राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनलबीच कर्जा सम्झौता « Arthapath.com
४ भाद्र २०७६, बुधबार

राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनलबीच कर्जा सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.शम्भु नारायण महतोले हस्ताक्षर गरे । सम्झौता पछि हेफर इन्टरनेशनल नेपालको सिफारिसमा बाख्रपालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले कृषि उद्यमी गर्न चाहने कृषकहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताउनुभयो । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताउनुभयो । हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले यो सम्झौता नेपालको गरिबी निवारणमा कोशेढुङ्गा सावित हुने बताउदै हेफर इन्टरनेशनल नेपालको सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा हेफरको पनि नैतिक दायित्व रहने बताउनुभयो । उहांले हेफरले हालसम्म नेपालमा ४१ जिल्लाका २ लाख ५० हजार गरिब तथा पिछडिएका परिवारलाई सहयोग गर्दै आईरहेको बताउनुभयो ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक निना जोशी, डा.तीर्थराज रेग्मी, बित्त निर्देशक रेग्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्