डको सशक्त नेतृत्वका कारण यूरोपेली केन्द्रीय बैंकको जिम्मेवारी सुम्पिएको प्रतिक्रिया दिएकी छिन्। उनले मुद्रा कोषलाई हाँक्न सक्ने क्षमता प्रमाणित गरेकाले लागार्ड नै यसका लागि उपयुक्त लागेको बताइन्।

यसैगरी फ्रान्सका राष्ट्रपति इम्युनयल म्याक्रोनले पनि लागार्डमा यूरोपेली केन्द्रीय बैंकको नेतृत्व लिनसक्ने क्षमता र गुण भएको बताए। उनले भने (’लागार्डप्रति बजारको बिश्वास छ।’

नयाँ कार्यभार ग्रहण गरिसकेपछि लागार्ड वासिङटनबाट फ्रयाङ्कफर्ट सिफ्ट हुनेछिन् जहाँ उनले १९ राष्ट्रको अर्थतन्त्रलाई प्रभाव पार्ने गरी मौद्रिक नीति तय गर्नुपर्नेछ।

यूरोपेली केन्द्रीय बैंकको लक्ष्य अनुसार मुद्रा स्फिती कायम हुन सकिरहेको छैन भने बिभिन्न समस्याहरुले ग्रस्त छ। ड्राघीले यसअघि नै यूरोपेली अर्थतन्त्रलाई अझै बढी सहयोगको आवश्यकता रहेको बताएका थिए।

यस्तो अवस्थामा बजार तथा लगानीकर्ताले पत्याउने ब्यक्तिका रुपमा लागार्डलाई चयन गरिएको विश्लेषण भैरहेको छ। उनलाई ’क्राइसिस फाइटर’ रुपमा यूरोपेली केन्द्रीय बैंकमा भित्र्याइएको हो।

गत हप्तामात्रै लागार्डले विश्वको अर्थतन्त्र खराब हुँदै गएको बताएकी थिइन्। उनले केन्द्रीय बैंकहरुले आफ्नो नीतिलाई त्यसअनुसार नै एडजस्ट गर्न सुझाव समेत दिएकी थिइन्।

उनले ड्राघीको प्रतिबद्धतालाई समेत प्रशंसा गरिन्। ड्राघीले यूरो जोगाउन हर संभब जोखिम उठाएको लागार्डको प्रतिक्रिया थियो। हालै ड्राघीले यूरोपेली सरकारहरुलाई भविष्यमा अर्थतन्त्र थप जोखिमतर्फ नजाओस् भन्नाकालागि सचेत भइ नीति बनाउन आग्रह गरेका थिए। उनले यूरो एरियालाई अझ बढी फलदायी बनाउनुपर्ने धारणा राख्दै भनेकी थिइन् ’ढिलै हुर्किएका रुखहरुमा पनि सबैभन्दा राम्रो फल लाग्छ।’

Tags :

प्रतिक्रिया दिनुहोस्