नेपाल दुरसंचार र नबिल बैंकबीच पेमेन्ट गेटवे सम्झौता « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

नेपाल दुरसंचार र नबिल बैंकबीच पेमेन्ट गेटवे सम्झौता



काठमाडौं । नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ र नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

टेलिकमले १६ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकसँग पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको हो । सेवा अन्तर्गत टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट भिसा तथा मास्टर कार्डहरु प्रयोग गरी हाललाई पोष्टपेड तथा प्रिपेड रिचार्च टपअप गर्न सक्ने छन् । साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने छ ।

टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै यो सेवा मार्फत संसारको कुनै पनि ठाउबाट भिसा तथा मास्टरकार्ड प्रयोग गरी नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप गर्न सकिने भएकोले सेवा प्रयोग गर्न निकै सहज हुन बताए ।

नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको तथा यस कार्यले आफुहरुलाई थप जिम्मेवार बनाएको जानकारी गराए ।

नेपालमा दुरसंचार सेवा प्रदान गरेको १ सयवर्ष भन्दा बढि भएको छ । टेलिकमले मोबाइल सेवाको संचालन सन् १९९८ देखि र नबिल बैंकले कार्ड सेवा सुविधा सन् १९९० देखि संचालनमा ल्याएको हो । नबिल बैंकको १ सय १२ शाखा १६० एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।


प्रतिक्रिया दिनुहोस्