नविल बैंकमा युनियन अध्यक्षको दादागिरी « Arthapath.com
५ मंसिर २०७६, बिहीबार

नविल बैंकमा युनियन अध्यक्षको दादागिरी



काठमाडौं । नीजि क्षेत्रका वाणिज्य बैंकहरुमा रहेका कर्मचारी युनियनहरुमध्ये तुलनात्मक रुपमा राम्रो र जिम्मेवारपूर्ण भूमिकामा रहँदै आएको नबिल बैंक कर्मचारी संघको साख यतिखेर नेतृत्वको गलत रवैयाका कारण ध्वस्त भएको छ । संघका अध्यक्ष सविन भट्टराईको व्यक्तिगत स्वार्थ र व्यवस्थापनसँगको उठबसले अधिकांश कर्मचारी रुष्ट बनेका छन् । व्यवस्थापनसँग साँठगाँठ गरेपछि जतिसुकै ठूलो गल्ति र कमजोरीमा पनि उन्मुक्ति पाइने भट्टराईको पछिल्लो गतिबिधि र बैंक प्रशासनको मौनताले प्रष्ट पारेको कर्मचारीहरु बताउँछन् । समाचार स्रोतका अनुसार भट्टराईले बैंकबाट प्राप्त कर्मचारी आवास कर्जाको चरम दुरुपयोग गरेको सप्रमाण कर्मचारीहरुले बैंक प्रशासन समक्ष प्रस्तुत गर्दापनि बैंक व्यवस्थापन मौन रहनुले उक्त आशंकालाई पुष्टि गरेको छ ।
प्राप्त विवरण अनुसार नियमानुसार बैंकका कर्मचारीले १ सय ६० महिनाको तलब बराबरको रकम वा बढीमा १ करोड २५ लाख रुपैयाँ कर्मचारी आवास कर्जा सुविधा पाउँछन् । उक्त कर्जामा ३ दशमलब ७५ प्रतिशत ब्याज लाग्दछ । शुरुमा ७५ प्रतिशत रकम जग्गा खरिद गर्न र बाँकी २५ प्रतिशत रकम घर निर्माण पाइने कार्यबिधीलाई बैंक व्यवस्थापनसँगको साँठगाँठमा भट्टराईले आफ्नै आमाको नामको पैतृक जग्गालाई आफ्नो नाममा पास गरी नयाँ जग्गा खरिद गरेको प्रमाणको रुपमा पेश गरेर ७५ प्रतिशत बराबरको रकम हात पारे । त्यसको १८ महिनापछि पनि उनले घर निर्माण नगरी अन्य नातेदारको घरको नक्सा र तस्बीर पेश गरी बाँकी २५ प्रतिशत बराबरको रकम समेत गरेको देखिएपछि अधिकांश कर्मचारीले बैंक प्रशासन समक्ष उजुरी गरेका थिए । उजुरी पछि भट्टराईले आफुबाट गल्ति भएको स्वीकार गरी बैंकसमक्ष निवेदन पनि पेश गरेका थिए । तर, नबिल बैंक कर्मचारी सेवा विनियमावली र बैंकिङ्ग कसुर तथा सजाय ऐन २०७३ बमोजिम तत्काल कारबाही गर्नुपर्ने भट्टराईलाई बैंक प्रशासनले युनियन अध्यक्षको नाममा चोख्याएको प्रशासन विभागका एकजना अधिकृत बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्