राष्ट्र बैंक सुर्खेतको हाकिममा भिडन्त « Arthapath.com
१४ आश्विन २०७६, मंगलवार

राष्ट्र बैंक सुर्खेतको हाकिममा भिडन्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हालै स्थापना गरेको नयाँ कार्यालयको प्रमुख बन्नको लागि बैंकभित्र ठूलै घम्साघम्सी परेको छ । हाल एकजना सहायक, एकजना सहायक निर्देशक र एकजना उपनिर्देशक गरी तीन जनाको दरबन्दी रहेको उक्त कार्यालयको मुुख्य काम केन्द्रीय बैंकको शाखा कार्यालय नरहेको कर्णाली प्रदेशमा उपस्थिति जनाउनु मात्र रहेको बैंकको उच्च स्रोतले बताएको छ । क्षेत्रीय हिसाबले हाल बैंकको नेपालगञ्ज कार्यालय अन्तर्गत रहेको कर्णाली प्रदेशमा खुल्ने सुर्खेत कार्यालयमा नेपालगञ्ज कार्यालयका उपनिर्देशक नारायणप्रसाद पोखरेलको नेतृत्वमा तीन सदस्यीय टोली खटाउने यसअघि नै आवश्यक सहमति भएको थियो । तर, नारायण स्वयम्ले त्यसप्रति अनिच्छा देखाएपछि सुर्खेतको हाकिम हुनको लागि बैंक कर्मचारीबीच ठूलै रस्साकस्सी र राजनीतिक खिचातानी भएको हो ।
हाल लघुवित्त प्रवद्र्धन तथा सुुपरीवेक्षण विभागमा रहेका काँग्रेस निकट वित्तीय संस्था कर्मचारी संघका पूर्व नेता तथा उपनिर्देशक राजन अधिकारी सुर्खेतको हाकिम हुनको लागि कम्मर कसेर लागे । सबै शक्तिकेन्द्र पनि धाए । बैंकका गभर्नर, डेपुटी गभर्नर र प्रशासन विभागका प्रमुखलाई पनि आवश्यकता अनुसारको अनुनय र दबाब दिए । प्रशासन विभागका प्रमुख पिताम्बर भण्डारीको विशेष सक्रियतामा अधिकारीको नाममा टिप्पणी पनि उठाइयो । तर, उनको विपक्षमा चर्को आवाज उठेपछि अन्ततः संस्थागत योजना विभागमा रहेका पूर्व माओवादी निकट कर्मचारी संगठनका शालिकराम पोखरेल सुर्खेत कार्यालयको लागि छनौटमा परे ।
नयाँ ठाउँमा नयाँ कार्यालय स्थापनाको क्रममा पर्याप्त रूपमा गर्न पाइने खर्च, सवारी साधनको निस्फीक्री प्रयोग, प्रदेश प्रमुखलगायतका पदाधिकारीसँग हुने नियमित भेटघाट र पहुँचले भोलीका दिनमा राजनीतिक नियुक्तीको लागि मार्ग प्रशस्त हुने आशाका साथ अधिकारी र पोखरेलबीच साम, दाम र दण्डको राम्रै भिडन्त भएको हो । यता बैंकको उच्च स्रोतले ‘हाल सुर्खेत कार्यालयमा बस्ने कर्मचारीको काम काठमाडौं र नेपालगञ्ज कार्यालयबाट पठाइने चिठी–पत्र र फ्याक्स संकलन गर्ने र आवश्यकताअनुसार प्रदेशको सम्बन्धित कार्यालयमा पठाउने । त्यताको पनि त्यसैगरी यता पठाउने हो ।’ भनेर बताएको छ । दरबन्दी नै तीनजना कर्मचारीको भएपछि उनीहरूले सोचेबमोजिमको खर्च गर्न पाइने सुविधा र सवारी साधन उपलब्ध नहुने पनि स्रोतले बताएको छ । भोलीको दिनमा उक्त कार्यालयलाई पनि स्तरोन्नती गरेर निर्देशक तहको कर्मचारीको दरबन्दी भएपछि मात्र अन्यत्रको झैं सुविधा प्रदान गरिने बुझिएको छ ।
बैंकको अनुसन्धान विभागका एकजना निर्देशकका अनुसार बैंकले सुर्खेत कार्यालयमा पठाएको उपनिर्देशक शालिकराम पोखरेल तिनै व्यक्ति हुन् जसले केही वर्षअघि बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको आर्थिक लेख रचना प्रतियोगितामा अनुसन्धान विभागले सार्वजनिक नगरेको गोप्य तथ्याङ्क र सन्दर्भ–सामग्री चोरेर प्रतियोगिताको पुरस्कार रकम नै हात पारेका थिए । सोही विभागका तत्कालीन सहायक निर्देशक पोखरेललाई उतिबेलाका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठले सहानुभूतीपूर्वक कारबाहीबाट जोगाएका थिए । त्यसअघि बैंकले कारबाहीको प्रक्रिया अघि बढाएपछि भने उनी सबैजसो हाकिमकोमा गएर डाँको छोडेर रुन समेत भ्याएका थिए ।
साथै, पोखरेलले केही वर्षअघि बैंकका तत्कालीन नर्देशक तथा हालका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ प्रदेश नं. ५ को योजना आयोगको उपाध्यक्षमा नियुक्त भएपछि जिल्लावासी कृषिमन्त्री चक्रपाणी खनालसमक्ष गएर आफूलाई पनि कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्ष वा सदस्यमा नियुक्त गर्नको लागि राजनीतिक अनुनय विनय समेत गरेका थिए । उनले त्यसरी प्रदेश योजना आयोगको उपाध्यक्ष वा सदस्यमा नियुक्तीको लागि आफू र श्रेष्ठबीच खासै अन्तर नरहेको समेत प्रष्टाएका थिए । उनको प्रष्टिकरण थियो ‘श्रेष्ठ र आफू दुबै अनुसन्धान विभागमा कार्यरत रहेको, दुबैले पीएचडी गरेको र दुबैजना पश्चिम नेपालको भएको । केवल एउटा विषय मात्र फरक रहेको । त्यो चाही श्रेष्ठ निर्देशक र आफूचाही सहायक निर्देशक ।’ उनले त्यो बेला बताएको उक्त विषयलाई बैंकको अनुसन्धान विभागका अधिकांश कर्मचारीले एउटा नेपाली उखानसग तुलना गरेका थिए ‘कहाको राजाराम कहाको….भडारी ।’


प्रतिक्रिया दिनुहोस्