कसरी बृद्धि भयो सिभिल बैंकको निक्षेप र कर्जा « Arthapath.com
२७ माघ २०७६, सोमबार

कसरी बृद्धि भयो सिभिल बैंकको निक्षेप र कर्जा



civil bank

काठमाडौं । गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बृद्धि भएको छ । बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकको ग्राहक संख्या ४ लाख १२ हजार ८ सय १९ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या २ लाख ६७ हजार ३ सय ५९ थियो ।

यसैगरी बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म ३.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर २.६९ प्रतिशतमा झरेको हो ।

समीक्षा अवधिमा बैंकको आधार दर पनि ०.३६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ११.३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १०.९५ पुर्याइएको छ ।

बैंकले समीक्षा अवधिमा रु ३१ करोड ६२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकको जम्मा शाखा संख्या ७३ मात्र रहेकोमा बैंकको दीर्घकालीन रणनीतिक योजना अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भइ जम्मा शाखा संख्या १ सय २ पुगेको छ । निकट भविष्यमा अझै थप १७ वटा शाखा खुल्दैछन् । द्रूत गतिमा शाखा विस्तार भएकोले सोही बमोजिम कर्मचारी खर्च लगायत समग्र संचालन खर्च बढ्न गएकोले तत्कालीन रुपमा नाफामा केहि असर पर्न गएको देखिन्छ । तर यो क्षणिक असर मात्र हो । भर्खरै खुलेका ३१ वटा नयाँ शाखाहरु लगायत नयाँ खुल्ने शाखाहरुले विस्तारै व्यवशाय वृद्धि गर्दै लगेपछि नाफा बढ्दै जाने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्